पुरानै शैलीको क्रम

कान्तिपुर संवाददाता

काठमाडौँ — जेम्स प्रधान सबैले प्रयोगवादी वा फरक खालको (युनिक) गायक भनेर पनि चिनिन्छन् । उनका गीतहरू फरक शैलीका हुन्छन् पनि । स्वर आफैंमा विशिष्ट छ । तर, यसपाली उनले फरक होइन, पहिलेकै जस्तो सुनिआएको शैलीमा गाएका छन् । नयाँ निर्माण गर्नुभन्दा पुरानै शैली दोहोर्‍याउन खोजेको उनी स्वयं बताइरहेका छन् ।

अघिल्लो साता सार्वजनिक गरिएको ‘क्रम’ एल्बममा उनले आठ वटा गीत समावेश गरेका छन् । प्रयोगका नाममा संस्कृति र नेपाल भाषाका एउटा गीत राखेका छन् । तर, यिनमा भाषाबाहेक अरू प्रयोग भेटिँदैन । ‘बोया वने नु...’ बोलको गीत ‘भागेर जाऊँ...’ को ‘नेवारी’ अनुवाद मात्र भएकाले एल्बममा नौ गीत भए पनि संख्यालाई आठ नै मान्नुपर्छ ।


एल्बमका चार गीत ‘स्लो प्यार्टन’ मा छन् । ‘एकैछिन पर्ख...,’ र ‘हामी धुलैबाट...’ बोलका गीत कम्पोजिसनको हिसाबले कत्ति पनि फरक लाग्दैन । दुवै उस्तै सुनिन्छन् । ‘लहरै बजायो...’ भने गीत फेरिएको पनि चाल नपाइन सक्छ । कम्पोजिसनमा जेम्सले विविधता दिनुपथ्र्यो । यी गीतको गायन शैली पनि दुरुस्त छ । शब्द तन्काउने तरिका उनले अन्य गीतमा पनि दोहोर्‍याएका छन् ।


‘हामी धुलैबाट...’ प्रेरणादायी किसिमको गीत हो । यसका शब्द खुब मीठा छन् । तर, संगीतले शब्दलाई न्याय नगरेको महसुस हुन्छ । यसमा अलि ऊर्जा जगाउने खालको म्युजिक पो सुहाउँथ्यो कि ! भिडियोसमेत सार्वजनिक गरिसकेको ‘ए सुन्दरी...’ गीतलाई गायकले एल्बमको पहिलो नम्बरमा राखेका छन् । रक एन्ड रोल शैलीको यो गीत एल्बमको उत्कृष्ट नम्बर हो । यसले जेम्सको प्रयोगवादी सिर्जना झल्काउँछ । उनले गाउने गरेका ‘आइदेऊ आइदेऊ...’, ‘भैगो उनी जाऊन्...’, ‘भोले बम...’ जस्ता गीतको लहरमा यो अटाउँछ ।


‘घुम्न जाऊँ...’ पनि मन जित्ने गीत छ तर ‘ए सुन्दरी...’ जत्तिको जोसिलो छैन । एल्बमको अन्तिम ट्रयाक ‘कहीँ–कोही आएर...’ ले अमेरिकी ब्यान्ड गन्स एन्ड रोजेजको ‘प्यासेन्स...’ गीतको याद दिलाउँछ । यो नोस्टाल्जिक भावको छ, पुराना नेपाली पपको स्वाद यसमा पाइन्छ ।
जेम्स सात वर्षपछि एल्बम लिएर आएका हुन् । उनको विशेषता भनौं, सरल शब्दका गीतलाई चञ्चले बनाइदिन सक्छन् । नयाँ एल्बममा पनि उनले गहन शब्द राखेर गीतलाई बोझिलो बनाएका छैनन् । कम्पोजिसनमा भने आलस्य देखाएका छन् ।


