कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

आर्मीको रवाफ

त्रिभुवन आर्मी क्लब नकआउट फुटबलमा सबभन्दा राम्रो लयमा देखिएको छ ।

काठमाडौँ — नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले बिर्तामोडमा यसपालि लोभलाग्दो खेल पस्किएन । उसलाई सनसनीपूर्ण पहिलो खेलमा अर्को विभागीय टिम पुलिसले कडा टक्कर दिएको थियो ।

आर्मीको रवाफ

अर्को खेलमा मनाङमस्र्याङ्दीको वर्चस्व थियो । र, अन्त्यमा घरेलु मैदानमा झापा ११ जोसिलो देखिएको थियो । तर, तीनै खेलको नतिजा आफ्नो बनाउँदै आर्मी तेस्रो झापा गोल्डकप च्याम्पियन नै बन्यो ।

आर्मीले उपाधि यात्रामा जम्मा दुई गोलमात्र गर्‍यो र फाइनलमा झापालाई पराजित गर्न अतिरिक्त समय, टाइब्रेकर हुँदै सडनडेथसम्मै पुग्नुपरेको थियो । यसमा आर्मीलाई भाग्यले पनि साथ दियो । हुन त फुटबलमा दर्शक लोभ्याउने सुन्दर खेल प्रदर्शन गरेरमात्र हुँदैन, पेनाल्टी सुटआउटमा नै किन नहोस्, जित्नका लागि गोल नै गर्नुपर्छ । करिब १२ हजार दर्शकसामु झापालाई स्तब्ध पारेपछि आर्मीका खेलाडीले खुसियाली मनाउँदै नारा लगाएका थिए, ‘आर्मीलाई जित्ने कोही छैन, कोही छैन ।’

अवस्था आर्मीको नाराजस्तै छ पनि । घरेलु फुटबलमा २०७४ सालमा भएका ठूला प्रतियोगितामा आर्मीकै वर्चस्व रहेको छ । उसले झापा गोल्डकपको उपाधि दोस्रोपल्ट जितेको हो । उसले पहिलो संस्करणको फाइनलमा पनि झापालाई नै हराएको थियो । र, यसपालिको झापा गोल्डकप आर्मीको यो सालको सातौं उपाधि हो । यसले उसलाई घरेलु फुटबलमा सबभन्दा शक्तिशाली टिम साबित गरेको छ ।

वैशाखमा वीरगन्जमा भएको विशाल स्मृति गोल्डकपको फाइनलमा संकटालाई हराएर आर्मीले यसपालि उपाधि यात्रा सुरु गरेको थियो । उसले त्यसयता सताक्षी, काँकडभिट्टा, खप्तड, सिमरा, हेटौंडा र झापा गोल्डकपको ट्रफी कब्जा गर्‍यो । उसको आहा–रारा गोल्डकप च्याम्पियन बन्ने सपना भने यसपालि पनि अधुरै रह्यो । उसलाई पहिलो चरणमै धरान फुटबल क्लबले स्तब्ध पारेको थियो । आर्मीलाई दुहबी गोल्डकपको फाइनलमा मनाङले सिकार बनाएको थियो । उसले इटहरी गोल्डकपमा सेमिफाइनलको नतिजा थ्रीस्टारलाई सुम्पिएको थियो ।

आर्मी बूढासुब्बा गोल्डकपमा भने सहभागी भएको थिएन । आर्मीले राखेप च्याम्पियनसिपमा रजत पदक जितेको थियो भने फाल्गुनन्द गोल्डकप, १३ औं विकास रनिङ शिल्ड र २० औं तिलोत्तमा गोल्डकपमा प्रतिस्पर्धा गर्दै पहिलो चरणबाटै बिदाइ लिएको थियो । तर ती प्रतियोगितामा दोस्रो रोजाइको टिम खेलाएको त्रिभुवन आर्मी क्लबले जनाएको छ । त्यसलाई मान्ने हो भने आर्मीले २०७४ सालमा १० प्रतियोगिता खेल्यो र त्यसमा ७० प्रतिशत सफलता हात पार्दै सात उपाधि पनि जित्यो ।

