कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

क्यान्सको उपहार

‘फिल्म मेरो माध्यम हो भन्ने महसुस हुनासाथ निर्देशन रोजें ।’
सजना बराल

काठमाडौँ — क्यान्स फिल्म फेस्टिभलको जारी ७१ औं संस्करणमा गएको मंगलबार नेपाली छोटो फिल्म ‘विङ्स’ ले नेस्प्रेसो ट्यालेन्ट इन्टरनेसनल अवार्ड जित्यो । निर्देशक किरण पोखरेललाई दिइएको अवार्ड फ्रान्सस्थित उनका प्रतिनिधिले ग्रहण गरे । यता स्वदेशमा किरण खुसीले गदगद भए ।

क्यान्सको उपहार

‘मलाई थप जिम्मेवारी बोध भइरहेको छ,’ उनले भने, ‘अब फुल लेन्थ फिचर फिल्म बनाउँछु ।’
एक लाख २० हजार रुपैयाँमा बनाइएको तीन मिनेटको उनको फिल्मले ६ लाख रुपैयाँको पुरस्कार र ट्रफी जितेको थियो । एउटा सानो, साइड विधा नै भए पनि क्यान्समा उपाधि जित्नु महत्त्वको विषय मानिन्छ । किरणले त झन् पहिलो पटक यस्तो अन्तर्राष्ट्रिय अवार्ड जितेका थिए । ‘फिल्मकी अभिनेत्री, निशा कार्कीबाहेक अरू क्रुले सित्तैमा काम गरिदिनुभएको थियो,’ निर्देशक आश्चर्य जनाउँछन्, ‘अहिले अवार्ड जित्दासमेत उहाँहरूले हिसाब माग्नु भएको छैन । बरु, फिल्ममै लगाऊ भन्दै हुनुहुन्छ ।’


किरणले यसअघि आधा दर्जन फिल्म र डकुमेन्ट्रीका लागि काम गरेका थिए । कालो पोथी, साँघुरो, छड्के, फिट्किरी, सुनगाभा जस्ता फिल्मका उनी ‘फस्र्ट एडी’ अर्थात् प्रमुख सहायक निर्देशक भए । डिस्कभरी र नेसनल जियोग्राफिक च्यानलबाट प्रसारण भएको ‘वाकिङ द हिमालय’ र भारतको एमटीभी रोडिजका लागि उनले प्रोडक्सन कोअर्डिनेटरको जिम्मेवारी पाएका थिए । ‘एभरेस्ट’ नामक जापानी फिल्म, फ्रान्सको ‘नम्बर वान’ र भारतको ‘बेबी’ मा पनि प्रोडक्सन एसिस्टेन्ट डाइरेक्टरका रूपमा संलग्न भएको उनले बताए ।
निर्देशन र स्क्रिप्ट लेखनमा स्नातक किरण अभिनयमा पनि रुचि राख्छन् । ‘विङ्स’ मै पनि उनले पुरातनवादी पतिको भूमिका निर्वाह गरेका छन् । सन् २०११ मा कलेज अफ फिल्म स्टडिजबाट स्नातक सकेपछि उनी एक्टर्स स्टुडियो भर्ना भए । त्यसअघि शैली थिएटरमा एक वर्ष आबद्ध हुँदाको अनुभव छँदै थियो । ‘त्यो बेला मलाई अभिनय र निर्देशनमध्ये कुन रोज्ने भन्नेमा दुविधा थियो,’ उनी सम्झन्छन्, ‘तर, फिल्म मेरो माध्यम हो भन्ने महसुस हुनासाथ निर्देशन रोजें ।’


उनी पुरस्कृत भएको पहिलो निर्देशकीय फिल्म थियो– रंगीन फोटो । नेपाल आर्मीले बर्सेनि आयोजना गर्ने सर्ट फिल्म प्रतियोगितामा सन् २०११ मा यसले दोस्रो स्थान हासिल गर्‍यो । यो फिल्ममा उनीसँग मीनबहादुर भाम निर्देशनमा थिए । फिल्मले ३५ हजार रुपैयाँ पुरस्कार पायो । सन् २०१३ मा किरणले ‘मानसी’ बनाए । यसले पनि उनलाई त्यो सालको एकादेशमा सर्ट फिल्म फेस्टिभलमा बेस्ट अडियन्स च्वाइस अवार्ड दिलायो ।


फिल्मसँग जोडिएको झन्डै एक दशक भइसक्दा पनि उनले ‘फिचर लेन्थ’ को फिल्म निर्देशन गरेका छैनन् । हतार गर्न नचाहेको पनि उनले बताए । ‘फटाफट बनाएको फिल्म फटाफट हराएर जाला,’ उनी आशंका जनाउँदै बोले, ‘मैले गर्ने काम त्यस्तो हुनुहुँदैन । बरु बिस्तारै गर्छु, तर काम गुणस्तरीय होस् भन्ने चाहन्छु ।’ अनुभव गरेको वा आफ्नो जीवनसँग जोडिएका विषयमा काम गर्दा फिल्म मेकिङको गहिराइमा पुग्न सकिने बताए ।


पछिल्लो समय उनी फिल्म निर्माण कम्पनी आइसफल प्रोडक्सनमा क्रिएटिभ प्रोड्युसरका रूपमा जागिरे छन् । कम्पनीले निर्माण गर्न लागेको ‘द मेल म्यान’ को काम चलिरहेको छ । यसमा उनी पटकथा सल्लाहकारका रूपमा संलग्न छन् । साथै ‘टुकटुक’, ‘फलाक’, ‘पुतलीको सपना’ र ‘मानसी’ फिल्मको स्क्रिप्ट लेखिसकेको बताए । ‘निर्माताचाहिँ भेटेको छैन,’ उनले दु:ख सुनाए, ‘सरकारले सपोर्ट गर्दैन, निजी निर्मातालाई हाम्रा फिल्म मन पर्दैनन् । व्यावसायिक प्रयोजनका लागि उपयुक्त भएनन् भन्नु हुन्छ ।’


क्यान्ससँग जोडिएको नेस्प्रेसो ट्यालेन्ट जस्तो अवार्ड जितेपछि उनमा आशा पलाएको छ ।


आफ्ना फिल्मका लागि अन्तर्राष्ट्रिय दाता भेटिएलान् भन्ने सोचेका छन् । नेपाल सरकारले फिल्म निर्माणमा साथ दिए अलग धारमा काम गर्ने निर्माता/निर्देशक सशक्त हुने उनको बुझाइ छ । ‘भारतमा अहिले प्रयोगात्मक फिल्मलाई सरकारले सपोर्ट गर्छ,’ उनले भने, ‘हामीचाहिँ पुरानो बलिउड शैली दोहोर्‍याएर बसेका छौं । हाम्रो माटो सुहाउँदो फिल्म बन्न सकेको छैन ।’

प्रकाशित : जेष्ठ ४, २०७५ १०:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?