कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्मार्ट गुगल असिस्टेन्ट र एन्ड्रोइड पी

गुगलले आफ्नो असिस्टेन्टले मानिसले जस्तै सामान्य कुराकानी गर्न सक्ने बनाउने जनाएको छ ।

काठमाडौँ — गुगल असिस्टेन्टलाई अझ बढी प्रयोगकर्तामैत्री बनाउने भन्दै गुगलले केही नयाँ फिचर सार्वजनिक गरेको छ । साथै, उसले आफ्नो आगामी अपरेटिङ सिस्टमको केही फिचर पनि घोषणा गरेको छ । यी फिचर कस्ता छन् ?

स्मार्ट गुगल असिस्टेन्ट र एन्ड्रोइड पी

गुगलले आफ्नो गुगल असिस्टेन्टलाई अझ बढी स्मार्ट बनाउने घोषणा गरेको छ । यसैसाता भएको
आफ्नो डेभलपर कन्फ्रेन्समा नयाँ फिचरसहितको गुगल असिस्टेन्टको घोषणा गरेको हो । साथै, गुगलले आफ्नो अपरेटिङ सिस्टम एन्ड्रोइडको नयाँ भर्सन पनि घोषणा गरेको छ । गुगलले अंग्रेजी अक्षरबाट नयाँ अपरेटिङ सिस्टमको नाम सुरु गर्ने गर्छ । एन्ड्रोइड पीको अपरेटिङ सिस्टममा गुगलले प्रयोगकर्तालाई केही नौलो फिचर दिने भएको छ ।


गुगल असिस्टेन्टमा हरेकपटक हेलो गुगल भन्नुपर्ने बाध्यता हट्ने भएको छ । यसमा ६ नयाँ आवाजहरू थपिएको गुगलले जनाएको छ । अब प्रयोगकर्ताले आफूलाई मनपर्ने आवाज छानेर गुगल असिस्टेन्ट प्रयोग गर्न सक्छन् । अहिलेसम्म गुगल असिस्टेन्ट संसारभरका ५० करोड डिभाइसमा प्रयोग हुने गुगलको तथ्यांक छ । गुगलले कन्टिन्यु कन्भर्सेसन नाम दिएर हरेक पटक भ्वाइस सर्च गर्दा हेलो गुगल भन्नुपर्ने बाध्यकारी व्यवस्था हटाएको छ । यो फिचर आगामी सातादेखि प्रयोगकर्तालाई खुला हुने भएको छ ।


यसका साथै, गुगल असिस्टेन्टलाई एकै पटकमा एकभन्दा बढी निर्देशन दिन पनि सकिने भएको छ । यो सेवा पनि केही दिनमै सुरु हुनेछ । गुगल असिस्टेन्टलाई अब कुनै कथा वाचन गर्न लगाउन पनि सकिने फिचर सुरु हुने भएको छ । विशेषत: बालबालिकाका लागि यो फिचर सुरु गरेको कम्पनीले जनाएको छ ।


योबाहेक गुगलले आफ्नो असिस्टेन्टले मानिसले जस्तै सामान्य कुराकानी गर्न सक्ने बनाउने जनाएको छ । असिस्टेन्टले स्वत: फोन गरेर कुराकानी गर्न सक्ने कम्पनीले जनाएको छ । यसले मानिसले जस्तै कुराकानीको सन्दर्भ बुझ्न सक्ने कम्पनीको दाबी छ ।

फोन कम चलाउन सघाउने गुगलले हरेकपटक नयाँ अपरेटिङ सिस्टम सार्वजनिक गर्दा प्रयोगकर्तालाई फोन चलाउन मन लाग्ने फिचरहरू थप्दै आएको छ । तर, एन्ड्रोइड पीमा भने प्रयोगकर्तालाई फोन कम चलाउन सघाउने फिचर राखिएको कम्पनीले जनाएको छ ।


गुगलले आफ्नो डेभलपर कन्फ्रेन्समा देखाएको फिचरअनुसार एन्ड्रोइड पीमा हुने ड्यासबोर्ड फिचरले प्रयोगकर्तालाई आफूले कुन एप कति समय प्रयोग गर्ने भनेर निर्धारण गर्ने सुविधा दिनेछ । प्रयोगकर्ताले उक्त एप आफूले निर्धारण गरेको समयसम्म प्रयोग गरेपछि स्वत: नोटिफिकेसन जाने व्यवस्था भएको कम्पनीले जनाएको छ । यसले प्रयोगकर्तालाई स्मार्टफोन कम चलाउन प्रोत्साहित गर्नेछ ।


साथै, ड्यासबोर्डले प्रयोगकर्ताले कुन एप एक दिनमा कति समय चलाए भन्ने पूरा विवरण उपलब्ध गराउनेछ । यसले प्रयोगकर्तालाई आफूले दैनिक कुन एप कति प्रयोग गरिरहेका छौं भन्ने जानकारी दिनेछ ।


नयाँ अपरेटिङ सिस्टममा डु नट डिस्टर्ब मोडलाई पनि स्मार्ट बनाइएको गुगलले जनाएको छ । डुनट डिस्टर्भ अन गरेपछि कुनै पनि नोटिफिकेसन नदेखाउने गुगलले जनाएको छ । यसमा कोही व्यक्तिको नोटिफिकेसन भने देखाउन मिल्ने सुविधा हुनेछ । यस्तै, प्रयोगकर्ताले आफू सुत्ने समय निर्धारण गर्न मिल्ने सुविधा पनि हुनेछ । यसले प्रयोगकर्तालाई सुत्ने समयको नोटिफिकेसन दिनेछ र स्मार्टफोन श्यामश्वेत बन्नेछ । प्रयोगकर्तालाई सुत्ने समयमा फोन चलाउन निरुत्साहित गर्ने उद्देश्यले यस्तो फिचर ल्याइएको कम्पनीले जनाएको छ ।


नयाँ अपरेटिङ सिस्टमले स्मार्टफोनको होम बटनको धेरै प्रयोग गर्नुपर्ने बाध्यता पनि हट्ने गुगलको दाबी छ । यसमा स्मार्टफोनको विभिन्न फिचर र एपमा जान स्वाइप गरे पुग्ने फिचर रहनेछ । गुगलको यो फिचर पछिल्ला आइफोनको फिचरसँग मिल्दोजुल्दो हुनेछ ।


अहिले ११ स्मार्टफोनमा नयाँ अपरेटिङ सिस्टमको बेटा भर्सन उपलब्ध हुनेछ । यो अपरेटिङ सिस्टम यो वर्षको अन्त्यतिर सबै प्रयोगकर्ताका लागि खुला हुनेछ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?