कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उदीयमान खेलाडी

काठमाडौँ — विश्वकप खेल्नु आफैंमा ठूलो अनुभव हो । यस स्तरमा दिग्गज खेलाडीले आफ्नो छाप बसाउन चुकेका धेरै उदाहरण छन् ।

उदीयमान खेलाडी

यद्यपि कम उमेरका बाबजुद विश्वकपमा धमाका मच्चाउने खेलाडी नभएका भने होइनन् । त्यसैलाई निरन्तरता दिन यसपालि रुसी विश्वकपमा आफ्नो छाप बसाउन तत्पर युवा खेलाडीहरू :

किलियन एमबाप्पे
देश : फ्रान्स
उमेर : १९
पोजिसन : फरवार्ड
युवावस्थामै एएस मोनाकोका लागि च्याम्पियन्स लिगमा अद्भुत प्रदर्शन गरेका एमबाप्पे हाल पेरिस सेन्ट जर्मेनबाट खेल्दै आएका छन् । १९ वर्षको उमेरमै उनी विश्वकपमा फ्रान्सको आक्रमणका भरपर्दा खेलाडीको भूमिकामा देखिएका छन् । विश्लेषकहरूले ब्राजिलका रोनाल्डोसँग तुलना गरिएका उनी फ्रान्सलाई विश्वकप उपाधिसम्म पुर्‍याएर पृथक् पहिचान बनाउने कसरतमा हुनेछन् ।

मार्कस रासफर्ड
देश : इंग्ल्यान्ड
उमेर : २०
पोजिसन : फरवार्ड
म्यानचेस्टर युनाइटेडमा भाग्यवश पाएको अवसर सदुपयोग गर्दै रासफर्डले राष्ट्रिय टोलीसम्मको यात्रा तय गरे । उमेर समूहमा आफूलाई सिद्ध पारेका उनले सिनियर टोलीबाट पनि ‘डेब्यु’ मा गोल गर्दै निकै आशा दिलाएका छन् । इंग्ल्यान्डका समर्थकहरूले रासफर्डमा दीर्घकालीन रूपमा इंग्ल्यान्डको आक्रमणको समस्या सुल्झाउने सम्भावना पनि देखेका छन् । समूह चरणका सुरुका खेल केही सहज भएकाले उनीबाट राम्रो प्रदर्शन अपेक्षा गरिएको छ ।


जिओभानी लो सेल्सो
देश : अर्जेन्टिना
उमेर : २१
पोजिसन : मिडफिल्डर
राष्ट्रिय टोलीका लागि गत वर्ष मात्र डेब्यु गरेका लो सेल्सोले पछिल्लो समय आफ्नो खेलमा धेरै सुधार ल्याएका छन् । पेरिस सेन्ट जर्मेनको पहिलो रोजाइमा नियमित खेलिरहेका उनले मिडफिल्डलाई सन्तुलित बनाउने छन् । सेल्सोको तुलनामा अर्जेन्टिनी मिडफिल्डमा ठूला नाम भए पनि प्रशिक्षक जोर्गे साम्पाओलीलाई टोली छनोटको समयमा गम्भीर सोच भने गर्नुपर्नेछ ।

डेभिन्सन सान्चेज
देश : कोलम्बिया
उमेर : २१
पोजिसन : डिफेन्डर
युरोपेली फुटबलमा कलिलो उमेरमै आफ्नो छाप बसाएका सान्चेज अन्तर्राष्ट्रियस्तरमा भने पहिलोपल्ट ठूलो भूमिकामा हुनेछन् । डच टोली अयाक्सबाट इंग्लिस प्रिमियर लिगको टोटेनहम हर्टस्पर आइपुगेका सान्चेजले टिममा आफ्नो स्थान बनाउन लामो कसरत गर्न‘परेन । कोलम्बियाको डिफेन्सको मुख्य खम्बा रहेका सान्चेजको प्रदर्शन नै विश्वकप यात्राको मुख्य आधार हुनेछ ।

अक्रफ हाकिमी
देश : मोरोक्को
उमेर : १९
पोजिसन : डिफेन्डर
स्पेनको म्याड्रिडमा जन्मेर रियल म्याड्रिडको एकेडेमीमा हुर्केका हाकिमीले बाबुआमा मोरोक्कोका भएका कारण स्पेनी टिमबाट खेल्ने अवसरलाई छाड्ने निर्णय लिएका थिए । उमेर समूहका प्रतियोगिता मोरोक्कोबाट खेलेका उनले २०१६ मै राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । कलिलो उमेरमै रियलको सिनियर टोलीमा अटाएका हाकिमी कर्भाजलको अनुपस्थितिमा रियलको राइट डिफेन्स सम्हाल्दै आएका छन् । मोरोक्कोको डिफेन्समा उनी भरपर्दा खेलाडीका रूपमा दरिएका छन् ।

रोडरिगो बेन्टान्कुर
देश : उरुग्वे
उमेर : २०
पोजिसन : मिडफिल्डर
इटालियन क्लब युभेन्ट्सका लागि सिनियर टोलीमा आफूलाई स्थापित गरिसकेका मिडफिल्डर बेन्टान्कुरले डेब्यु गरेको केही महिनामात्र भएको छ । यसबीचमा उनले राष्ट्रिय टोलीमा आफ्नो स्थान पक्का पारिसकेका छन् । मिडफिल्डमा आक्रामक र रक्षात्मक दुवै भूमिकामा अटाउने युवा खेलाडीको उचाइले पनि उनलाई फाइदा पुगेको छ । स्टार फरवार्डद्वय लुइस सुआरेज र एडिन्सन काभानीलाई अग्रपंक्तिमा सघाउने काम पनि उनले गर्ने अपेक्षा राखिएको छ ।

प्रकाशित : जेष्ठ २९, २०७५ ११:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?