कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८५

“नयाँ यात्राको सुरुवात”

काठमाडौँ — सांगीतिक समूहमा ‘फ्रन्टम्यान’ सबभन्दा लोकप्रिय हुन्छन् । सबैले उसैलाई रूचाउँछन् । समस्या पर्दा सबभन्दा बढी पीडा पनि फ्रन्टम्यानलाई नै पर्छ । मंगोलियन हार्टले २५ वर्ष पुग्दा राजु लामाले दुवैखाले अनुभव बटुले । एकपछि अर्को चर्चित नम्बरहरु दिइरहेका उनको शब्दमा ब्यान्डको रजत यात्रा :

“नयाँ यात्राको सुरुवात”

सिन्धुपाल्चोकको विकट गाउँ, बरुवा–सुनचौरमा जन्मेको हुँ म । त्यहाँ स्कुल थिएन । चार/पाँच वर्षको भएपछि दिदी (ल्हामु लामा) ले मलाई काठमाडौं ल्याउनुभयो । यहाँ आएर पर्वते (नेपाली) भाषा सिकें, गाउँमा त तामाङ मात्रै बोलिन्थ्यो । मलाई दिदीले सिद्धार्थ वनस्थली स्कुलमा भर्ना गरिदिनुभयो । आठ/नौ कक्षामा पुगेपछि गाउने/बजाउने रहर लाग्यो ।


देउसीका लागि भनेर हामीले एउटा समूह बनाएका थियौं । त्यसमा चन्द्र गुरुङलगायत थिए । हामी कक्षा १० मा हुँदा चन्द्रले आफ्ना दुई गीत रेकर्ड गराएर ल्याए । उनको गीत सुनेपछि मलाई पनि गाउने जोस आयो । चन्द्रले नै गितार बजाउन सिकाएपछि मैले पाँच वटा गीत कम्पोज गरें । म, चन्द्र र राजु गुरुङका गीत राखेर हामीले एल्बम निकाल्ने निर्णय गर्‍यौं । छाउनीको अल्फा रेकर्डिङ स्टुडियोमा ८ वटा गीत रेकर्ड गरियो । यसरी १८/१९ हजार रुपैयाँमा हामीले पहिलो एल्बम ‘सोल्टिनी’ तयार पारेका थियौं ।


त्यो बेला म ठमेलको गेस्ट हाउसमा काम गर्थें । मेरो तलब र साथीहरूले घरबाट मागेर ल्याएको पैसाले एल्बम बनेको थियो । त्यसको प्रमोसनका लागि केमात्र गरिएन १ चक्रपथ, बालाजु, सामाखुसी, न्यु रोडतिर भातको माड र पोस्टर बोकेर रात–रातभर हिँडियो । एउटै बाइकमा तीन जना बसेर पोस्टर टाँस्दै हिँडे पनि एल्बमचाहिँ फ्लप भयो । ‘बादलुमा लुकी बस्ने...’ गीत अलिअलि चलेको थियो । तर, त्यो असफलताले हामीलाई पटक्कै छोएन । त्यत्तिकै दंग थियौं ।


सन् १९९६ मा ब्यान्डहरूको प्रतियोगिता ‘सजन स्मृति’ मा भाग लियौं । त्यसमा ४०/५० वटा ब्यान्ड थिए भन्ने सुनेको हो । विजेताचाहिँ हामी भयौं । सोह्र हजार रुपैयाँ पुरस्कार र एउटा गीत रेकर्ड गर्ने अवसर मिल्यो । त्यसले हामीलाई मिडियातिर पनि एक्पोज गरायो । ‘ओई नाना, ओई नाना...’ त्यतिबेलै बनेको गीत हो । म्युजिक नेपालका रेकर्डिस्ट दिपेश प्रधानले कम्पनीकै लगानीमा एल्बम निकाल्ने वातावरण मिलाइदिनुभयो । यसरी ‘मंगोलियन हार्ट भोल्युम १’ निस्किएपछि हाम्रा दिन सुरु भए ।


