कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ती दुई आँखा

काठमाडौँ — हेर्दा सामान्य लाग्ने तर अर्थ जीवन्त दिने खुबी भएका कलाकार हुन् रवीन्द्र श्रेष्ठ । उनका लागि ज्ञान, सीप र सम्पत्ति भनेकै कला हो । उनी पेन्टिङ गर्छन् । कला प्रतिस्थापन गर्छन् । पेन्टिङमा टेक्निकभन्दा पनि अवधारणा महत्त्वपूर्ण हुने उनको तर्क छ ।

ती दुई आँखा

आफूलाई चित्रकारभन्दा पनि कलाकार भन्न चाहने रवीन्द्र श्रेष्ठको कलाबारे विद्या राई लेख्छिन् :


फाइन आर्ट पढ्नका लागि काठमाडौं विश्वविद्यालय पुगेपछि ६ महिने कला परियोजनामा रवीन्द्रले लाइन आर्ट (रेखा कला) रोजेका थिए । त्यस क्रममा ‘लाइन–द सोल अफ द युनिभर्स’ शीर्षकमा २० जना कलाकारसँग सहकार्य गरेर उक्त परियोजना पूरा गरे । हरेक कलाकारलाई ६ फिट लम्बाइ र तीन फिट चौडाइको छुट्टाछुट्टै क्यानभासमा तीन इन्चको रेखा छुट्याएर त्यसभित्र चित्र कोर्न दिएका थिए । यो ‘कोल्याबोरेसन प्रोजेक्ट’ मा शशि शाह, किरण मानन्धर, मनुजबाबु मिश्र, वीरेन्द्रप्रताप सिंह, प्रेममान चित्रकार, एससी सुमन, संगी श्रेष्ठदेखि ६ वर्षीया विज्ञता सत्यालसम्मले आ–आफ्ना कला देखाएका थिए । सहकार्य गरिएका लाइन आर्टमा मानवीयता झल्किन्छन् । मिथिला कलादेखि नेवारी कला थांकासम्म अटाएका छन् ।


तीन वर्षअघि महाभूकम्पमा ऐतिहासिक धार्मिक सम्पदाहरू भत्किए । केही मन्दिर पूरै ढलेका र चर्केका थिए । कतिपयका टुँडालहरू उछिट्टिएका र उप्किएका थिए । उनले जताततै छरिएका र नासिन लागेका काष्ठकला र वास्तुकलाको फोटो खिचेर ल्याए । ती कलात्मक बुट्टाहरूलाई लाइन आर्टमा उतारे । ‘भूकम्पको रेखा’– प्रोजेक्ट नाम दिएको उक्त पेन्टिङले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको प्रतियोगितामा ‘नेसनल स्पेसल अवार्ड’ पनि जित्यो ।


उनी चर्केको भित्ता, सूर्योदय, सूर्यास्त, भिरालो डाँडा, कफी पिउँदै गरेको कप, सडकमा असरल्ल तार, रूखका लहरा जताततै लाइन देख्छन् । ‘सामान्यतया एउटा विन्दुबाट सुरु भई अर्को विन्दुसम्म पुगेपछि लाइन बन्छ तर विन्दुमा पनि लाइन हुन्छ,’ उनी भन्छन्, ‘एउटा विन्दुलाई सूक्ष्म रूपमा हेर्‍यो भने त्यहाँ पनि त गोलो घेरा हुन्छ ।’ उनको खुबी पनि सूक्ष्म ढंगले लाइनलाई हेर्ने नै हो ।


लाइन आर्टमा कोल्याबोरेसन अवधारणालाई अन्तर्राष्ट्रियस्तरमा पनि लैजाने उनको लक्ष्य छ । फिंगर प्रिन्ट अर्थात् औंठाछाप आर्ट पनि उनले भूकम्पकै बेला सुरु गरेका थिए । उनले ‘भूकम्पले जोडिएका मनहरू’ पहिलो प्रोजेक्ट गरेका थिए । उनले ६४ जनाको औंठाछापलाई क्यानभासमा लिएका थिए । त्यसमा घर–घर गएर भिक्षा माग्ने साधुदेखि भूकम्पपीडितका लागि लाखौं रुपैयाँ सहयोग गर्ने दाताहरूको समेत औंठाछाप छ । औंठाछाप कुनै पनि व्यक्तिको परिचय हो । व्यक्तिपिच्छे फरक–फरक हुन्छ ।


जाति, भाषा, भूगोल र विचारले मानिसहरू फरक भए पनि भावनात्मक रूपमा जोडिएका छन् भन्ने रवीन्द्रको फिंगर प्रिन्ट आर्टको अर्थ हो । उनी हरेक औंठाछापको बीचमा एउटा रातो रेखा कोर्छन् । सबैको रगत रातो हुन्छ र मानिसहरूबीच एक प्रकारको भावनात्मक सम्बन्ध झल्किने उनको विश्वास छ । अहिलेको समयमा हस्ताक्षरले औंठाछापलाई विस्थापित गर्दैछ । तर औंठाछाप सबैको भिन्न भएको हुँदा त्यसले दिने परिचयलाई कुनै पनि हस्ताक्षरलाई विस्थापित गर्दैन भन्ने उनको धारणा छ । यही सोचले उनले फिंगर प्रिन्टको आर्ट थालेका थिए । हाल उनी फिंगर प्रिन्टकै अर्को काम गर्दैछन् । स्वास्थ्यकर्मीहरूको औंठाछाप लिएर स्टेथेस्कोपमा प्रिन्ट गरेर दिने कार्यमा लागेका छन् ।


