कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बिदाइ टुर

टुरमा निस्कँदा जुन मज्जा र सनसनी हुन्छ, त्यो घरमा आराम गरेर बस्दा हुन्न । तर अन्तिम टुर हुन्छ नै ।

काठमाडौँ — सन् २०१८ खास–खास फेयरवेल–टुरका लागि सम्झिनेछ । एल्टन जोनले यसअघि नै यो वर्ष अन्तिम पटक टुर गर्ने बताइसकेका छन् । लगातार एकपछि अर्को टुरमा निस्कने र आफ्ना गीत प्रस्तुत गर्नेमा पर्छन्, उनी । खेलकुदमा खेलाडीको संन्यास जस्तै हो, यी गायक, गायिका र गीतकारका लागि अबदेखि टुर नगर्ने घोषणा । कसैले किन यसरी फेयरवेल–टुर गर्छन् ? यसको उत्तर सजिलो छैन । एउटा कारण हुन सक्छ, संगीतकर्मीमाथि उमेर हाबी हुनु ।

बिदाइ टुर

लगातार टुरमा रहँदा थाक्छन् पनि उनीहरू । त्यसैले अब आराम लिउँ र परिवारका लागि समय दिउँ भन्ने पनि हुन्छन् । केही भने फेयरवेल–टुरको घोषणा त गर्छन्, तर फेरि अर्को टुरमा निस्कन्छन् । यसको पनि दुई कारण हुन सक्छ । पहिलो, टुरमा निस्कँदा जुन मज्जा र सनसनी हुन्छ, त्यो घरमा आराम गरेर बस्दा हुन्न । त्यसमाथि आर्थिक लाभ त छँदै छ । केही भने झुक्याउन पनि आफ्नो यो अन्तिम टुर भन्छन्, दर्शकलाई बढी तान्न । सबैले यस्तो भने गर्दैनन् । यस वर्ष अन्तिम पटक टुर गरिरहेका तीन प्रमुख गायक/ब्यान्ड :


पउल सिमोन
यी अमेरिकी गायकले यसअघि पनि अबको टुर अन्तिम नभनेको होइन । तर यसपल्ट सायद उनी गम्भीर छन् । यसको प्रमुख कारण त उनको उमेर नै हो । अहिले नै उनी ७६ वर्षका भए, त्यसैले उनलाई धपेडी हुन थालेको छ । हालै मात्र उनले आफ्ना प्रशंसकलाई खुलापत्र लेखेका छन् । त्यसमा उनले भनेका छन्, ‘मलाई अब आराम चाहिएको छ । म अझै संगीत भर्न, गाउन र लेख्न सक्षम छु । तर सायद टुर गर्न साँच्चै बूढो भएँ कि ?’ यही मे महिनामा सुरु भएर उनको फेयरवेल–टुर सेप्टेम्बरमा सकिनेछ । उनले कुल १६ ग्रायमी अवार्ड जिते । यसले पनि देखाउँछ, उनको सफलता । सिमोनले यसपल्ट भनेका छन्, ‘मेरो संगीत मन पराउने सबैलाई धन्यवाद पनि छ ।’ सायद यो साँच्चै अन्तिम पटक बिदा लिने अवसर हुनेछ ।


स्लेयर
यो अमेरिकी मेटल ब्यान्ड, स्लेयर । किन यो ब्यान्ड पनि यो वर्ष नै आफ्नो अन्तिम टुरमा निस्कँदै छ त ? ठीक उत्तर छैन । थ्रायस मेटलका चार प्रमुख ब्यान्ड छन् । त्यसमा एक त स्लेयर नै भए, अरू एन्थ्राक्स, मेटालिका र मेघाडेथ हुन् । यसैले पनि स्लेयरलाई मेटल संगीत मन पराउनेहरूका लागि महान् हो ।
स्लेयरलाई मेटल संगीतमा सर्वाधिक एकोहोरा ब्यान्ड पनि भनिन्छ । यसलाई अरूले के भन्छ, मतलब छैन, खालि आफूले जे भन्यो त्यो पूरा हुनुपर्छ । सायद यसपल्ट फेयरवेल–टुर पनि यो ब्यान्डको जिद्दी हुन सक्छ । केरी किङ र टम आरया त ब्यान्डलाई नै सधैंका लागि निष्क्रिय बनाउन चाहन्छन् । स्लेयरलाई बुझ्न सकिन्न ।

ओजी ओसबर्न
ओजी पनि सायद साँच्चै बूढा भए । यी बेलायती गायक तथा गीतकारले कति पटक ‘क्रेजी ट्ेरन’ र ‘पारानोइज’ गाए, उनलाई पनि थाहा छैन होला । उनी भर्खर ६९ वर्षका भए, तर लगातार टुरमा रहेको पनि धेरै वर्ष भइसकेको छ । अब किन उनी टुरमा जान चाहँदैनन् त ? उनले दिएको उत्तर भने यस्तो छ, ‘मैले त नाति पनि देखिसकें । सायद मैले जुन रफ्तारले गीत गाइरहेको थिएँ, त्यसलाई सुस्त बनाउने ठीक समय आएको छ ।’ उनको दाबी छ, ‘आइरन म्यान’ जस्ता गीत त नमरुन्जेल गाइरहने छन् । त्यसको अर्थ उनी पूर्णत: रोकिएका होइनन्, खालि टुरबाट विश्राम चाहेका मात्र हुन् ।

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?