कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

 फेसबुक र गुगललाई प्रश्न: हाम्रा जानकारी के गर्छौ ?

काठमाडौँ — हामीले म्यासेजमा गर्ने कुराकानी फेसबुकलाई थाहा हुन्छ ? हामीले डिलिट गरेको च्याट फेरि कसैले पढ्न सक्छ ? हामीले गुगलमा सर्च गरेको जिज्ञासा कसैका लागि मसला बन्न सक्छ ? हामीले भिजिट गरेको वेबसाइट कसैका लागि विज्ञापनको सूत्र बन्न सक्छ ? यही प्रश्नको सेरोफेरोमा अहिले ‘प्राइभेसी’ को बहस केन्द्रित छ ।

 फेसबुक र गुगललाई प्रश्न: हाम्रा जानकारी के गर्छौ ?


केही सातायता यस्ता बहस फेसबुक र क्याम्ब्रिज एनालिटिकामा केन्द्रित छ । बेलायती कम्पनी क्याम्ब्रिज एनालिटिकाका एक पूर्वकर्मचारीको खुलासापछि फेसबुकमा त आगो बलेको छ नै, यसले गुगललाई मात्रै होइन, प्रयोगकर्ताको धेरै तथ्यांक संकलन हुन सक्ने अन्य इन्टरनेटसम्बन्धी व्यापारमा समेत प्रश्नचिह्न खडा गरेको छ । के तिमीहरु प्रयोगकर्ताको तथ्यांक राख्छौ ? के–के राख्छौ ? केका लागि प्रयोग गर्छौ ? कसैलाई बेच्छौ ? वा कसरी सुरक्षा गर्छौ ?


यही सेरोफेरोमा अहिले फेसबुकले आफ्नो प्राइभेसी नीतिमा सुधार गर्ने प्रयास गरेको छ र प्रयोगकर्ताको जिज्ञासा समाधान गर्न केही तथ्यहरु पनि बाहिर आएको छ । फेसबुकसँग हाम्रो कुन–कुन तथ्यांक छन् र गुगलले हाम्राबारे के–के तथ्यांक संकलन गरेको छ ? संसारभर सबैभन्दा धेरै प्रयोगकर्ता भएका यी दुवै कम्पनीले आफ्ना प्रयोगकर्ताको के–के जानकारी संगृहीत गर्छन् ? यही जिज्ञासा मेटाउन यहाँ केही जानकारी दिन चाहन्छौं ।

गुगलले प्रयोगकर्ताको के–के सूचना संकलन गर्छ ?

-यदि गुगल म्याप प्रयोग गर्नुहुन्छ भने यसको सबै तथ्यांक गुगलले संकलन गर्छ । आफूलाई थाहा नभएको ठाउँसम्म पुग्न गुगल म्यापको प्रयोग गर्ने चलन बढ्दो छ । आफ्नो फोनमा म्याप अन गरेर त्यसैको निर्देशनमा गन्तव्यसम्म पुग्न त सजिलो छ तर गुगलले संगृहीत गर्ने हाम्रा तथ्यांक केका लागि हो भन्ने बुझ्न त्यति नै जटिल । गुगल म्याप अन गरेर कहाँ–कहाँ पुगिन्छ ? थाहा पाउन यो लिंकमा हेर्न सकिन्छ: https://www.google.com/maps/timeline


-प्रयोगकर्ताको खोजी इतिहास (सर्च हिस्ट्री) समेत गुगलले आफ्नो डाटाबेसमा राख्छ । प्रयोगकर्ताले आफ्नो सर्च हिस्ट्री डिलिट गरे पनि यो डाटाबेसमा रहन्छ । यसलाई हटाउन डाटाबेसमै गएर एकपछि अर्को गरी डिलिट गर्नुपर्छ । यसलाई डिलिट गर्न कति झन्झटिलो हुन्छ, यो लिंकमा गएर आफैं हेर्न सकिन्छ : https://myactivity. google.com/myactivity । यसमा मोबाइलमा कुन–कुन एप चलाइन्छ, के–के क्रियाकलाप गरिन्छ भन्नेसमेतको जानकारी समावेश छ ।


-गुगलले प्रयोगकर्ताको रुचिका विषय र अनिच्छाका विषय समावेश गरी अर्को डाटाबेस बनाएको छ, जुन विज्ञापनका लागि उपयोग गरिने जनाइएको छ । यसमा प्रयोगकर्ताको स्थान, उमेर समूहदेखि अन्य व्यक्तिगत जानकारी पनि समावेश हुन्छन् । प्रयोगकर्ताले आफ्ना के–के जानकारी गुगलसँग छ भन्ने बुझ्न यो लिंकमा क्लिक गरेर हेर्न सक्छन् : https://adssettings.google. com/authenticated


- प्रयोगकर्ताले आफ्नो ब्राउजरमा कुन–कुन एपलाई पहुँच दिएका छन् । उसको ब्राउजरमा कुन–कुन एक्स्टेन्सन छन् । तिनको जानकारी पनि गुगलले संगृहीत गरेको छ । यसबाहेक ती एप कुन–कुन समयमा प्रयोग गर्छन्, केका लागि प्रयोग गर्छन् ? यी सबै जानकारी फेसबुकले राख्छन् । यसबारे आफ्ना जानकारी हेर्नका लागि : https://myaccount.google.com/permissions?pli=1