आर्मी अहिले जुन रफ्तारमा सफल भइरहेको छ, यस्तो सफल टिम घरेलु फुटबलमा विरलै पाइन्छन् । मोफसलका नकआउट फुटबलमा यस्तो सफलता एक समय मनाङमस्र्याङ्दी र पुलिसले हात पारेका थिए । यसपालि मनाङले दुहबी गोल्डकप र जेसिज कप, थ्रीस्टारले इटहरी र बूढासुब्बा गोल्डकप, एपीएफले १३ औं विकास रनिङ शिल्ड, पुलिसले १६ औं आहा–रारा गोल्डकप र राखेप च्याम्पियनसिप, संकटाले राइनो संरक्षण गोल्डकपको उपाधि जितेका थिए ।

यो सिजन अब बाँकी रहेका मुख्य प्रतियोगिता विराट गोल्डकप, राजर्षि जनक र माई भ्याली गोल्डकप हुन् । यी प्रतियोगिताले एउटै टिमले जित्यो भने पनि त्यसले उसलाई सफलताको दाँजोमा आर्मीभन्दा माथि पार्ने छैन । तर त्यसमा आर्मीले गर्ने प्रदर्शन र हात पार्ने नतिजाले भने उसको हैसियतको परीक्षण गर्ने नै छ ।

आर्मीले पाँच दिनभित्र तीन खेल खेलेर जितेको उपाधि हो झापा गोल्डकप । यसले उसको ‘स्टामिना’ पनि देखाउँछ । तर सधैं यसरी खेल्ने क्षमता हुँदैन । तीव्र गतिमा दौडिएर खेल्न सक्ने क्षमता आर्मीको परम्परागत हतियार हो । यसमा पछिल्लो समय प्राविधिक खेल पनि थपिएको छ । त्यसैले पनि आर्मीको टिम बलियो भएको हो । वैशाख २०७३ यता टिम सम्हालिरहेका प्रशिक्षक नवीन न्यौपाने भन्छन्, ‘बाह्रै महिनाको प्रशिक्षण, आफ्नै मैदान र सन्तुलित टिम आर्मीका बलियो पक्ष हुन् । खेलाडी अनुशासित छन् र रणनीतिअनुसार खेल्छन् । प्रशिक्षक, व्यवस्थापक र खेलाडीको समन्वय एकदमै राम्रो छ । त्यसैले सफल भइरहेका छौं ।’

मनाङका पूर्वमिडफिल्डर नवीनको प्रशिक्षक करिअरको पहिले सिजन आर्मीले २०७३ सालमा १० प्रतियोगिताको फाइनल खेलेर तीन उपाधि जितेको थियो । उनीअघि मेघराज केसीको कार्यकालमा पनि आर्मी बलियो भइसकेको थियो । ट्रफीको ओइरो भने २०७४ सालमा आएर लाग्यो । नवीन बिरामी भएकाले झापा गोल्डकपमा चुनबहादुर थापाले प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । आर्मीमा २०५५ सालमा भर्ती भएका यी फुटबलरले भने, ‘नतिजाको हिसाबले अहिलेको टिम आर्मीको इतिहासकै सबभन्दा राम्रो हो ।’

आर्मीले फरवार्ड भरत खवासलाई फुटबल टिम बलियो बनाउनकै लागि भर्ती गरेको थियो । आन्तरिक प्रतियोगिताबाट आएका नवयुग श्रेष्ठ नेपाली टिमले बंगबन्धु गोल्डकप, १२ औं दक्षिण एसियाली खेलकुद र सोलिडारिटी कपको उपाधि जित्दाका हिरो हुन् । गोलकिपर विकेश कुथु राष्ट्रिय टिमका नियमित खेलाडी हुन् । पछिल्लो राष्ट्रिय टिममा भरत, नवयुग, विकेशसँगै नयाँ फरवार्ड जर्जप्रिन्स कार्की र डिफेन्डर जितेन्द्र कार्की पनि थिए । अहिले एसियन कप २०१९ छनोटमा यमनविरुद्ध दोहामा हुने खेलको प्रारम्भिक टिममा आर्मीका दीपक गुरुङ, टंक बस्नेत र सुमन अर्याललाई पनि बोलाइएको छ ।

मिडफिल्डमा सन्तोष तामाङ छरिता छन् । साफ यू १९ च्याम्पियन नेपाली टिमका विंगर/फरवार्ड दिनेश हेम्जन, डिफेन्डर विकास खवास, मिडफिल्डरद्वय एरिक विष्ट र सेसेहाङ आङदेम्बेको आगमनले पनि आर्मी टिम बलियो भएको छ । प्रतियोगितामा सहभागी हुँदा आउने दैनिक भत्ता र पुरस्कारको ठूलो हिस्सा खेलाडीलाई दिइने भएकाले पनि आर्मी टिमको मनोबल उच्च भएको बताइन्छ ।

