कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लिजेन्ड्स ११

काठमाडौँ — विश्वकप यस्तो प्लेटफर्म हो जहाँ उत्कृष्टता नदेखाएसम्म कोही विश्वको महान् खेलाडी बन्न सक्दैनन् । धेरै हदसम्म हालका उत्कृष्ट मानिएका क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको हकमा पनि त्यही लागू भइरहेको छ ।

लिजेन्ड्स ११

दुवै क्लब स्तरमा खेल्दा उत्कृष्ट खेलाडी हुन् । त्यो प्रदर्शन उनीहरूले विश्वको ग्लोबल प्रतियोगितामा खासै देखाउन सकेका छैनन् । उमेरका हिसाबले उनीहरूसामु विश्वकपकै महान् खेलाडी बन्ने अन्तिम अवसर रहेको छ । विश्वकपले महान् बनाएका उत्कृष्ट ११ खेलाडी यस्ता छन् :

पेले ब्राजिल
पेले विश्वकप तीन पटक जित्ने एक्लो खेलाडी हुन् । उनले यो सफलता १९५८, १९६२ र १९७० को विश्वकपबाट पाएका थिए । विश्व फुटबलमा एउटा यस्तो नाम, जो एक्लै फुटबलका सबै सकारात्मक पक्ष र प्रतिभाको पर्याय बन्न लायक छ । पेले त्यही खेलाडी हुन् । उनको एथलेटिक्स शैली, तीव्र गति र जादुमय प्रतिभाले विश्व फुटबलमा महान् हस्तीको सूचीमा सबैभन्दा माथि राखेको छ । १९५८ मा १७ वर्ष २ सय ४९ दिनको पेलेले सबैभन्दा कम उमेरमा विश्वकप खेल्ने कीर्तिमान बनाएका थिए । त्यही विश्वकपको फाइनलमा उनले आयोजक स्वीडेनविरुद्ध २ गोल गरेका थिए । जसको कारण ब्राजिल पहिलो पटक विश्वकप च्याम्पियन भएको थियो ।

डिएगो म्याराडोना अर्जेन्टिना
पेलेसँगै म्याराडोनालाई विश्व फुटबलको सर्वोच्च संस्थाले शताब्दीको उत्कृष्ट फुटबल खेलाडीमा चुनेको थियो । एकल प्रयासमा १९८६ को विश्वकप अर्जेन्टिनालाई जिताएपछि म्याराडोनाले गोल्डेन बलको सम्मान पाएका थिए । त्यो सम्मानभन्दा पनि क्वाटरफाइनलमा इङ्ल्यान्डलाई हराउँदा गरेका दुई गोलले उनलाई विश्व फुटबल इतिहासमा महान् खेलाडी बनायो । पहिलो गोल ‘ह्यान्ड अफ गड’ थियो । एयर बलका लागि इङ्ल्यान्डका गोलकिपर पिटर सिल्टनसँगै उफ्रेका म्याराडोनाले हेड गर्नाको साटो बललाई हातले पन्च गरेर गोलको दिशा देखाए । त्यसको चार मिनेटपछि म्याराडोनाले अर्जेन्टिनाको हाफमा बल भेटे । त्यही बललाई तीव्र गतिमा विपक्षीको पोस्टतिर लैजाने क्रममा उनले इंग्ल्यान्डका ६ खेलाडीलाई छलाएर गोलसमेत गर्न भ्याए । यो त्यही गोल थियो, जसले २००२ को फिफा सर्वेक्षणमा शताब्दीको उत्कृष्ट गोलको उपाधि पायो । म्याराडोनाले चार विश्वकप खेल्नेक्रममा १९९० मा अर्जेन्टिनालाई फाइनलमा पुर्‍याए ।

गारिन्चा ब्राजिल
बायाँ खुट्टा दायाँभन्दा केही छोटो भए पनि गारिन्चा विश्व फुटबलले अहिलेसम्म पाएका सबैभन्दा उत्कृष्ट ड्रिब्लिङ गर्ने खेलाडी हुन् । १९५८ र १९६२ मा गरी दुई पटक विश्वकप उपाधि जितेका उनले पछिल्लो संस्करणमा गोल्डेन बल पाएका थिए । १९६२ को संस्करणमा ब्राजिली प्रेरणास्रोत पेले घाइते भएपछि गारिन्चाले इंग्ल्यान्ड र चिलीविरुद्ध चार गोल गरेका थिए । ९ वर्ष ब्राजिली राष्ट्रिय टोलीबाट खेल्ने क्रममा गारिन्चाले आफ्नो अन्तिम खेलमा मात्र पराजय बेहोर्नुपर्‍यो । त्यो पराजय १९६६ को विश्वकपमा थियो ।