एल्बममा समाविष्ट ‘नतानुँ त तानुँ लाग्ने...’, ‘ओई नाना...’ जस्ता गीत जताततै बज्थे । तर, भिडियो नभएकाले मान्छेले हामीलाई चिन्दै चिनेनन् । त्यही बेला नेपथ्यको अमृत गुरुङ दाइले नेपाल टेलिभिजनको कार्यक्रम ‘संगीत सरगम’ मा पुर्‍याइदिनुभयो । पहिलोचोटि टीभीमा देखिएका थियौं, ६ वटा गीत गायौं । त्यसलगत्तै ‘उँभो–उँभो खासा...’ को भिडियो बन्यो । अखबारतिर पनि हाम्राबारे छापिएपछि त के चाहियो र १ ब्यान्ड हिट भयो ।


कन्सर्टका लागि अफर आउन थाले । सन् १९९८ मै हामी हङकङ टुर गएका थियौं । त्यसअघि १९९५ मा पहिलो पटक काठमाडौं बाहिर गएर पोखरामा कन्सर्ट गरियो । बाह्र महिनामा १४/१५ पटक पोखरा पुगिन्थ्यो । खै किन हो, त्यहाँ कन्सर्ट गर्दा मलाई जहिले पनि मजा आउँथ्यो/आउँछ । कतिपय कार्यक्रममा हामीलाई देखेर फ्यानहरू बेहोस हुने, कोही घरको गेटमै कुरेर बस्ने, हात काट्ने गरेको देख्थ्यौं । जस्तै भए पनि त्यो मायाले हामीलाई सधैं प्रेरणा दिइरह्यो ।


मंगोलियन हार्टको दोस्रो संस्करण, तेस्रो, चौथो, पाँचौं सार्वजनिक गरुञ्जेल ब्यान्डमा हल्काफुल्का लाइन–अप फेरियो । खासै समस्या भएन । सन् २००६ भने मेरा लागि अभिसापजस्तै बन्यो । हामी यूएस टुर जाँदा साथीभाइ हराए, म उतै अड्किएँ । यता देशमा नानाथरी हल्ला फैलियो । ब्यान्ड टुक्रिनु र आफूबारे पहिलोपटक नकारात्मक टिप्पणी सुन्दा मलाई खपिनसक्नुभयो । आफूलाई कसरी सम्हाल्ने, देश फर्किने कि यतै (अमेरिका) बस्ने, ब्यान्डलाई के गर्ने भन्ने नै बुझिनँ । अत्तालिएँ मात्र ।


ब्यान्डको फ्रन्टम्यान हुनुको पीडा मैले त्यही बेला बुझें । हाम्रो अनुहार देखिन्छ, चिनिन्छ । तर, केही गडबडी भयो भने फ्रन्टम्यान नै जिम्मेवार हुनुपर्दोरहेछ । त्यो बेला हामी सबै युवा र अल्लारे थियौं । समय कस्तो थियो भने यूएस जानु भनेको चन्द्रमा पुग्नु जत्तिकै थियो । त्यस्तो बेला साथीहरूले धोका दिएका थिए मलाई । अहिलेसम्म उनीहरूसँग सम्पर्क छैन । तर, कसैप्रति रोष पनि छैन ।


एक वर्ष केही गरिनँ । निराश भएर बसें । जति गीत लेखे पनि नकारात्मक कुरा मात्र आउँथ्यो । तर, बिस्तारै सम्हालियो । अहिले सम्झिँदा त्यो घटनाले मलाई फाइदै गरेछ भन्ने लाग्छ । म परिपक्व बनें, आत्तिएको बेला सम्हालिन सिकें, समस्यासँग जुध्न जानें, लडेपछि उठ्न सिकें । सन् २००८ मा नयाँ सदस्यसहित ब्यान्डमा नयाँ ऊर्जाले काम थाल्यौं । त्यो बेला बबी (ब्यान्ड म्यानेजर तथा रिदम गितारिस्ट) ले मलाई धेरै साथ दिएका थिए । ऊ नहुँदो हो त ब्यान्ड सकिन्थ्यो होला ।


