कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘भूगर्भविद्’ का संसार

विमल खतिवडा

काठमाडौँ — पछिल्लो समय जियोलोजी लिएर पढ्ने विद्यार्थीको संख्या बढ्दो छ । त्यसमा पनि भूकम्पपछि जियोलोजी सबैको चासोको विषय बन्न पुग्यो । यही विषयको अध्ययन र काम गरिरहेकाहरुको अनुभव :

‘भूगर्भविद्’ का संसार

नयाँ बानेश्वरकी २४ वर्षीया बादल पोखरेलको सुरुवाती इच्छा डाक्टरी थियो । तर, असफल भएपछि उनको उद्देश्य बन्यो– जियोलोजी । उनी त्रिचन्द्रमा जियोलोजीमा मास्टर्स गर्दैछिन् । यो विषय पढेकैले नेपालका ढुंगा र माटोसँग परिचित हुन पाएको उनको अनुभव छ । ‘काठमाडौं बाहिर नगएको म यही विषयका कारण धेरै ठाउँमा पुग्न पाएकी छु,’ उनी भन्छिन् ।


उनी इन्जिनियरिङ जियोलोजी (इन्जिनियरिङ भूगर्भशास्त्र) को मास्टर्स फोर्थ सेमेस्टरमा अध्ययनरत छिन् । यो उनको अन्तिम सेमेस्टर हो । उनी रसुवामा भूकम्पका कारण सिर्जित पहिरोको विषयमा थेसिस लेखिरहेकी छन् । थेसिस लेख्नकै लागि उनले रसुवाका डाँडाकाँडा चहारिन्, आफ्ना साथीहरूसँग ।


चितवनका किशोर आचार्यलाई जियोलोजीले नेपालदेखि फ्रान्ससम्म डोर्‍याइसकेको छ । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा मास्टर्स गर्दैगर्दा उनलाई फ्रान्स पुगेर
युनिभर्सिटी अफ सबुवामा पढ्ने मौका जुर्‍यो । दुई वर्ष फ्रान्स बसाइमा उनले थेसिस पनि पूरा गरे ।


फ्रान्सको लियोदेखि इटालीको टुरिन जोड्ने फास्ट ट्रयाकका लागि ५७ किलोमिटर लामो टनेल बन्दै थियो । ‘त्यसको प्रारम्भिक काममा मैले काम गरें,’ उनी भन्छन्, ‘चट्टान कति बलियो छ, त्यसमा हालिने रक बोल्ट ठीक तरिकाले राखिएको छ, छैन हेर्थे ।’ सन् २०१३ मा फ्रान्स गएका उनी २०१६ मा नेपाल फर्किए । उनी अहिले पुनर्निर्माण प्राधिकरणमा इन्जिनियरिङ भूगर्भविद्का रूपमा काम गरिरहेका छन् । भूकम्पपछि भूगर्भविद्को महत्त्व देशले बुझेको उनको ठम्याइ छ ।


काभ्रेकी २४ वर्षीया शिला भट्टराई त्रिचन्द्रबाट जियोलोजीको पढाइ सक्ने तयारीमा छिन् । इन्जिनियरिङ जियोलोजी सक्न लागेकी उनी अहिले थेसिसमा मिहिनेत गरिरहेकी छन् । ‘हामी इन्जिनियरिङ जियोलोजीको फस्ट ब्याच हौं,’ उनी भन्छिन्, ‘यसको स्कोप राम्रै छ ।’ उनले निर्माण कार्यमा प्रयोग गर्ने ढुंगा, माटोसम्बन्धी थेसिस गरेकी छन् ।


