कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विश्वकपमा सट्टेबाजीको धन्दा

एउटै खेलमा डेढ लाखसम्मको बाजी ।
अन्तरदेशीय रुपमा अनलाइनमार्फत सट्टेबाजीको धन्दा चलाउनेहरू पनि विश्वकप सुरु भएयता काठमाडौंमा सक्रिय देखिएका छन् ।
जनकराज सापकोटा

काठमाडौँ — गत साेमबार (असार १८ गते) रत्नपार्कदेखि लाेकन्थली जाने सार्वजनिक बसमा सवार एक अधबैंसेले छेवैमा रहेका सहयात्रीलाई आफूले कसरी वर्ल्डकपको बाजीमा रकम गुमाए भनेर संक्षिप्तमा सुनाए । उनले उदास हुँदै आफूले बाजीमा बीस हजार रुपैयाँ हारिसकेको बताए र भने, ‘यो महिनाको तलब बाजी हारेरै जाला जस्तो छ ।’

विश्वकपमा सट्टेबाजीको धन्दा

ती तन्नेरीले एकैछिनमा ब्राजिल र मेक्सिकोबीच हुने गेमका निम्ति फोनबाटै एक साथीसँग पाँच हजारको बाजी ठोके । त्यसपछि उनले मुस्कुराएको शैलीमा भने, ‘आजको बाजी त कसो नजितिएला । हारको रकम असुलउपर नगरी भा’छैन ।’

जारी विश्वकपको हार र जितको शृंखलामा बाजी ठोकेर रकम कमाउने र गुमाउनेहरूको ठूलो संख्या नेपालमै छ भन्ने बुझ्नका लागि सार्वजनिक बसमा सुनिएको संवादको अंश नै काफी छ । प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकारीका अनुसार ठूलो स्क्रिन र प्रोजेक्टरमार्फत फुटबल देखाइएको काठमाडौंका अधिकांश स्थानमा संगठित र असंगठित दुवै तवरबाट बाजी चलिरहेको छ । प्रहरीका अनुसार अन्तरदेशीय रूपमा अनलाइनमार्फत सट्टेबाजीको धन्दा चलाउनेहरू पनि विश्वकप सुरु भएयता काठमाडौंमा सक्रिय देखिएका छन् ।

रुसमा जारी विश्वकपमा भएको हारजितमा नेपाली समर्थकहरूमा पनि हाँसो–खुसी र हारको शोक मात्रै मिसिएको छैन, कसले जित्ने, कसले हार्नेदेखि कति मिनेटमा कति गोल हुने र कसले गोल हान्ने भन्नेसम्म बाजी लगाएर हार र जितसँगै पैसा कमाउने र गुमाउनेको खुसी र विस्मात् पनि मिसिएको छ । सार्वजनिक बसमा सुनिएको एक सामान्य तन्नेरीको हारको कथा त्यसैको एउटा प्रतिनिधि उदाहरण हो ।

प्रहरी परिसर काठमाडौंले असार १८ गते जारी विश्वकपमा बाजी लगाउने धन्दा चलाएको आरोपमा बालाजु बस्ने २२ वर्षीय प्रकट महर्जन, रामघाट बस्ने २२ वर्षकै रेजिन महर्जन र चागल बस्ने २५ वर्षका सुजेन शाहीलाई पक्राउ गर्‍यो । प्रहरीले उनीहरूका साथबाट ६ लाख ९९ हजार र उनीहरूले प्रयोग गर्दै आएको चार थान मोबाइल पनि बरामद गर्‍यो । प्रहरीका अनुसार उनीहरूले ब्राजिल र मेक्सिकोबीचको गेममा हारजितको बाजी खेलाउँदै अवैध सट्टेबाजको धन्दामा लागेका थिए । पक्राउ परेकाहरूलाई प्रहरीले जुवा ऐन २०१९ अनुसार कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा बाजीको धन्दा चलाउने अन्तर्राष्ट्रिय गिरोहहरूलाई प्रहरीले पक्राउ गरेका घटना यसअघि पनि सार्वजनिक नभएका होइनन् । प्रहरीले असार १० मा आईपीएल क्रिकेटमा सट्टेबाजीको नाममा रकम उठाउने धन्दामा सक्रिय नागराज भनिने नथमल अग्रवाललाई पक्राउ गरेको थियो । जनकपुर घर भई काठमाडौंको पानीपोखरी बस्ने अमृत भन्ने नथमलले क्रिकेटको सट्टेबाजीमा २ करोड ४० लाख ठगी गरेको आरोप प्रहरीले लगाएको थियो ।

विश्वकपमा सट्टेबाजीको खेल खेलाएर पक्राउ परेका चार युवक र नागराजको पक्राउको घटनाले अन्तर्राष्ट्रिय खेल प्रतियोगिताका नाममा कसरी अवैध सट्टेबाजीको धन्दा गुपचुप चलिरहेको छ भन्ने देखाउँछ । प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विश्वराज पोख्रेलका अनुसार जारी विश्वकपका नाममा राजधानीमा करोडौंको जुवा खेलाउने काम भइरहेको छ । पोख्रेलले काठमाडौंमा एसएमएस, अनलाइन र भेटघाटमार्फत तीनै तरिकाबाट बाजी खेलाउने काम भइरहेको छ । प्रहरीका अनुसार जुवाको जारी धन्दामा स–साना समूहदेखि अन्तरदेशीय ठूला गिरोहसम्म संलग्न छन् ।

एसएसपी विश्वराज पोख्रेलले एउटै गेममा बीस–पच्चीस हजारदेखि डेढ लाखसम्मको बाजी ठोकेको सूचना आफूले पाएको बताए । उनले अनलाइनमार्फत खेलाइने बाजीमा गेम जारी रहँदा रेट घटबढ गराइनेसम्मको काम भइरहेको बताए । ‘हाफ टाइमअघि र हाफ टाइमपछिको रेट फरक–फरक छ,’ उनले भने, ‘यो त कौडामा च्याँखे थापेजस्तो देखिन्छ ।’


प्रहरी परिसर काठमाडौंले बाजी खेल्ने र खेलाउनेबारे प्रमाणसहितका सूचना आए छापा मार्ने र पक्राउ गरी कानुनी कारबाही चलाउने प्रक्रिया अगाडि बढाएको छ । प्रहरीले पक्राउ परेकाहरूलाई जुवा ऐन २०१९ अनुसार कारबाही चलाए पनि पुरानो र थोरै सजाय भएको कमजोर ऐनका कारण निर्बाध सट्टेबाजीको धन्दा चलिरहेको छ । एसएसपी पोख्रेलले भने, ‘सट्टेबाजीको धन्दा रोक्न बलियो प्रहरी अनुसन्धान र कानुनको खाँचो रहेको छ ।’

[email protected]

प्रकाशित : असार २२, २०७५ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?