सन् २००८ देखि हाम्रो लाइनअप फेरिएको छैन । सबैजना मिहिनेती, परिपक्व र व्यावहारिक छन् । भनेको सुन्छन् पनि । बरु, म नै घरगृहस्थीतिर लागेर ब्यान्डलाई समय दिन सकिरहेको छैन । कन्सर्टचाहिँ गरिरहेका हुन्छौं । तर, नयाँ एल्बम र गीतहरूको प्रवद्र्धनमा ध्यान दिएका छैनौं । ब्यान्ड २५ वर्ष पुगेको अवसरमा शनिबार कन्सर्टसँगै एल्बम रिलिज गर्‍यौं । त्यो हाम्रो नयाँ यात्राको सुरुवात हो । अब आफ्नो शैली यथावत् राखेर नयाँ स्वाद सिर्जना गर्नेछौं । जति माया पायौं, अब त्योभन्दा ज्यादा पाउने आशा छ ।
प्रस्तुति : सजना बराल

मंगोलियन हार्टको २५ बर्ष
सन् १९९३ : पाँच युवाद्वारा मंगोलियन हार्ट स्थापना
वसन्त गुरुङ (कि–बोर्ड), चन्द्र गुरुङ (रिदम गितारिस्ट), राजकुमार थापा (लिड गितार), राजु लामा (भोकलिस्ट), देव गुरुङ (ड्रमर)
१९९५ : धिरज गुरुङ (बास गिटारिस्ट) को प्रवेश । ६ सदस्यीय ब्यान्ड ।
१९९८–९९ : वसन्त र चन्द्रले ब्यान्ड छाडे । चार सदस्यमात्र सक्रिय ।
२००० : बबी लामाको प्रवशेसँगै ५ सदस्यीय ब्यान्ड ।
२००६ : धिरज, देव, राजकुमार बिदेशिए । ब्यान्डमा राजु र बबी मात्र बाँकी ।
२००८ : बबीद्वारा नयाँ लाइनअप तयार । ब्यान्डमा सन्तोष थापा (ड्रमर), दिपेन्द्रमान सिंह (कि–बोर्ड), प्रवीन श्रेष्ठ (बास गिटारिस्ट) र किरण नगरकोटी (लिड गिटारिटस्ट) थपिए ।
२००९ : प्रवीन बाहिरिए । पवन कपाली (बास गिटारिस्ट) को आगमन ।
२०१७ : दिपेन्द्रमान सिंह बाहिरिए । राजु, बबी, सन्तोष, किरण र पवनको ५ सदस्यीय लाइनअप ।


११ एल्बम
सन् १९९४ : सोल्टिनी
१९९६ : मंगोलियन हार्ट
१९९९ : मंगोलियन हार्ट २
२००२ : मंगोलियन हार्ट ३
२००३ : मंगोलियन हार्ट सोलिड गोल्ड
२००४ : डोन्बो
२००६ : मंगोलियन हार्ट ४
२००९ : मंगोलियन हार्ट ५
२०१३ : मंगोलियन हार्ट ६
२०१७ : विथ लभ अफ टिबेट
२०१८ : मंगोलियन हार्ट ७

सन् १९९३ : बायाँबाट क्रमश: वसन्त गुरुङ, चन्द्र गुरुङ, राजकुमार थापा, राजु लामा र देव गुरुङ

सन् १९९५ : नयाँ सदस्य धीरज गुरुङ (माथिल्लो क्रममा बायाँबाट पहिलो)


बायाँबाट क्रमश: वसन्त गुरुङ, राजु लामा, देव गुरुङ, चन्द्र गुरुङ र राजकुमार थापा


सन् १९९८ : बायाँबाट क्रमश: धीरज गुरुङ, वसन्त गुरुङ, राजकुमार थापा, देव गुरुङ, चन्द्र गुरुङ र अगाडितर्फ राजु लामा


सन् २००५ : बायाँबाट क्रमश: धीरज गुरुङ, राजु लामा, देव गुरुङ, राजकुमार थापा


सन् २००८ : नयाँ सदस्य प्रवीन श्रेष्ठ


सन् २०१८ : बायाँबाट क्रमश: सन्तोष थापा, पवन कपाली, राजु लामा, बबी लामा र किरण नगरकोटी

प्रकाशित : वैशाख १४, २०७५ १०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?