१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

सुखद बिदाइको प्रतीक्षा

काठमाडौँ — रुसको ११ सहरमा सुरू हुने विश्वकप २०१८ ले अन्तर्राष्ट्रियस्तरमा पृथक् पहिचान बनाएका केही विश्वस्तरीय खेलाडीलाई बिदाइ गर्नेछ । बढ्दो उमेर र युवा पुस्तासँगको चर्को प्रतिस्पर्धाले गर्दा यी खेलाडीले रूसमै आफ्नो विश्वकप यात्रा टुंग्याउँदै छन् ।

सुखद बिदाइको प्रतीक्षा

विश्वकपलाई बिदाइ गर्दा ओठमा मुस्कान बोकेर बिट मार्ने प्रयासमा उनीहरु हुनेछन् ।

मार्सेलो, ३०
देश : ब्राजिल
पोजिसन : डिफेन्डर
ब्राजिलका लागि सन् २००६ मै डेब्यु गरेका डिफेन्डर मार्सेलोले राष्ट्रिय टोलीमा नियमित स्थान बनाउन लामो समय प्रतीक्षा गरेका थिए । विश्वकप २०१० पछि लगातार टोलीका सदस्य रहेका मार्सेलोले २०१३ मा कन्फेडेरेसन कप जित्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । उनले रक्षात्मक रूपमा मात्र नभएर आक्रामक रणनीतिमा पनि उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । उनको विकल्पमा फिलिपे लुइस र एलेक्स सान्ड्रो जस्ता खेलाडी रहेका हुनाले मार्सेलोका लागि विश्वकपमा प्रभाव जमाउने यो नै अन्तिम अवसर हुन सक्छ ।


राफेल मार्केज, ३९
देश : मेक्सिको
पोजिसन : डिफेन्डर
एल केइजरको नामले प्रख्यात मार्केजले २२ वर्षअघि व्यावसायिक फुटबलमा करिअर सुरु गरेका थिए । वास्तवमै रुस विश्वकप उनको अन्तिम हुने सत्य हो । उनले यसपालि सर्वाधिक पाँचपल्ट विश्वकप खेल्ने आफ्नै देशका एन्टोनियो कारबाहाल र जर्मनीका लोथर म्याथ्युजको कीर्तिमान बराबरी गर्न सक्छन् । सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका उनले फ्रान्स १९९८ को विश्वकप मात्र गुमाएका थिए । कोरिया/जापान २००२ को विश्वकपयता ‘आर्मब्यान्ड’ लगाइरहेका उनी लगातार चार विश्वकपमा कप्तानी गर्ने पहिलो खेलाडी हुन सक्छन् ।

म्यानुएल नुयर, ३२
देश : जर्मनी
पोजिसन : गोलकिपर
आधुनिक फुटबलमा गोलरक्षकको भूमिका नै परिवर्तन गराएका जर्मन नुयरका लागि यसपालि विश्वकप टोलीमा स्थान बनाउन हम्मे–हम्मे पर्‍यो । बुन्डेस लिगमा बायर्न म्युनिखका लागि खेल्दा सेप्टेम्बरमा चोट बोकेका उनले अप्रिलमा मात्र पुनरागमन गर्न सकेका थिए । प्रशिक्षक जोचिम लोले यसपल्ट टोलीमा समेटे पनि युवा खेलाडीको सुधारिएको प्रदर्शनले गर्दा उनले पहिलो रोजाइमा पर्न संघर्ष गर्न‘पर्नेछ । सन् २०१४ मा उपाधि जित्दा गोल्डेन ग्लोभ हात पारेका नुयर लगातार उपाधि जित्दै अन्तर्राष्ट्रिय करिअरलाई बिट मार्ने सुरमा हुन सक्छन् ।

राडामेल फाल्काओ, ३२
देश : कोलम्बिया
पोजिसन : फरवार्ड
चोटले रुमल्लिएको करिअरका बाबजुद फाल्काओले राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने कीर्तिमानमा आफ्नो नाम लेखाइसकेका छन् । सन् २००७ मा राष्ट्रिय टोलीबाट डेब्यु गरे पनि फाल्काओले त्यसै वर्ष भएको कोपा अमेरिका चोटका कारण गुमाएका थिए । पछिल्लो विश्वकपमा पनि उनी चोटकै कारण बाहिरै थिए । उच्च फर्ममा नरहे पनि फाल्काओ यसपालि राष्ट्रिय टोलीबाट ठूलो प्रतियोगितामा व्यक्तिगत प्रभाव देखाउने अन्तिम प्रयासमा हुनेछन् ।

थियागो सिल्भा, ३३
देश : ब्राजिल
पोजिसन : डिफेन्डर
ब्राजिलको राष्ट्रिय टोलीबाट एक दशकयता खेलिरहेका डिफेन्डर सिल्भा अब पहिलो रोजाइका पक्का खेलाडी रहेनन् । सन् २०१४ मा ब्राजिलमै सम्पन्न विश्वकपमा सिल्भाले टोलीको नेतृत्व नै सम्हालेका थिए । तर क्वाटरफाइनलमा कोलम्बियाविरुद्ध प्रतियोगिताको दोस्रो पहेँलो कार्ड पाएपछि उनले सेमिफाइनल खेल गुमाए र ब्राजिलले जर्मनीसँग ७–१ को लज्जास्पद हार बेहोर्‍यो । यसपालि उनी पछिल्लो गल्ती सुधार्दै टोलीलाई उपाधिसम्म पुर्‍याउन सहयोग गर्ने भूमिकामा हुनेछन् ।