त्रिभुवन आर्मी क्लबको व्यवस्थापन सम्हालिरहेका महासेनानी प्रकाशराज थापा भन्छन्, ‘क्लबमा करिब ५० जना फुटबल खेलाडी छन् । टिम–वर्क नै हाम्रो सबभन्दा बलियो पक्ष हो ।’ प्रधानसेनापति ट्रफीलगायत आन्तरिक प्रतियोगिताबाट आएकालाई क्लबमा प्राथमिकता दिएको पनि उनले बताए । ‘नभई नहुने पोजिसनमा मात्र बाहिरबाट ल्याउँछौं,’ उनले भने, ‘हाम्रो मुख्य लक्ष्य लिगको उपाधि जित्ने हो । स्वदेशी खेलाडीकै बलमा लिग जित्न चाहन्छौं ।’

युद्धको मोर्चामा जस्तै मैदानमा पनि आर्मी जोसिलो हुने गर्छ । तर त्यो जोस फुटबल मैदानमा अलि बढी नै देखिन्छ । कप्तान भरत खवास र स्टार फरवार्ड नवयुग श्रेष्ठले झापा गोल्डकपको फाइनलमा गरेको व्यवहार पटक्कै सुहाउँदो थिएन । नवयुगले दर्शकलाई दुव्र्यवहार गरेका थिए भने भरत रेफ्रीप्रति आक्रामक देखिएका थिए । झापाका खेलाडीले त रेफ्रीलाई पिट्नेसम्मको धम्की दिएका थिए । यस्ता व्यवहारले खेलाडी आफैंलाई मात्र होइन, टिम र समग्र फुटबललाई नै बिगार्ने गर्छ । त्यसैले आर्मीका खेलाडीले मैदानमा जोसलाई अनुशासित तवरले व्यवस्थापन गर्नु जरुरी देखिएको छ ।

२०७४ सालमा आर्मी

प्रतियोगिता
स्कोर
प्रतिद्वन्द्वी
उपलब्धि
विशाल मेमोरियल गोल्डकप, वीरगन्ज
२–०
संकटा
च्याम्पियन
सताक्षी गोल्डकप, झापा
२–१
मनाङमर्स्याङ्दी
च्याम्पियन
तेस्रो काँकडभिट्टा गोल्डकप, झापा
०–० (टाइब्रेकर ३–२)
मनाङमर्स्याङ्दी
च्याम्पियन
दोस्रो दुहबी गोल्डकप, सुनसरी
१–२
मनाङमर्स्याङ्दी
उपविजेता
दोस्रो खप्तड गोल्डकप, धनगढी
०–० (टाइब्रेकर ५–४)
एपीएफ
च्याम्पियन
इटहरी गोल्डकप, सुनसरी
१–१ (टाइब्रेकर ३–५)
थ्रीस्टार
सेमिफाइनल
१६ औं आहा–रारा गोल्डकप, पोखरा
१–१ (टाइब्रेकर ४–५)
धरान
पहिलो चरण
नवौं सिमरा गोल्डकप, बारा
२–०
थ्रीस्टार
च्याम्पियन
तेस्रो हेटौंडा गोल्डकप, मकवानपुर
०–० (टाइब्रेकर ४–३)पुलिसच्याम्पियन
तेस्रो झापा गोल्डकप, बिर्तामोड
१–१ (सडनडेथ ८–७)झापा ११ च्याम्पियन
‘बी’ टिम



राखेप च्याम्पियनसिप, दाङ
०–० (टाइब्रेकर ४–५)
पुलिस
रजत पदक
नवौं फाल्गुनन्द गोल्डकप, पाँचथर
१–१ (टाइब्रेकर २–४)
मोरङ
पहिलो चरण
१३ औं विकास रनिङ शिल्ड, चितवन
१–१ (टाइब्रेकर १–३)
फ्रेन्ड्स
पहिलो चरण
२० औं तिलोत्तमा गोल्डकप, बुटवल
०–३
मनाङमर्स्याङ्दी
पहिलो चरण

twitter: @rghising

प्रकाशित : चैत्र २, २०७४ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?