जेम्स बीचमा जिंगल्सतिर अल्झिएका थिए । अब पुन: संगीतमा सक्रिय हुन खोज्दैछन् । यसअघि सेल्फि भिडियो बनाएर चर्चामा आएका थिए । उनले प्रयोगको दायरा बढाए नेपाली संगीतले प्रशस्त ‘युनिक रचना’ पाउनेछ ।
– सजना

प्रकाशित : चैत्र २३, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्

साहसी चाहना

कान्तिपुर संवाददाता

काठमाडौँ — केही वर्षयता आन्तरिक पर्यटकका लागि पहिलो रोजाइमै पर्ने गरेको छ, जोमसोम । मुस्ताङ जिल्लामा रहेको जोमसोम चिसो मौसम, तीव्र गतिमा चल्ने हावा, लोभलाग्दा हिमाल, पहाडी दृश्यावलोकन, मुक्तिनाथ दर्शन र पदयात्राका लागि प्रख्यात छ ।

यहाँको समुद्री सतहबाट २,६३० मिटरदेखि २,७९० मिटरसम्मको उचाइमा गएको शुक्रबार बेग्लै किसिमको माहोल थियो । पर्यटक होइनन्, तीन दिनअघिदेखि नै साहसीहरूको उपस्थिति थियो । कारण थियो– प्रधानसेनापति प्रथम हाई अल्टिच्युड ट्राई म्याराथन ।


जलवायु परिवर्तनको कारण हुन सक्छ, यो मौसममा पनि वर्षा भयो । प्रतिस्पर्धा अघिका दुई दिन ठूलै वर्षा भयो । पानी पर्न छाडेपछि मात्रै हिमाल र खुला आकाश देखिएको थियो । नत्र जोमसोम धुम्म नै थियो ।


जोमसोम ब्यारेकस्थित हाई अल्टिच्युड माउन्टेन वारफेयर स्कुलमा प्रतिस्पर्धा सुरु भएको थियो । पहिलो चुनौती नै १ सय मिटरको चट्टानी पहाड उक्लिने । प्रतिस्पर्धीहरू त्यो पहाड चढेलगत्तै उकाली–ओराली बाटोमा ४.७५ किमि दौडिए । त्यसक्रममा एकलभट्टेदेखि केही तल कालीगण्डकी नदी पनि डोरीको सहयोगमा तर्नुपर्‍यो । नदीको दूरी नै २५ मिटर थियो । अन्त्यमा रह्यो–साइक्लिङ । साइक्लिङ १५.३५ किमिको थियो । हाई अल्टिच्युड माउन्टेन वारफेयर स्कुलबाट सुरु भएको प्रतिस्पर्धा थिनी गाउँ, धुम्बालेक, मार्फा हुँदै फेरि जोमसोम बजारमा आएर टुंगिएको थियो ।
यो खेल साहसीहरूका लागि हो, जो बढी नै चुनौती सामना गर्न चाहन्छन् । भिन्न तीन स्पर्धा (क्लाइम्बिङ, रनिङ, साइक्लिङ) समावेश ट्राई म्याराथनमा काठमाडौं र पोखराबाट १६ टिम पुगेका थिए । प्रत्येक टिममा दुई–दुई खेलाडी थिए । कुल २०.२ किमि दूरीको प्रतिस्पर्धामा आर्मीका दीपकसिंह भण्डारी र प्रताप थापा १ घण्टा १९ मिनेट ४४ सेकेन्डसाथ पहिलो भए । महिलाको पनि एक टिम थियो । आर्मीकी मञ्जु खड्का र एपीएफकी सोनी गुरुङको हिमालयन गल्र्सले १ घण्टा ४७ मिनेट ५९ सेकेन्डसहित पुरुषका दुई टिमलाई उछिन्दै तेह्रौं भएको थियो ।

jdevendra0@gmail.com


तस्बिरहरू : इलिट जोशी

प्रकाशित : चैत्र २३, २०७४ १०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्