१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २८२

ओजिलको तहल्का

कान्तिपुर संवाददाता

काठमाडौँ — जब हामीले जित्यौं, म जर्मन भएँ
जब हामीले हार्‍यौं, म आप्रवासी भएँ

ओजिलको तहल्का


सुन्दा पनि नरमाइलो लाग्छ, मेसुट ओजिलजस्ता उत्कृष्ट मिडफिल्डरले पनि यस्ता शब्द प्रयोग गर्ने दिन आयो । आइतबार ट्वीट र इन्स्टाग्राममार्फत संन्यास घोषणा गर्दै उनले यी शब्दहरूबाट विश्व फुटबलमै सनसनी मच्चाइदिए ।


डिफेन्डिङ च्याम्पियनका रूपमा रुस पुगेको जर्मनी विश्वकप २०१४ को समूह चरणबाटै घर फर्केको थियो । मेक्सिको र दक्षिण कोरियाविरुद्ध हार बेहोरेपछि जर्मनी इतिहासमै पहिलोपल्ट समूह चरणबाट बाहिरिएको थियो । टिमको असफलतामा मुख्यत: प्रशिक्षकलाई दोष दिइन्छ किनभने टिम हाँक्ने जिम्मेवारी उसैको हुन्छ । तर, २१ औं विश्वकपमा जर्मनीको हकमा त्यस्तो भएन ।


प्रशिक्षक जोचिम लोले जर्मनीलाई सन् २०१४ मा विश्वकप च्याम्पियन बनाएका थिए । उनी २००६ यता नै जर्मन टिमको हट–सिटमा निरन्तर छन् । उनले दोस्रो रोजाइको जर्मन टिमलाई गत वर्ष कन्फेडेरेसन्स कपको उपाधि पनि दिलाएका थिए । त्यसैले यसपालिको विश्वकपअघि जर्मन फुटबल संघ (डीएफबी) ले उनको सम्झौता विश्वकप २०२२ सम्मलाई नवीकरण गर्‍यो । उनी विश्वकप २०१८ मै असफल भए तर उनको जागिर धरापमा परेन । उनी युरो २०२० मा पनि जर्मन टिम सम्हाल्ने योजनामा अघि बढेका छन्, जसलाई डीएफबीले पनि ‘ग्रिन’ सिग्नल दिइसकेको छ ।


टिम हाँक्ने जिम्मेवार व्यक्तिका रूपमा जर्मन टिमको असफलतासँगै जोचिम लोको खुबै आलोचना हुनुपर्ने थियो । तर, भइदियो मेसुट ओजिलको । कोरियाको ऐतिहासिक जितपछि जर्मन मिडियाले मुख्य स्थान दिएर ओजिलकै तस्बिर प्रकाशित गरेका थिए । डीएफबीका अध्यक्ष रेइहार्ड ग्रिन्डेलले असफलताको दोष यिनै ओजिलमाथि लगाइदिए । विश्वकपअघि नै टर्कीका राष्ट्रपति तायिप एरडोगनसँग खिचिएको तस्बिरलाई लिएर ओजिलको जर्मनहरूले खुबै आलोचना गरिरहेका थिए । त्यसलाई विश्वकपको असफलताले थप ऊर्जा दियो । टर्कीका राष्ट्रपतिसँग तस्बिर खिच्नेमा जर्मन टिमका अर्का खेलाडी इल्काय गुन्डोगन पनि थिए ।


मिडफिल्डर ओजिलले रुसमा राम्रो खेल देखाउन सकेका थिएनन् । तर, निरन्तर तेस्रो संस्करणमा डिफेन्डिङ च्याम्पियन समूह चरणबाटै घर फर्किनुमा ओजिललाई मात्र दोष दिन मिल्दैन । फुटबल ‘टिम गेम’ हो र यसमा एउटा टिमका ११ खेलाडी एकैपल्ट मैदानमा खेलिरहेका हुन्छन् । थोमस मुलरसहित कुनै पनि जर्मन खेलाडीले विश्वकपमा गतिलो खेल प्रदर्शन गर्न सकेको थिएन । त्यसैले पूरा टिमको असफलताको दोष एउटा खेलाडीमा थोपार्ने काम राम्रो होइन ।


ओजिल टर्किस मूलका जर्मन हुन् । उनीजस्तै टर्किस मूलका ३० लाख मानिस जर्मनीमा बस्छन् । उनले टर्कीका रष्ट्रपतिसँग मे महिनामा तस्बिर खिचेका थिए, त्यसपछि भएको चुनावमा एरडोगानको पार्टीले जित हात पारेको थियो । चुनावी अभियानका लागि तस्बिर सामाजिक सञ्जालमा नहालेको प्रस्टीकरण पनि ओजिलले दिए । तैपनि उनको आलोचना भइरह्यो । उनले आफूमा दुई मुटु, एक टर्किस र अर्को जर्मन भएको पनि बताएका थिए । त्यसले पनि उनीमाथि मिडिया र जर्मनहरू खनिएका थिए ।


जर्मन लिजेन्ड ओलिभर विएरहोफले त ओजिललाई दबाबमा रहेको भन्दै त्यस्तो अवस्थामा विश्वकपको टिममा समावेश गर्न नहुनेसमेत बताएका थिए । तर, जोचिम लोले ओजिललाई टिममा छनोट गरे । दुई खेलमा अवसर पनि दिए । तर, मैदानमा ओजिल लयमा देखिएनन् । त्यसैलाई लिएर उनलाई जर्मन समर्थक र मिडियाले ‘बलिको बोको’ बनाइदिए । त्यसमा डीएफबी प्रमुखको बोलीले पनि थप बल दियो ।


‘जातिवाद र अनादर’ का कारण २९ वर्षमै अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएको ओजिलले अभिव्यक्ति दिए । उनले जर्मन टिमबाट ९२ खेल खेलेका छन् । उनी इंग्लिस प्रिमियर लिगको क्लब आर्सनलबाट व्यावसायिक फुटबल खेल्छन् । संन्यास लिने उनको निर्णयलाई आर्सनलका प्रशिक्षक युनाई इमरेले सम्मान गर्ने बताएका छन् । उनको निर्णयको कतै स्वागत त कतै आलोचना भइरहेको छ । त्यसले जर्मन फुटबललाई भने विवादमा तानेको छ ।

प्रकाशित : श्रावण ११, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनको अभियोग लागेकी राप्रपा सांसद गीता बस्नेतलाई अदालतले पक्राउ पुर्जी जारी गर्दा पनि प्रहरीले पक्राउ गर्न किन आलटाल गरेको होला ?