कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ जोडी

ब्लकबस्टर मराठी फिल्म सैराटको हिन्दी रिमेक धड्कमा ‘स्टार किड’ इशान खत्तर र जान्भी कपुरले अभिनय गरेका छन् । धड्कबाट यो जोडी धुमधडाका गर्ला त ?

काठमाडौँ — स्टार किड’ लाई डेब्यु गराउन खप्पिस छन्, करण जोहर । नातावादलाई प्रश्रय दिएको भन्दै उनको आलोचना पनि हुन्छ । तर उनका ब्यानरबाट अभिनय सुरु गरेको जोकोहीले लोभलाग्दो ख्याति कमाएका छन् । वरुण धवन, सिद्धार्थ मल्होत्रा र आलिया भट्ट पछिल्लो उदाहरण हुन् ।

नयाँ जोडी

स्टुडेन्ट अफ द इयरबाट करिअर सुरु गरेका यी तीन कलाकार यतिबेला ‘पिक’ मा छन् । उनीहरूको क्रेज मात्र होइन, अभिनय कौशलको पनि उस्तै प्रशंसा गरिन्छ । अनि त, दुनियाँले जे भनोस्, करण किन पछि हट्थे र ? त्यसकै प्रमाण हुन्, इशान खत्तर र जान्भी कपुर । करणले आफ्नो होम प्रोडक्सनको धड्कबाट यो जोडीलाई चम्काउने प्रयास गर्दैछन् ।


कलाकारद्वय राजेश खत्तर र नीलिमा अजिमका पुत्र हुन्, इशान । शाहिद कपुरचाहिँ उनका दाइ (आमा एउटै, बुबा फरक) हुन् । त्यसैले भन्नै परेन, उनी फिल्मी वातावरणमै हुर्किए । त्यस्तो त, धड्क उनको पहिलो फिल्म होइन । अघिल्लो वर्ष उनी अभिनीत वियोन्ड द क्लाउड्स रिलिज भएको थियो, जसलाई निर्देशन गरेका थिए, ‘भेट्रान’ माजिद माजिदी । फेस्टिभलहरूमा पर्याप्त चर्चा बटुले पनि यो फिल्म मूलधारको थिएन, त्यसैले मास अडियन्सले इशानलाई चिन्न पाएका छैनन् । धड्कबाट त्यही अभाव पूर्ति गर्ने प्रयास गरेका छन्, इशानले ।


उता, जान्भी त दिवंगत अभिनेत्री श्रीदेवी र निर्माता बोन्नी कपुरकी छोरी भइहालिन् । अर्जुन कपुरचाहिँ उनका सौतेनी दाइ । श्रीदेवी जीवित छँदै धड्कको सुटिङ करिब सकिएको थियो । श्रीदेवीको चाहमै खेलेकी थिइन् । तर आमाले फिल्म हेर्न पाइनन् । सोही कारण जान्भीले धड्कमा आफ्नो ‘भावना जोडिएको’ बताउँदै आएकी छन् । फिल्मलाई ‘हाइप’ दिलाउन माहिर करण जोहरले अनेक प्रयास गरिरहेका छन् । सामाजिक सञ्जालमा यो जोडीलाई खुब रुचाइएको छ । कतिसम्म भने उनीहरू ‘रियल लाइफ’ मा पनि प्रेममा छन् भन्ने खबर सार्वजनिक भएका छन् । प्रेमको प्रश्न सोध्दा दुवै मुस्कुराउँछन् मात्र । फेरि बलिउडमा फिल्म रिलिजको पूर्वसन्ध्यामा हिरो–हिरोइनको अफेयरको चर्चा हुनु नौलो होइन । आलियाकै नाम कहिले सिद्धार्थसँग जोडियो, कहिले वरुणसँग । त्यसैले फिल्म पब्लिसिटीको फन्डा मात्र पनि नहोला भन्न सकिन्न, इशान–जान्भीको अफेयर ।


तर धड्क प्रतीक्षित बन्नुको कारण यति मात्र अवश्य होइन । यसको आफ्नो विशेष गुण छ । यो सन् २०१६ मा प्रदर्शित मराठी फिल्म सैराटको हिन्दी रिमेक हो । चार करोड भारुमा बनेको सैराटले १ सय १० करोड कमायो, त्यो पनि मराठी भाषामा मात्र । निर्माताले अन्य भाषामा डबिङ गर्न इन्कार गरेका थिए । भारतीय लोकतन्त्रको अनेक दागमध्ये एक हो, ‘अनर किलिङ’ । अन्तरजातीय र अन्तरधार्मिक विवाहपछि परिवारले कथित इज्जत जोगाउन आफ्नै सन्तानको हत्या गर्ने घटना भारतमा दिनानुदिन बढ्दै छ । सन् २०१५ मा सोलापुरमा यस्तै ‘अनर किलिङ’ भएको थियो । यही घटनामाथि निर्देशक नग्राज मज्जुलेले सैराट बनाएका थिए । फिल्मले नसोचेको सफलता पायो । दर्शकको यति भीड लाग्यो कि हलमा चौबिसै घण्टा फिल्म लगाउनु पर्‍यो । मध्यरातका शो पनि हाउसफुल हुन्थे । इन्टरनेट मुभी डाटाबेस (आईएमडीभी) ले नै १० मा ८.५ रेटिङ दिएको छ । मुख्य भूमिका थिए, रिंकु राजगुरु र आकाश थोकर । फिल्म रिलिजको भोलिपल्ट कडा सुरक्षाकिना हिँड्नै नसक्ने भए, जता गए पनि दर्शकले पछ्याउने । रिंकुले त नेसनल अवार्ड नै जितिन् । भारतीय मिडियाले लेखेका थिए, ‘सैराटले खास अर्थको जादू देखायो । रिंकु र आकाशलाई ‘ओभरनाइट’ स्टार बनायो ।’


धड्कले ‘लिगेसी’ लाई निरन्तरता देला ? रिंकु र आकाशझैं इशान र जान्भी सर्वप्रिय बन्लान् ? यही प्रश्न इशानलाई सोधिएको थियो, धड्कको ट्ेरलर लन्च इभेन्टमा । उनले मुस्कुराउँदै जवाफ दिएका थिए, ‘सफलता/असफलता भोलिको कुरा । हामीले हाम्रातर्फबाट सक्दो प्रयास गरेका छौं । मेरा लागि भन्नुहुन्छ भने सैराटजस्तो महान् फिल्मको रिमेकमा खेल्न पाउनु सपनाजस्तै हो ।’


शशांक खैतान निर्देशित धड्क जुलाई २० मा रिलिज हुँदै छ ।
–एजेन्सीको सहयोगमा

प्रकाशित : असार २९, २०७५ १०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?