औंठाछाप भएको स–साना क्यानभासहरू एकै ठाउँमा राखेर उनले नेपाल आर्ट काउन्सिलमा ‘जोडिएका मनहरू’ शीर्षकको प्रतिस्थापन कला प्रस्तुत गरेका थिए । यसबाट ललितकला विशेष पुरस्कार पनि पाए । चार वर्षअघि उनले बनाएको ‘भर्सेज’ शीर्षकको प्रतिस्थापन कलाबाट पनि विशेष पुरस्कार जितेका थिए । एन्ड्रयु ग्राहम डिक्सनको सम्पादनमा प्रकाशित चर्चित किताब ‘आर्ट’ मा नेपाली चित्रकलाबारे कतै उल्लेख नभएको असन्तुष्टिस्वरूप उनले त्यो कला बनाएका थिए । ‘भर्सेज’ मा उक्त किताबमाथि चक्कु गाडिएर त्यसभित्र नेपाली कला प्रवेश गर्न खोजिरहेको देखाइएको छ । यसले भारतमा भएको ‘कोची बिनाले २०१४’ प्रदर्शनीमा राम्रै चर्चा पाएको थियो ।


उनले ‘इन्टरेक्टिभ फिंगर प्रिन्ट आर्ट प्रोजेक्ट’ नेपालमा रहेको तारा गाउँ म्युजियमबाट सुरु गरेका थिए । त्यसपछि हार्वर्डलगायत विश्व प्रसिद्ध म्युजियमहरूसम्म पुगेको छ । उनले फिंगर प्रिन्ट कला दुई वर्षअघि पहिलोपल्ट राष्ट्रिय कला प्रदर्शनीमा प्रस्तुत गरेका थिए । त्यसपछि १७ औं एसियन आर्ट (बंगलादेश), हार्वर्ड बिल्डिङ (अमेरिका) सम्म प्रदर्शन भयो । उनका कला अमेरिका, चीन, बेलायत, अस्ट्रेलिया, जर्मनी, भारतसम्म पुगेको छ । एउटै चित्रको मूल्य लाखौं पर्छ । स्वदेशमै ३५ हजारदेखि ८० हजार रुपैयाँसम्म बिक्री गरिएको छ । उनले ब्लड पेन्टिङ, कोल्याबोरेसन आर्ट, फिंगर प्रिन्ट र कम्पोजिसन आर्ट गरी चार क्षेत्रमा काम गरेका छन् । उनी देश–विदेशका हरेक घटनामा चासो राख्छन् ।


तीनपल्ट विशेष राष्ट्रिय ललितकला पुरस्कार पाएका उनले २०१६ मा हार्वर्ड युनिभर्सिटीमा साउथ एसिया भिजिटिङ आर्टिस्टको अवार्ड पाएका थिए । उनी सानैदेखि चित्रकलामा रुचि राख्थे । अरू बच्चाहरू आँगनमा खेलिरहँदा उनी भुइँ र भित्तामा कोरेर बस्थे । उनी आफूलाई कन्सेप्टमा काम गर्न रुचाउने भएकाले चित्रकारभन्दा पनि कलाकार भन्न रुचाउने गर्छन् । उनी ड्रइङ, पेंटिङ, फोटोग्राफी, भिड्योग्राफी, प्रतिस्थापन कला गर्छन् ।


उनलाई पेन्टिङ गर्ने ऊर्जा दसवर्षे द्वन्द्वले दिएको बताउँछन् । साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा ल्याब असिस्टेन्टका रूपमा काम गर्थे । माओवादी र सेनाका घाइतेहरू आउँथे । रवीन्द्रलाई भने दुवै शक्तिलाई समायोजन गर्नुपर्छ भन्ने लाग्थ्यो । उनलाई ‘क्लिक’ भयो, एउटा पेन्टिङ बनाउने । पेन्टिङबाट शान्ति छर्ने ।


एउटा आँखा माओवादी बिरामीको रगतबाट र अर्को आँखा सेनाको रगतबाट बनाउने । ‘दुवैको आँखा एकै ठाउँ राख्दा समायोजन हुन्थ्यो, शान्ति देखिन्थ्यो नि त, रिदम पनि आउने भयो,’ उनले सम्झिए, ‘तर पेन्टिङ बनाउने नबनाउने भन्ने धेरै समयसम्म दोधार भयो । किनकि रगतले पेन्टिङ गर्नु राम्रो कुरा थिएन । तर पछि बनाए ।’ उनले मानव रगतबाट ‘ब्लड पेन्टिङ’ सिरिज नै बनाए । उनले एक पेन्टिङको शीर्षक ‘समायोजन’ राखेका छन् । द्वन्द्व समाप्तपश्चात् नेपाल कला परिषद्मा बृहत् कला प्रदर्शनी थियो । रवीन्द्रले रगतको पेन्टिङ प्रदर्शनीमा राखे । निकै आकर्षण बनेको थियो ।

प्रकाशित : वैशाख २८, २०७५ १०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?