कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनिलको थिएटर यात्रा

‘पैसाले दिन नसक्ने सुख नाटकले दिइरहेको छ ।’

काठमाडौँ — तेस्रोलिंगीहरूले समाजमा बेहोरेका पीडा देखाइन्छ ‘जिउँदो आकाश’ मा । यो नाटकमा युवा रंगकर्मी अनिल सुब्बाको अभिनयको सबैले प्रशंसा गरेका छन् । त्यसैबाट अनिललेचर्चा बटुले । केही अघि थिएटर ओलम्पिकमा दिल्ली र गुवाहटीमासमेत नाटक प्रदर्शन गरिसकेका अनिल अहिले मोफसलमा व्यस्त छन् ।

अनिलको थिएटर यात्रा

‘विभिन्न जिल्लाहरूवाट नाटक देखाइदिनुपर्‍यो भनिरहेका छन् तर हामी भ्याइरहेका छैनौं,’ पोखरा, दमकपछि बिर्तामोडमा नाटक देखाउन आइपुगेका अनिलले भने । झापाको सीमावर्ती इलामस्थित चुलाचुलीका उनी २०६४ ताका नै गाउँमा सडक नाटक, कचहरी गर्दै हिँड्थे । यही मेसोमा गन्तव्य थिएटरका निर्देशक प्रकाश आङ्देम्बेसँग नजिकिए । अनिलले गन्तव्यबाट ‘बेरङ रङहरू’ मा अभिनय गर्ने अवसर पाए । त्यसअघि उनी गाउँमा सडक नाटकमा छोटो भूमिकामा देखिएका थिए । त्यस बेलासम्म उनलाई नाटकबारे खास जानकारी थिएन । लहैलहैमा अभिनय गरेका उनी त्यसपछि भने दर्शकप्रति लोभिँदै नाटकतिर आकर्षित भएका हुन् ।

‘खासमा नाटकमा रस भिजेको त्यही बेलादेखि नै हो,’ २१ वर्षीय अनिलले पुरानो कुरा सम्झिए, ‘पछि नाटकले नै गन्तव्य थिएटर हुँदै काठमाडांैतिर डोर्‍यायो ।’ उनी पाँच वर्षअघि गाउँमा शिल्पीकै थिएटर स्याहारेर बसेका थिए । शिल्पी थिएटरले नाटक सिक्न छात्रवृत्ति दिने भएपछि उनी राजधानीतिर लागेका थिए । उनले सुनील पोखरेलसँग ‘डिस्कभरी योर सेल्फ’ पनि सिके ।


प्रशिक्षणपछि अनिलले शिल्पीमा ‘स्टोरी टेलर’ को काम गरे । बाल्यकालको सम्झनालाई रोचक ढंगले १५ मिनेटमा प्रस्तुत गरेर उनले दर्शकको मन जितेका थिए । ‘त्यसैबाट मलाई धेरैले चिने । विश्वास गरे,’ अनिल भन्छन् । त्यसले उनलाई ‘जिउँदो आकाश’ को निर्देशक आरके मेहता रोशनको सम्पर्कमा पुर्‍याएको थियो ।


पशुपति राईको ‘धोचालेचा’ मा अभिनय गरेपछि उनी अझ परिचित बने । उपेन्द्र सुब्बाको ‘लाटो पहाड’ मा आइते माइलाको चरित्रले उनको करिअरको ग्राफ ह्वात्तै बढाइदियो । अनि उनलाई नियमित नाटक खेल्ने प्रस्ताव आउन थाल्यो । शेक्सपियरको कथामा सुनील पोख्रेलको परिकल्पनामा मञ्चन गरिएको ‘मिट्स सम नाइट’ देखि मनबहादुर मुखियाको ‘अनि देउराली रुन्छ’, शिव रिजालको ‘दीक्षान्त’ हुँदै ‘हरियो ढुंगा’ सम्म आइपुग्दा उनको अभिनय सशक्त देखिएको छ ।


जिउँदो आकाश उनको सम्पर्क बडो रोचक छ । करिब तीन वर्षअघि दोलखामा आयोजित राष्ट्रिय नाटक महोत्सवमा जिउँदो आकाश प्रदर्शन गरिएको थियो । त्यो वेला अनिलले चाहिँ आफ्नै गाउँको अग्र्यानिक स्वादमा ‘देवाङ्सी राजा’ देखाएका थिए । पछि काठमाडौंमा भेट भएपछि आरके मेहताले उनलाई स्क्रिप्ट दिँदै भनेछन्, ‘अब जिउँदो आकाश गर्ने जिम्मा तपाईंको ।’ अनिलले हुन्छ त भने तर कसरी गर्ने भन्ने चिन्ताले उनको निद हराम गरिदियो । मेहता अध्ययनका लागि इटाली पुगे । उनी फर्केपछि स्क्रिप्टमा केही परिवर्तन गरेर अनिलसँगै उक्त नाटक तयार पारे ।


केही गर्ने योजनाका साथ नाटकमा आएको उनले सुनाए । उनी सधैं काम राम्रो गर्ने प्रयत्नमा अहोरात्र खट्ने गर्छन् । नाटकको कमाइले उनको सामान्य जिन्दगी चलेको छ । उनलाई पैसाप्रति त्यति मोह छैन । सम्पत्ति कमाउने मन भएको भए यिनी कि विदेश भाग्थे, कि त लाहुर लाग्थे । तर, दुवै नरोजेर नाटक रोजे, जहाँ पैसा खासै हुँदैन । ‘पैसा नभए पनि आत्मसन्तुष्टि प्रशस्तै छ,’ अनिल भन्छन्, ‘पैसाले दिन नसक्ने सुख नाटकले दिइरहेको छ ।’

[email protected]

प्रकाशित : असार १, २०७५ ११:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?