भिन्सेन्ट कोम्पनी, ३२
देश : बेल्जियम
पोजिसन : डिफेन्डर
बेल्जियन फुटबलको नयाँ युगको पुस्ताको नेतृत्व गरिरहेका कोम्पनीले राष्ट्रिय टोलीबाट डेब्यु गरेको १४ वर्ष बित्यो । सत्र वर्षको छँदै राष्ट्रिय टोलीको जर्सी पहिरिएका उनले सन् २०१६ को युरो कप चोटका कारण गुमाए । पछिल्लो विश्वकपको क्वाटरफाइनलमा अर्जेन्टिना बाधक बने पनि यसपालि कोम्पनी सुखद अन्त्यको आशामा हुनेछन् । टोलीका अन्य डिफेन्डरले पनि खेलमा नियमित सुधार ल्याएका कारण उनले नियमित खेल्ने सम्भावना न्यून छ ।

हाभियर हर्नान्डेज, ३०
देश : मेक्सिको
पोजिसन : फरवार्ड
सन् २००९ मा डेब्यु गरेयता मेक्सिकोका लागि १ सय बढी खेल खेलिसकेका हर्नान्डेजले ४९ गोल गरेका छन् । राष्ट्रिय टोलीका लागि ५० गोलको कोसेढुंगा यसपालिको विश्वकपमा पार गर्ने योजनामा छन् । पछिल्ला दुई संस्करणमा गोल गर्दै आफ्नो प्रभाव देखाएका हर्नान्डेज यसपालि पनि त्यस लयलाई निरन्तरता दिने अभियानमा हुनेछन् ।

लुका मोड्रिच, ३२
देश : क्रोएसिया
पोजिसन : मिडफिल्डर
सन् २००६ को विश्वकपमै राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका मोड्रिचका लागि विश्वकप २०१० मा क्रोएसिया छनोट नहुनु दुर्भाग्य
रह्यो । उनको टिम चार वर्षअघि पनि समूह चरणमा मेक्सिकोसँग पराजित भएपछि नकआउट चरणमा पुग्न सकेन । क्लब फुटबलमा रियल म्याड्रिडबाट सफलताको शिखर चुमिरहेका मोड्रिचका लागि सम्भवत: यो अन्तिम विश्वकप हुनेछ । उदाउँदा युवा खेलाडी र बढ्दो उमेरका कारण उनी अहिले उच्च फर्म रहँदाको विश्वकप यादगार बनाउने सुरमा छन् ।

लियोनल मेसी, ३०
देश : अर्जेन्टिना
पोजिसन : फरवार्ड
करिअरको सुरुमा अर्जेन्टिनाले डिएगो म्याराडोनाको उत्तराधिकारी मानेका मेसीले त्यसयता आफ्नो पृथक पहिचान बनाइसकेका छन् । क्लब स्तर र व्यक्तिगत रूपमा अनेकौं सफलता हात पारेका मेसीले राष्ट्रिय टोलीमा भने अपेक्षाकृत प्रदर्शन गर्न सकिरहेका छैनन् । पछिल्लो संस्करणको फाइनलमा जर्मनीसँग पराजित भएको अर्जेन्टिनालाई यसपालि एक कदम अगाडि लगेमा मेसीले सर्वकालीन महान् खेलाडीको सूचीमा बिना कुनै विवाद आफूलाई समेट्ने छन् । सम्भवत: विश्वकप जित्न मेसीका लागि यो नै अन्तिम अवसर हुनेछ ।


क्रिस्टियानो रोनाल्डो, ३३
देश : पोर्चुगल
पोजिसन : फरवार्ड
आधुनिक फुटबलका महान् खेलाडीका रूपमा आफूलाई उभ्याएका रोनाल्डोको उपाधि कक्षमा अब विश्वकपको ट्रफी मात्र कमी छ । दुई वर्षअघि पोर्चुगललाई युरोपियन च्याम्पियनसिपको उपाधिसम्म डोर्‍याएको लयलाई रोनाल्डो रुसमा पनि निरन्तरता दिने दाउमा छन् । क्लब फुटबलमा प्रचुर सफलता हात पारेका रोनाल्डो अन्तिम विश्वकपलाई सुखद बनाउने अभियानमा छन् । क्लब फुटबलमा उचित विश्राम पाएकाले शतप्रतिशत फिट रहेका रोनाल्डोकै प्रदर्शनमा पोर्चुगलको भाग्य अडिएको छ ।

आन्द्रेस इनिस्टा, ३४
देश : स्पेन
पोजिसन : मिडफिल्डर
स्पेनको स्वर्णिम पुस्ताको मुख्य खेलाडीमध्ये एक इनिस्टाले दुईपल्ट युरो र एक विश्वकप उपाधि आफ्नो पोल्टामा पारिसकेका छन् । सन् २००६ मा राष्ट्रिय टोलीमा डेब्यु गरेयता उनले स्पेनका लागि बिरलै खेल गुमाएका छन् । सन् २०१० को विश्वकप फाइनलमा नेदरल्यान्ड्सविरुद्ध विजयी गोल गर्नु उनको करिअरको मुख्य पाटो रह्यो । राष्ट्रिय टोलीका लागि १ सय २५ खेल खेल्दै १३ गोल गरेका इनिस्टाले विश्वकपपछि अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिँदै छन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?