काठमाडौं नागार्जुनका २८ वर्षीय अनुज खनाल हाइड्रो जिओलोजिस्ट अर्थात् भू–जल वैज्ञानिक हुन् । त्रिवि केन्द्रीय विभाग कीर्तिपुरबाट मास्टर्स गरेका उनी अहिले काठमाडौं उपत्यकाका खानेपानी व्यवस्थापन बोर्डमा काम गर्छन् । त्यहाँ काम गर्न थालेको साढे २ वर्ष भयो । यो कार्यालयले नीतिगत काम गर्छ । काठमाडौं खानेपानी लिमिटेड, त्यसको रेगुलेटरी बडी हो । ‘मैले काठमाडौंभरि जति पनि डिप ट्युबवेल छ, त्यसको अनुमतिपत्र दिने फाँटमा बसेर प्राविधिक राय दिन्छु, अर्को उपत्यकाभरि भएका ट्युबवेलको अनुगमन हुन्छ, लाइसेन्स लिए नलिएबारे अनुगमनमा पनि हिँड्छु,’ उनी भन्छन्, ‘त्योबाहेक काठमाडौं उपत्यकाको भूमिगत जलस्रोतको अवस्था के छ, प्रयोग कसरी गर्नुपर्छ, त्यसको रिसर्च गर्ने र भोलिका दिनमा त्यसलाई गभर्नेन्समा कसरी जोड्ने भन्नेबारे काम गर्दै आएको छु ।’ कामबाट उनी सन्तुष्ट छन् ।


उनले काठमाडौंको भूमिगत जलस्रोतअन्तर्गत पाटन एरियाको माथिल्लो तहको पानीको गुणस्तर, त्यसको जियोलोजी र कति पुरानो हो भन्नेबारे थेसिस गरेका थिए । मानव सिर्जित प्रदूषण बढी पाइएको उनले सुनाए । ‘हामीले पढिसक्दा ठ्याक्कै भूकम्प आएको थियो, त्यसपछि भूगर्भविद्को माग एकदमै बढ्यो,’ उनी भन्छन्, ‘क्रेज त त्यो बेला पनि प्रशस्त थियो । जनशक्तिको माग धेरै छ ।’ भूगर्भविद् बन्न बीएस्सी तेस्रो वर्षमा भूगर्भशास्त्र रोज्नुपर्छ । त्यसपछि २ वर्ष एमएस्सी पढ्नुपर्छ ।


त्रिभुवन विश्वविद्यालयका भूगर्भशास्त्र केन्द्रीय विभाग प्रमुख डा. लालुप्रसाद पौडेल भूगर्भमा २ वटा मास्टर्स हुने बताउँछन् । एउटा मास्टर्स इन इन्जिनियरिङ जियोलोजी र अर्को मास्टर्स इन जियोलोजी । मास्टर्स इन इन्जिनियरिङ जियोलोजी पहिरो, सुरुङमार्गको अध्ययनमा केन्द्रित हुन्छ । जनरल जियोलोजीमा इन्जिनियरिङ जियोलोजीको केही भाग पनि पढाइ हुन्छ । जनरल जियोलोजीमा सतहमुनिको पानीको विषयलाई फोकस गरेर पढाइन्छ । इन्जिनियरिङ जियोलोजी आन्तरिक स्रोतबाट चलाइएको छ । विद्यार्थीकै फिबाट सबै म्यानेज गर्नुपर्ने भएकाले थेसिस बुझाउँदा र फिल्ड जाँदासम्म ३ लाख जति लाग्छ । इन्जिनियरिङ जियोलोजी त्रिविबाहेक त्रिचन्द्रमा पढाइ हुन्छ । जियोलोजी त्रिवि कीर्तिपुरमा मात्र हो । भ्याली बाहिर ब्याचलर लेभलको मात्र पढाइ हुन्छ । वीरेन्द्र बहुमुखी क्याम्पस चितवन, हात्तीसार क्याम्पस धरान र पृथ्वीनारायण क्याम्पस पोखरामा छ । पोखरामा गत वर्षबाट सुरु भएको हो । धरान र चितवनमा एक/एक ब्याच पढेर निस्किसके ।


एमएस्सी इन्जिनियरिङ जिओलोजिस्ट पढ्न त्रिचन्द्र र कीर्तिपुरमा पढ्न २४/२४ जनाको कोटा छ । कीर्तिपुरमा भने एमएस्सीका लागि ५० जनाको कोटा छ ।

[email protected]

प्रकाशित : श्रावण ४, २०७५ ११:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?