कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ड्राइभ, जम्प, डंक

घरेलु प्रतियोगिता केही दिनमै सीमित भइरहेका बेला उपत्यकामा डेढ महिना लामो क्विक्स बास्केटबल लिग चलिरहेको छ । यसले नेपाली बास्केटबलको स्तर उकास्ने आशा छ ।
सुबास हुमागाईं

काठमाडौँ — विश्वमै बास्केटबल निकै लोकप्रिय छ । यसबाट नेपालका सहरी युवा पनि अछुतो छैन । राजधानीमा बास्केटबल कोर्ट नभएका स्कुल र कलेज विरलै भेटिन्छ । विगत केही समययता शैक्षिक संस्थामा खेललाई पनि प्राथमिकता दिइँदै आएकोमा बास्केटबल पनि पर्छ ।

ड्राइभ, जम्प, डंक

टिम गेम भए तापनि अन्य खेलको तुलनामा कम क्षेत्रफल ओगट्ने हुनाले धेरैले बास्केटबल रोज्ने गरेका छन् । यसका बाबजुद पनि नेपालले अन्तर्राष्ट्रिय प्रतियोगितामा भने फड्को मार्न सकेको छैन ।


स्कुल र कलेजको प्रतियोगिताकै भरमा टिकेको नेपाली बास्केटबलमा ४ फागुनमा क्विक्स बास्केटबल लिग (केबीएल) को सुरु भयो । र, यो लिग १७ चैतसम्म चल्नेछ । विपन्न बालबालिका खेलकुद (पीडीसीएन) द्वारा आयोजित यस लिगको मुख्य आकर्षण ‘होम एन्ड अवे लिग’ हो । पीडीसीएनका अध्यक्ष अरुण कार्की निकै लामो समयको गृहकार्यपछि लिगको आयोजना सम्भव भएको बताउँछन् । ‘यस लिगका लागि मैले धेरै पहिलादेखि सोच बनाएको थिएँ । त्यसबेला माहोल बनाउन नसक्दा योजना कागजमै सीमित भयो । केही महिनाअघि हामीले यस योजनालाई कार्यान्वयन गरेरै छाड्ने लक्ष्य लिएर अगाडि बढ्यौं र सुरुआत निकै उत्साहजनक भएको छ,’ उनले भने ।


लिगमा आठ टिम सहभागी छन् । सबै आठ टोलीको आ–आफ्नै कोर्ट छन् र होम एन्ड अवे लिग प्रणलीमा सबै टोलीले १४—१४ खेल खेल्नेछन् । लिगमा कुल ६० खेल सञ्चालन हुनेछ । शीर्ष चार टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । डेढ महिनासम्म चल्ने र आठ खेल स्थललाई लिएर यस लिगलाई घरेलु बास्केटबलमा अहिलेसम्मकै सबभन्दा राम्रो प्रतियोगिता हो । पुरस्कार राशिमै पनि कम छैन । च्याम्पियन हुने टिमले दुई लाख रुपैयाँ पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टिमले ५० हजार हात पार्नेछन् । मोस्ट भ्याल्युएबल प्लेयर, सर्वाधिक स्कोरर, उत्कृष्ट डिफेन्स, उदीयमान खेलाडी र उत्कृष्ट प्रशिक्षकले पनि १०–१० हजार बराबरको उपहार पाउनेछन् । म्यान अफ द म्याचलाई मात्रै ५–५ हजारको गिफ्ट भौचर दिइरहेको छ ।


यस लिगले नेपाली बास्केटबलमा व्यावसायिकताको सुरुआत गर्ने राष्ट्रिय टिमका कप्तान सदिश प्रधान बताउँछन् । ‘यो लिग नेपाली बास्केटबलका लागि नयाँ युगको सुरुआत हो । छोटो अवधिको प्रतियोगितामा अड्किएको नेपाली बास्केटबललाई यसले अर्को तहमा पुर्‍याउनेछ,’ उनले भने, ‘लामो अवधिको लिगले खेलाडीको खेल विकास र सबै टोलीको स्तरीय प्रदर्शनलाई ठूलो सहयोग गर्छ । यसले नेपाली बास्केटबललाई व्यावसायिकतातर्फ डोर्‍याउने अपेक्षा राखेको छु ।’ उनको नेतृत्वमा रहेको त्रिभुवन आर्मी क्लबले लिगमा उत्कृष्ट सुरुआत गरेको छ ।