फ्रान्ज बेकेनबाउर पश्चिम जर्मनी
फ्रान्सका वर्तमान प्रशिक्षक डिडियर डेसच्याम्पको एउटै लक्ष्य छ बेकेनबाउर बन्ने । हुन पनि खेलाडी र प्रशिक्षक दुवै भूमिकामा विश्वकप जित्ने बेकेनबाउर अहिलेसम्मका एकमात्र फुटबलर हुन् ।
१९७४ मा कप्तानका रूपमा पश्चिम जर्मनीलाई विश्वकप जिताएका बेकेनबाउर टोलीले १९९० मा पुन: विश्वकप जित्दा प्रशिक्षक थिए । डेसच्याम्पको कप्तानीमा फ्रान्सले १९९८ को विश्वकप जितेको थियो । खेलाडीका रूपमा ‘ट्याक्टिकल मास्टर’ को उपनाम पाएका बेकेनबाउरले रक्षापंक्तिदेखि मिडफिल्डसम्म खेल नियन्त्रण गर्ने क्षमता राख्थे । टोली दबाबमा रहेको समय बलसँगै पूरा खेल विपक्षीको भागमा उल्टो दबाब दिलाउन सक्षम रहने बेकेनबाउर आक्रामक स्वभावका रक्षक थिए । रक्षापंक्तिका खेलाडी भएर पनि विपक्षीलाई उनी एउटा स्ट्राइकरसरह दबाबमा राख्ने गर्थे ।

योहान क्राएफ नेदरल्यान्ड्स
विश्वकप नजित्ने सर्वोत्कृष्ट खेलाडीका रूपमा सबैभन्दा अगाडि क्राएफको नाम लिइन्छ । क्राएफको तीव्र गति, छरितोपन र भिजन अहिले आधुनिक फुटबलमा ‘टोटल फुटबल’ को नामले परिचित छ । सेन्ट्रल फरवार्डको भूमिकामा खेले पनि उनी विंग्स र मिडफिल्डबाट पनि विपक्षीलाई कायल बनाउन सक्षम हुन्थे । क्राएफ र उनको नेदरल्यान्ड्सले १९७४ को विश्वकपमा फाइनल यात्रा गर्‍यो । यो यात्रामा टोलीले एक गोलमात्र खर्चेको थियो । फाइनलमा पश्चिम जर्मनीसँग पराजित हुनुअघि टोलीले सबै खेल जितेको थियो ।

लोथर म्याथ्युज जर्मनी
म्याथ्युजको नाममा विश्वपकमा सबैभन्दा बढी सहभागिता जनाउने कीर्तिमान छ । उनले १९८२ देखि १९९८ सम्म गरी पाँच विश्वकप खेल्नेक्रममा २५ खेलमा सहभागिता जनाए । त्यसक्रममा १९८६ मा पश्चिम जर्मनीको टोलीमा रहेर फाइनल खेले भने त्यसको चार वर्षपछि जर्मनीलाई विश्वकप उपाधि नै दिलाए । म्याथ्युजले ९० को विश्वकपमा तत्कालीन युगोस्लाभियाविरुद्ध गरेको गोल प्रतियोगिताको उत्कृष्ट गोलमा पर्छ । जर्मन राष्ट्रिय टोलीबाट २० वर्ष खेल्ने क्रममा उनले १ सय ५० ‘क्याप’ जितेका छन् । उनी डिफेन्स र मिडफिल्ड दुवैमा उत्तिकै पोख्त थिए ।

रोमारियो ब्राजिल
विश्वकप १९९४ का गोल्डेन बल विजेता रोमारियोको प्रेरणाले ब्राजिलले उक्त संस्करण जितेको थियो । आक्रमणमा निकै चुस्त रोमारियो विश्वकपको एउटै संस्करणमा मात्र भए पनि मजाले जमेका खेलाडी हुन् । १९९४ मा देशलाई विश्वकपको चौथो उपाधि जिताएका उनलाई चार वर्षपछि भने प्रशिक्षक कार्लोस अल्बर्टो परेराले तत्कालीन ब्राजिली राष्ट्रपतिको अनुरोधसमेत लत्याउँदै टोलीबाट निकालेका थिए ।