-प्रयोगकर्ताले युट्युबमा गरेका सबै सर्च र हेरेका सबै भिडियोको जानकारी पनि संग्रह गर्छ । यसबाट प्रयोगकर्ताको विचार, व्यक्तित्व, ज्ञान, रुचिजस्ता तथ्यहरू त थाहा हुन्छ नै, यी जानकारीबाट प्रयोगकर्तासम्बन्धी धेरै धारणा बनाउन पनि सहज हुन्छ । युट्युबमा के–के हेर्छन् ? यस लिंंकमा गएर थाहा पाउनुपर्छ किनभने कति कुरा त आफंैले पनि बिर्सिसकेको हुन सक्छ तर गुगलले डिलिट गरेको हुन्न :https://myaccount.google. com/permissions?pli=1


-गुगलले प्रयोगकर्ताबाट संकलन गरेको सबै जानकारी डाउनलोड गर्ने सुविधा पनि दिएको छ । यसमा गुगलले संकलन गरेका माथिका सबै जानकारी डाउनलोड गर्न सकिन्छ वा आफूलाई मन लागेको विवरण मात्रै डाउनलोड गर्न पनि सकिन्छ । तलको लिंकमा गएर यी सबै जानकारी डाउनलोड गर्न सकिन्छ । जोकोहीले पनि यी जानकारीको पहुँच पाएमा प्रयोगकर्ता कस्तो खालको मान्छे हो भन्ने पत्ता लगाउन सक्छ । प्रयोगकर्ता के विषयमा उत्सुक छन् भन्नेसहित उसको मनोविज्ञानबारेसमेत धेरथोर जानकारी राख्ने गरेको यस लिंकले देखाउँछ : google.com/takeout

कुरा गरौं फेसबुकको । किनकि इन्टरनेटको पहुँच भएर पनि फेसबुक नचलाउने मानिस संसारमा विरलै छन् । यसले मानिसलाई भर्चुअल रूपमा नजिक ल्याउन ठूलो भूमिका पनि खेलेको छ । त्योबाहेक फेसबुकसँग प्रयोगकर्तासम्बन्धी यथेष्ट जानकारी पनि छ । कसरी त ?


- प्रयोगकर्ताको के–के जानकारी फेसबुकसँग छ भनेर बुझ्न आफ्नो जानकारी आफैं डाउनलोड गरी हेर्दा पनि थाहा पाइन्छ । यसका लागि ब्राउजरबाट फेसबुकको सेटिङ मेनुमा जानुपर्छ, जहाँ तलपट्टि डाउनलोड कपी भन्ने अप्सन राखिएको छ । डाउनलोड अप्सनमा गएर फेसबुकसँग भएको आफ्नो जानकारी डाउनलोड गर्ने प्रक्रिया अघि बढाउन सकिन्छ । केहीबेरपछि प्रयोगकर्ताको इमेलमा डाउनलोड गर्ने लिंक आइपुग्छ । त्यसलाई डाउनलोड गरेपछि त्यसमा आफूसम्बन्धी जानकारी खोज्न सकिन्छ ।


-प्रयोगकर्ता आफंैले फेसबुकमा अपलोड गरेका सबै फोटो र भिडियो त भेटिन्छ नै, त्यसबाहेक प्रयोगकर्ताले गरेका च्याटहरूसमेत संगृहीत छन् । प्रयोगकर्ताले आफ्नो म्यासेन्जरबाट डिलिट गरेको च्याटसमेत त्यहाँ पढ्न सकिन्छ ।


- प्रयोगकर्ताको मोबाइलमा सेभ गरिएको फोन नम्बर र इमेल ठेगानासमेत फेसबुकसँग सुरक्षित रहन्छ ।


- प्रयोगकर्ताले फेसबुकमा गर्ने क्रियाकलापको आधारमा फेसबुकले उनीहरूले के मन पराउँछन्, मन पराउँदैनन् भन्ने डाटाबेससमेत तयार पारिएको हुन्छ ।


- प्रयोगकर्ताले कुन फोन बोक्छन्, उनीहरूले कतिबेला फेसबुकमा समय बिताउँछन्, कस्तो एप प्रयोग गर्छन् भन्ने जानकारीसमेत फेसबुकले राख्छ ।


- फेसबुकले आफ्नो डाटा पोलिसीमा प्रयोगकर्ताले उपलब्ध गराएको र उनीहरूले आफ्नो प्लेट–फर्म प्रयोग गर्दाको जानकारी सुविधा थप्न र प्रयोगकर्ताको गोपनीयताका लागि प्रयोग गर्ने उल्लेख गरेको छ ।


यस्ता सूचना र जानकारीहरू प्रयोगकर्तालाई मन पर्न सक्ने विज्ञापनहरू देखाउन प्रयोग गर्न सक्ने फेसबुकको नीतिमा उल्लेख छ । तर, फेसबुकले प्रयोगकर्ताको तथ्यांक बिक्री नगरेको दाबी गरिरहेको छ ।
–एजेन्सीहरुबाट

प्रकाशित : चैत्र २३, २०७४ १०:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?