कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिटल्स र स्टोन्सको प्रतिस्पर्धा

‘बिटल्स नहुँदो हो त अहिलेको रोलिङ स्टोन्स पनि हुने थिएन ।’
हिमेश

काठमाडौँ — पश्चिमेली संगीतमा कहिल्यै पनि टुंगो नलाग्ने चर्चा हो, बिटल्स राम्रो कि रोलिङ स्टोन्स राम्रो भनेर । अर्थात् बिटल्स भर्सेस स्टोन्स । सन् साठीको अन्त्य र सत्तरीतिर पनि यही प्रश्न गरिन्थ्यो, थरी–थरीका उत्तर आउँथे ।

बिटल्स र स्टोन्सको प्रतिस्पर्धा

अहिलेसम्म पनि यही प्रश्न गरिन्छ र उत्तर उस्तै फरक–फरक हुने गर्छन् । सायद यो प्रश्नमा मज्जा नै यस्तै छ । लगभग ५० वर्ष अगाडि सुरु भएको यो प्रश्नको ठीक उत्तर सम्भवत: कहिले पनि आउने छैन, बरु प्रश्न सोधिने क्रम भने अझ बढ्नेछ ।

यसलाई यसरी पनि हेर्न सकिन्छ, जोन लेनन र पउल म्याकार्टिनी भर्सेस मिक ज्यागर र केथ रिचर्ड्स । सुरुका दिनमा भन्ने गरिन्थ्यो, बिटल्स पप गु्रप हो भने रोलिङ स्टोन्स रक ब्यान्ड । अझ अगाडि बढेर भन्ने हो भने बिटल्स राम्रा चिटिक्क परेका केटाहरूको समूह हो । यस्ता अनुहार प्राय: छिमेकतिर पाइन्छ । रोलिङ स्टोन्स भने खराब केटाहरूको समूह । यस्तो समूह पनि टोलतिर पाइन्छ । यिनीहरूलाई ‘ब्वाइउड ब्वाइज’ भने हुन्छ ।

ठ्याक्क यहाँनिरै छुटिन्छ, यी दुई ब्यान्ड कस्ता छन् भनेर । तर पनि उत्तर भने आउने गर्दैन, साँच्चै, बिटल्स राम्रो कि रोलिङ स्टोन्स । खासमा बीसौं शताब्दीका पश्चिमेली संगीतको दुई पाटा हुन्, यी दुई ब्यान्ड । ‘बिटल्स भर्सेस स्टोन्स’ नाममा किताब नै पाइन्छ । यसका लेखक जोन म्याकमिलनले दुवै ब्यान्डलाई तुलना गर्ने प्रयास गरेका छन् । केही पक्षमा बिटल्स राम्रो, केही पक्षमा रोलिङ स्टोन्स । अनि बिटल्समा पनि खोट लगाउने ठाउँ छ, रोलिङ स्टोन्समा सायद अझ धेरै ।

म्याकमिलनका अनुसार बिटल्सले जस्तो छवि तयार पारेको थियो, रोलिङ स्टोन्सले त्यसको ठीक विपरीतको छवि बनाएको थियो । त्यसैले केही पश्चिमेली संगीतका पण्डितले रोलिङ स्टोन्सलाई ‘एन्टी बिटल्स’ पनि भन्ने गर्छन् । सन् सत्तरीतिरै बिटल्स टुक्रियो र यसका दुई प्रमुख सदस्य पनि रहेनन्, लेनन र जर्ज ह्यारिसन । अर्कोतर्फ रोलिङ स्टोन्सका दुवै फ्रन्टम्यान अझै जीवित छन्, अझ भनौं निकै सक्रिय छन्, ज्यागर र रिचर्ड्स ।

रोलिङ स्टोन्सको एउटा निकै बलियो पक्ष के हो भने जस्तै समस्यामा परे पनि यो ब्यान्ड अझैसम्म सँगै छ । बेला–बेलामा ज्यागर र रिचर्ड्स शत्रुजस्तै व्यवहार गर्छन् । तर स्टुडियो पुग्दा उनीहरूबीच मस्त तालमेल मिल्छ । कसरी यति लामो समय उनीहरू सँगै रहे, सबै आश्चर्यमा पर्ने गर्छन् । कम्तीमा बिटल्स लामो समय सँगै रहे । चार्ली वाट्सलाई निकै राम्रो ड्रमर मानिन्छ, रिंगो स्टारको तुलनामा । गितारको प्रसंगमा छ, रोलिङ स्टोन अझ अगाडि छ भने पनि हुन्छ ।

तर केही नयाँ र राम्रो गर्नमा बिटल्स नै अगाडि पर्छ । आफ्नो समयमा बिटल्सले एकछत्र राज नै गरेको थियो । आखिरमा रोलिङ स्टोन्सको तुलनामा पहिले प्रसिद्धि कमाएको त बिटल्सले नै हो । बिटल्सले धेरै हिट एल्बम दिए । रोलिङ स्टोन्सका यति धेरै हिट एल्बम छैनन् । तर उनीहरूका खास–खास एल्बम भने फेरि निकै सफल सावित भए । अनि लाइभ शोमा सायद रोलिङ स्टोन्सलाई उछिन्न सकिन्न । अझै पनि रोलिङ स्टोन्सका कन्सर्टलाई उत्तिकै मन पराइन्छ ।

यो सबै चर्चा अहिले किन भन्दा रिचडर््सले ‘बिटल्स भर्सेस स्टोन्स’ बारे केही बोलेका छन् । खासमा बिटल्सका सबैभन्दा चर्को आलोचक कोही छन् भने यिनै गितारिस्ट हुन् । सन् १९६७ मा बिटल्सले निकालेको ‘सर्जेन्ट पेपर्स लोन्ली हार्ट्स ब्यान्ड’ एल्बमलाई बकवास भन्थे, यी रिचडर््स । अहिले उनी ७४ वर्षका भए र पहिलोपल्ट स्विकारेका छन्, बिटल्सले गरेर नै रोलिङ स्टोन्सलाई पनि सजिलो भएको । उनकै भाषामा बिटल्स नहुँदो हो त अहिलेको रोलिङ स्टोन्स पनि हुने थिएन ।

दुवै ब्रिटिस ब्यान्ड हुन् । त्यसमध्ये पहिले अमेरिका छिरेर तहल्का मच्चाएको बिटल्स नै हो । अमेरिकामा चम्केपछि मात्र बिटल्सले बाँकी विश्वमा धावा बोलेको थियो । पछि रोलिङ स्टोन्सले यही बाटो समात्यो । अमेरिकामा बिटल्सको सफलताले साँच्चै रोलिङ स्टोन्सलाई सजिलो बनाइदियो । रिचर्ड्सका अनुसार बिटल्स निकै सफल पनि बन्यो, सायद त्यही कारण ब्यान्ड टुक्रिनुको कारण पनि । फेरि यहाँनिर रिचर्ड्सको यो जवाफमा बिटल्स राम्रो कि रोलिङ स्टोन्स भन्नेको उत्तर भने छैन । छ र ?

twitter : @himeshratna

प्रकाशित : चैत्र ९, २०७४ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?