रोबर्टो बाजियो इटाली
रोबर्टो बाजियो १९९० को विश्वकपबाट उदाए, चर्चा भने १९९४ को विश्वकपले दिलायो । १९९४ को अमेरिका विश्वकपमा ‘पोनी टेल’ बाजियोले फाइनलमा पेनाल्टी खेर फालेपछि रोएको सम्झन्छन् । कमजोर इटालीलाई एक्लो प्रयासमा फाइनल पुर्‍याएका उनैले ब्राजिलविरुद्धको टाइब्रेकरमा पेनाल्टी खेर फालेपछि टोली उपाधिबाट वञ्चित भएको थियो । यदि फाइनलमा पेनाल्टी खेर नफालेको भए उनी कुनै पनि टिमलाई एकल प्रयासमा उपाधि जिताउने सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुने थिए ।


रोनाल्डो ब्राजिल
ब्राजिलले १९९४ को विश्वकप जित्दा १७ वर्षे रोनाल्डो टोलीका सदस्य थिए, तर उनले एउटै खेल खेलेका थिएनन् । त्यही अनुभवले उनलाई खरो रूपमा उतार्‍यो । ब्राजिललाई
२००२ को विश्वकप उपाधि पनि दिलाएका रोनाल्डोको नाममा कुल १५ गोल छ । १९९८ को फाइनलअघि अचानक रहस्यमय ढंगले उनी अस्वस्थ हुँदा ब्राजिलले उपाधि आयोजक फ्रान्सलाई सुम्पेको थियो । चार वर्षपछिको संस्करणमा रोनाल्डोको प्रदर्शन त्यस्तो रहेन । उनकै उच्च प्रदर्शनप्रेरित ब्राजिलले पाँचौं पटक विश्वकप उपाधि उचाल्यो । ब्राजिलले एसियाली भूमिमा गरेका कुल १८ गोलमध्ये रोनाल्डोले मात्र आठ गोल गरे । फाइनलमै दुई गोल गरेका उनले इङ्ल्यान्डबाहेक सबै प्रतिद्वन्द्वीविरुद्ध १–१ गोल गरेका थिए ।

जिनेदिन जिदान फ्रान्स
आधुनिक फुटबलमा सर्वगुण सम्पन्न खेलाडीमा जिदानलाई लिइन्छ । फ्रान्सलाई १९९८ को विश्वकप जिताउने क्रममा फाइनलमा ब्राजिलविरुद्ध दुई उत्कृष्ट हेड गोल गरेपछि जिदान विश्व फुटबलमा महान् खेलाडीमा उभिए । एक दशकभन्दा लामो समय फ्रान्सेली फुटबललाई प्रेरणा दिएका उनी विश्वकप २००६ का गोल्डेन बुट विजेता हुन् । २००६ मा फ्रान्सलाई फाइनलसम्म डोहोर्‍याएका उनले उपाधि भिडन्तमा इटालीका मार्को माटेराजीलाई चर्चित ‘हेड बट’ प्रहार गरेर रातो कार्ड खाँदै मैदान छोडेपछि फ्रान्स उपाधिबाट विमुख भएको थियो ।

मिरोस्लाभ क्लोज जर्मनी
क्लोजले विश्वकपमा सर्वाधिक गोलको आफ्नो नाममा लेखाउने क्रममा अन्य थुप्रै कीर्तिमान बनाएका छन् । २००२ को विश्वकपमा उनले ५ गोल गरेका थिए, सबै हेडबाट । उनले एकै प्रतियोगितामा ५ हेड गोलको कीर्तिमान बनाए । जर्मनीलाई फाइनलसम्म डोर्‍याउनेक्रममा उनी दोस्रो सर्वाधिक गोलकर्ता थिए । ६ फिट अग्ला यी स्ट्राइकरले आफ्नो उचाइको भरपुर उपयोग गरे । २००६ को विश्वकपमा उनले पुन: ५ गोल गरे । २०१० को विश्वकपमा उनको नाममा ४ गोल रह्यो । त्यसमा अर्जेन्टिनासँगको क्वार्टरफाइनलमा दुई गोल गर्दै विश्वकपमा गर्ड मुलरले गरेको सर्वाधिक १४ गोलको कीर्तिमान बराबरी गरे । २०१४ मा घानासँगको खेलमा गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान बराबरी गरेका क्लोजले सेमिफाइनलमा ब्राजिलसँगै गोल गर्दै विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमान पनि आफ्नो नाममा लेखाएका थिए । उक्त खेल जर्मनीले ७–१ ले जितेको थियो । जर्मनीलाई २०१४ को विश्वकप जिताएको एक महिनापछि क्लोजले अन्तर्राष्ट्रिय खेल जीवनबाट संन्यास लिए । विश्वकपमा उनले कुल २४ खेल खेल्दै १६ गोल गरे । उनी लगातार चार विश्वकप सेमिफाइनल खेल्ने एक्लो खेलाडी हुन् ।

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?