कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

आईपीएल धमाका

काठमाडौँ — चेन्नाई सुपर किङ्सले उपाधि जितेसँगै यसपल्टको इन्डियन प्रिमियर लिग (आईपीएल) पनि आइतबार सकियो । विश्व क्रिकेटकै सबैभन्दा ठूलो र धनी प्रतियोगिता हो, यो । हुन सक्छ, अबका केही वर्षमा यो विश्व खेलकुदकै ठूलो अनि उत्तिकै धनी प्रतियोगिता पनि ।

आईपीएल धमाका

विश्व क्रिकेटमा आईपीएलले धेरै परिवर्तन ल्याइसकेको छ र अबका केही वर्षमा यसले विश्व क्रिकेटमा अझ ठूलो परिवर्तन ल्याउने पनि निश्चित छ । यसै वर्षको प्रतियोगितामा मात्र केन्द्रित रहँदा प्रतियोगिता कस्तो रह्यो त ? आईपीएल २०१८ लाई यी पाँच विशेषता रहे र यसैको सेरोफेरोमा पूरा प्रतियोगिता आधारित रह्यो । यो विशेषतामा सम्भावनाको अनुमान पनि गाँसिएको छ ।


महँगा खेलाडीले मात्र सफलता ल्याउँदैनन्
इंग्ल्यान्डका बेन स्टोक्सलाई किन्दा राजस्थान रोयल्सको खुसी देखिनसक्नु थियो । तर यो खुसी लामो चलेन । यी स्टार अलराउन्डरका लागि राजस्थानले १९ लाख ६० हजार डलर तिरेको थियो, यसका बदलामा उनले खालि १ सय ९६ रन बनाए अनि लिए १२ विकेट मात्र ।
निकै खर्चालु रहेको राजस्थानले जयदेव उनादकटलाई १८ लाख डलर तिरेको थियो । यी फास्ट बलरले पनि ११ विकेट मात्र लिए, त्यो पनि ९.३७ को रेटमा । किङ्स इलेभन पञ्जावले भने वेस्ट इन्डिजका क्रिस गेललाई खालि ३ लाख १४ हजार डलर तिरेको थियो, तर यी विग–हिटरले ११ खेलमा बनाए, ४ सय ५५ रन । त्यसमा तीन अर्धशतक र एक शतक सामेल थियो ।


अब्बल विदेशी कप्तान
यसपल्टको आईपीएलमा जति टिम सहभागी थिए, त्यसमध्ये विदेशी कप्तानले नेतृत्व गरेको टिम एउटै रह्यो । यो जोडी रह्यो, सनराइजर्स हैदरावाद अनि किवी खेलाडी केन विलियम्सन ।
अस्ट्ेरलियाली कप्तानद्वय स्टिभ स्मिथ र डेविड वार्नरमाथि प्रतिबन्ध लागेपछि उनीहरूले खेल्न पाएनन् । वार्नरको अनुपस्थितिमा विलियम्सनले अन्तिम समयमा नेतृत्वको अवसर पाए । तर उनी यसमा अब्बल सावित भए । एक त खेलाडीका रूपमा उनको प्रदर्शन उच्च रह्यो, १७ खेलमा ७ सय ३५ रन । उनले अफगानी खेलाडी रसिद खानलाई खुबै राम्रोसँग सदुपयोग गरे । विलियम्सनकै कारण त हो, हैदरावाद फाइनल पुगेको ।


कमालका खान
साँच्चै रसिद खान यसपल्टको आईपीएलका सबैभन्दा सफल खेलाडी सावित भए, उनी सुपर–हिरो भएर निस्के । यी १९ वर्षीय लेग स्पिनरले आफ्नो सटिक गुगलीको मद्दतले विराट कोहली र महेन्द्रसिंह धोनी जस्ता ब्याट्सम्यानलाई पनि दबाबमा राखे । उनले १७ खेल खेले अनि लिए, २१ विकेट ।
रसिदको यो प्रदर्शन पनि हैदरावाद फाइनल पुग्नु पछाडिको एउटा प्रमुख कारण रह्यो । त्यसैले त सचिन तेन्दुलकरले पनि भने, यी १९ वर्षीय रसिद क्रिकेटका सर्ट–फरम्याटका सबैभन्दा राम्रा स्पिनर हुन् । उनी मात्र होइन, अर्का अफगान स्पिनर मुजिब उर रहमानका साथै हाम्रो आफ्नै सन्दीप लामिछानेको प्रदर्शनले पनि सबैको मन छोयो ।


नयाँ स्वादको आईपीएल
रुपर्ट मुडरोचको स्टार इन्डियाले यसपल्टको आईपीएलको प्रत्यक्ष प्रसारण गरेको थियो । यसका लागि उसले भारतीय क्रिकेट बोर्डलाई २.५५ बिलियन डलर तिरेको थियो । यसक्रममा स्टार इन्डियाले ६ भाषामा कमेन्ट्री गरेको थियो ।
यसपालि कमेन्टेटर मात्र थिए, १ सय २० जना । त्यसो त एक दशकसम्म टेलिभिजन प्रसारणको अधिकार पाएको सोनीले स्टार
स्पोटर््सलाई झेल्ली गरेको आरोप पनि नलगाएको होइन, तर स्टार स्पोटर््सले यसपल्टको आईपीएल नयाँ स्वादमा पस्किने काम गरेको थियो । यसपल्टको आईपीएल स्टार स्पोटर््सले त्यसरी प्रसारण गरेको थियो, जुन यसअघि अरू कसैले गरेका थिएनन् ।

अबको आईपीएल विदेशमा ?
यसपल्टको आईपीएलको समाप्तिसँगै यसले एउटा प्रश्न पनि छाडेर गएको छ, के अबको संस्करण भारतीय भूमिमा होइन, विदेशमा हुने हो त ? यसपल्टको आईपीएलमा जति पनि खेल भयो, सबैमा सेल–आउट दर्शक आए । तर पनि हुन सक्छ, अर्को संस्करण विदेशमा हुनेछ र यसको कारण हो, अर्को वर्ष भारतमा चुनाव हुँदै छ ।


सन् २०१९ भारतमा महाचुनावको समय हो, त्यसैले हुन सक्छ, आईपीएल २०१९ पनि दुबईमा हुनेछ । यो हुनै नसक्ने तथ्य पनि होइन, आखिरमा यही आईपीएल सन् २००९ मा दक्षिण अफ्रिका तथा सन् २०१४ मा एक तिहाइ खेल यूएईमै भएको थियो । चुनावको समयमै आईपीएल पर्‍यो भने सुरक्षा व्यवस्थाकै कारण आईपीएल सर्नेछ, यसमा शंका नगरे हुन्छ ।

प्रकाशित : जेष्ठ १८, २०७५ ११:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको भन्दै प्रदेश सभामा सभामुखले गरेको घोषणाबारे तपाईंको के राय छ ?