झन्डै एक दशक बेलायत बसेर फर्केका पीडीसीएन अध्यक्ष कार्कीको संस्थाले गरेको यो नै पहिलो काम भने होइन । यसअघि पीडीसीएनकै आयोजनामा राष्ट्रिय टोलीका कप्तान एवं खेलाडीको संलग्नतामा ‘युथ बास्केटबल क्याम्प’ सञ्चालन भएको थियो । त्यसमा सहभागी केही खेलाडीले उमेर समूहको राष्ट्रिय टिमकै यात्रा पनि तय गरेका छन् । यस्ता क्याम्पलाई फेरि सञ्चालन गर्ने लक्ष्य पीडीसीएनले राखेको छ । ओखलढुंगाको माम्खा माविमा खेलकुदसम्बन्धी प्रशिक्षण र स्वयंसेवक शिक्षकलगायतका कार्यक्रम पनि सञ्चालन गरिरहेको पीडीसीएनले केबीएललाई बर्सेनि सञ्चालन गर्ने जनाएको छ ।


केबीएलका संयोजक नमितबहादुर थापाले तीन सातासम्म उत्साहजनक रूपमा खेल सञ्चालन भइरहेको बताए । ‘हामीलाई राजधानीमा बास्केटबलको राम्रो सम्भावना रहेको थाहा थियो तर जसरी साथ पाइरहेका छौं, त्यो हाम्रो सोचमा थिएन । अहिले घरेलु टोलीलाई समर्थन गर्न सयौं दर्शक खेल हेर्न आउँछन्,’ उनले भने । केबीएलको आधिकारिक फेसबुक पेजमार्फत सबै खेलको प्रत्यक्ष प्रसारण भइरहेको छ । कोर्टमा मात्र नभएर सामाजिक सञ्जाल र मिडियामा पनि लिगले राम्रै चर्चा पाइरहेको छ । ‘हामीले देश–विदेशबाट निकै धेरै दर्शक पाइरहेका छौं । कोर्टमा उपस्थित हुन नसक्ने दर्शकले हामीलाई फेसबुकमा पछ्याइरहेका छन् । केही खेलमा १ लाख बढी दर्शक पनि पाएका छौं, जुन सोचिएको थिएन,’ थापाले भने ।


अध्यक्ष अरुण कार्की केबीएललाई आर्थिक रूपमा बलियो बनाउन अझै समय लाग्ने भए पनि स्तर सुधार गर्न भने सक्दो प्रयासमा लाग्ने बताउँछन् । ‘हामी बास्केटबललाई माया गर्ने भएर यहाँसम्म आइपुगेका हौं । लिगको आयोजनमा हामीले थुप्रै स्वयंसेवकको साथ पाएका छौं । आफूले जानेको अरूलाई सिकाएर लिग आयोजनामा सहयोग लिइरहेका छौं,’ उनले भने, ‘प्रत्येक खेलमा खेलाडीको व्यक्तिगत तथ्यांक पनि राखेका छौं । यसबाट खेलाडीले केही सिक्ने अवसर पाउनेछन्,’ उनले भने । नमुना प्रतियोगिताका रूपमा आयोजित केबीएललाई बास्केटबल संघको सहयोग भने शून्यजस्तै छ ।


प्रारम्भिक चरणमा राष्ट्रिय टिमका खेलाडीहरू सदिश प्रधान, विनोद महर्जन, रवीन खत्री, आयुष सिंहको उत्कृष्ट प्रदर्शनको सहयोगमा आर्मीले सुरुका सातै खेल जित्यो । चर्चित खेलाडी नभए पनि कीर्तिपुरका सुमंग बोगटीसहित प्राय: सबै खेलाडीले राम्रो प्रदर्शन गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगिताका अनुभवी खेलाडीहरू विपेन्द्र महर्जन (राष्ट्रिय टिमका पूर्वकप्तान), सुशील गुरुङ, विनोद श्रेष्ठ, राजीव जोशी, कर्मा गुरुङ, मनीषराज उपाध्याय गोल्डेन गेटबाट खेलिरहेका छन् । हिमालयन हाउन्ड्समा सौरभ श्रेष्ठ र

विजय बुर्जा लयमा देखिएका छन् । सञ्जय व्यञ्जनकार (सिनियर र जुनियर), सुब्रत राजोपाध्याय, अनुराग जिम्बा, विजय खत्री समावेश भए पनि साउथ साइडर्सले गतिलो प्रदर्शन गर्न सकेको छैन ।


टिम घरेलु कोर्ट

त्रिभुवन आर्मी क्लब भद्रकाली

विशाल मिलन केन्द्र विशालनगर

जेभियर इन्टरनेसनल कलेज कालोपुल

गोल्डेन गेट इन्टरनेसनल कलेज बत्तिसपुतली

हिमालयन हाउन्ड्स शंकरदेव

कीर्तिपुर बास्केटबल टिम कीर्तिपुर

बूढानीलकण्ठ नगरपालिका गोल्फुटार

साउथ साइडर्स बास्केटबल क्लब माइतीघर

@SubasTheOne

प्रकाशित : फाल्गुन २५, २०७४ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?