कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘फुटबल मम’

अमेरिकी गायिका म्याडोना आफ्ना सन्तानका लागि कति चिन्तित हुने भएकी छन् भने सबैखाले संगीतका कार्यक्रम लगभग स्थगित जस्तै गरेर खेलाडी बन्ने सपना देखेका छोराका लागि पोर्चुगलमा गुमनाम समय बिताइरहेकी छन् ।
कुनै समय ‘बोरिङ’ लाग्ने कन्सर्टमा ज्यान फुक्ने काम पनि म्याडोनाले नै गरिन् । उनको कन्सर्ट हेर्नु भनेको उनका गीत सुन्नमा मात्र सीमित थिएन । त्यसमा धेरै थोक थियो, मान्छेहरु फेरि उनकै कारण कन्सर्टमा फर्कन थाले ।
हिमेश

काठमाडौँ — उफ, समय कति चाँडै बित्छ, थाहै हुन्न । त्यसैले भनिन्छ, ‘समय उड्छ त’ । धेरैका लागि म्याडोनाले हिजै जस्तो लाग्न सक्छ, ‘लाइक अ भर्जिन’ गाएकी । यो त यी अमेरिकी गायिकाको सबैभन्दा मन पराइएको गीत हो ।

‘फुटबल मम’

अगस्टमा पर्छ, म्याडोनाको ६०औं जन्म दिन । यी गायिकालाई मन पराउनका लागि यो उनलाई गाढा रूपमा सम्झिने एक अर्को राम्रो बहाना हो । सायद म्याडोना आफैंले पनि आफ्नो जीवनको ६ दशक राम्रै पाराले मनाउने पो हो कि ?


तर होइन, म्याडोनाको यस्तो उस्तो केही कार्यक्रम छैन । अचेल तडकभडकबाट धेरै टाढा छिन्, उनी । उनी अचेल अमेरिकामा पनि छैनन्, न इंग्ल्यान्डमै । अहिले ठ्याक्कै उनी पोर्चुगलमा छिन्, आफूले ‘एडप्ट’ गरेका छोराछोरीसँग । उनी त्यता शान्त जीवन बिताइरहेकी छन् । उनीसँग अहिले तत्काल नयाँ गीतको कुनै कार्यक्रम छैन । न त उनी टुरमै निस्कने मुडमा छिन् । भनिसकेकी छन्– अबको एक वर्षसम्म म यस्तै रहने छु, भीडबाट टाढा ।
प्रश्न उठ्न सक्छ, म्याडोना साँच्चै पोर्चुगलमा के गरिरहेकी छन् त ? उनको एक छोरा हुन्, १२ वर्षीय डेविड बान्दा । मलावीका यी केटोलाई म्याडोनाले केही समय अगाडि अपनाएकी हुन् । यी बान्दाको फुटबलमा ठूलो रुचि रहेछ । बान्दाले एकपल्ट आफ्नी आमालाई भनेछन्, ‘मेरो इच्छा भनेकै फुटबल खेल्नेमा छ, म भविष्यमा फुटबल खेलाडी हुन चाहन्छु ।’ म्याडोनाको मन न हो, पग्लिहाल्यो । उनकै भविष्यका लागि भनेर पोर्चुगल पुगिन् ।


बान्दा अचेल बेन्फिकाको युथ एकेडेमीसँग आबद्ध छन् । त्यसैले पोर्चुगाली मिडियाले म्याडोनाको नामै फेरेर भन्न थालेका छन्, ‘फुटबल मम’ । म्याडोना आफ्ना सन्तानका लागि कति चिन्तित हुने खालको भएकी छन् भने सबैखाले संगीतका कार्यक्रम लगभग स्थगित जस्तै गरेर पोर्चुगलमा गुमनाम समय बिताइरहेकी छन् । यो त उनले रोजेकै जीवन हो । यसैमा खुसी छिन् भने उनका प्रशंसक पनि त्यसैमा खुसी हुन सक्नुपर्‍यो ।


पोर्चुगल आउनु अगाडिसम्म म्याडोना केही समय गलत कारणले समाचारमा छाइन् । बेहोसीकै स्थितिमा कन्सर्ट गर्न थालेकी थिइन् । उनलाई त्यति बेला ‘ड्रिङ्स’ धेरै प्यारो थियो ।
आफ्नो पहिलो सन्तान रोको रिचीसँगको सम्बन्ध खराब भएपछि म्याडोनालाई सम्हाल्न गाह्रो भएको थियो । आफ्ना दोस्रो पति गायक रिचीतर्फका छोरा हुन्, उनी । नाजुक स्थितिको यो सम्बन्धकै कारण म्याडोना मानसिक रूपमा विक्षिप्त स्थितिमा पुगेकी थिइन्, अहिले कम्तीमा त्यस्तो छैन ।


सायद यस्तै यस्तै तनावबाट मुक्त हुन पनि उनी पोर्चुगलमा छिन् । हालै मात्र इटालीको एउटा म्यागाजिनले उनको लामै अन्तर्वार्ता छापेको छ । यसमा उनले परिवारसँग बस्नुको सुखबारे
आफ्नो धारणा राखेकी छन् । समयले यसरी परिवर्तन गर्ने रहेछ, यी ‘म्याटेरियल गर्ल’ लाई । यी त भए, उनका व्यक्तिगत कुरा । यहाँनिर पश्चिमेली संगीतमा म्याडोनाको योगदान पनि त बिर्सिन सकिन्न, उनी ६० वर्ष पुगेकी स्थितिमा । आखिरमा कसैलाई भनिरहनु पर्दैन, उनी पहिलो ठूलो महिला स्टार हुन्, पश्चिमेली संगीतको ।


सन् १९७७ देखि संगीत क्षेत्रमा सक्रिय म्याडोनाका ३० करोडभन्दा बढी एल्बम बिक्री भइसकेका छन् । उनले नै अहिलेका आधुनिक फिमेल पप–आइकनका लागि बाटो तयार पारेकी हुन् । उनी आउन अगाडि यस्तो बाटो बन्द थियो, अथवा खुला थिएन । भए पनि त्यो सजिलो थिएन । उनी नहुँदो हो त बियोन्सी र टेलर स्विफ्टको कल्पना गर्न सकिन्छ र ? सकिन्न । म्याडोना नै ती गायिका हुन्, जसले अहिलेको जस्तो म्युजिक भिडियोका लागि पनि जग बसाइन् ।


अहिले पनि उनको पुराना गीतका म्युजिक भिडियो हेर्नुपर्छ, भन्नै पर्ने हुन्छ, यी अब्बल दर्जाका छन् । यो पछि अरू धेरैका लागि प्रेरणा भयो । यौनलाई लिएर खुलमखुला कुरा गर्न रुचाउनेमा पर्छिन्, म्याराडोना । अमेरिका नै सही, सन् अस्सीतिर केही न केही बन्देज थियो भनिन्छ, महिला र यौनका विषयमा । उनले यस्तो अवरोधलाई पनि पार गरिन् । अनि अचेल चल्न थालेका रियालिटी–शोका सुरुआती स्टारमा पर्छिन्, म्याडोना ।


कुनै समय ‘बोरिङ’ लाग्ने कन्सर्टमा ज्यान फुक्ने काम पनि म्याडोनाले नै गरिन् । उनको कन्सर्ट हेर्नु भनेको उनका गीत सुन्नमा मात्र सीमित थिएन । त्यसमा धेरै थोक थियो, मान्छेहरू फेरि उनकै कारण कन्सर्टमा फर्कन थाले । अझ म्याडोनाले पश्चिमेली संगीतमा महिलाको उपस्थितिको अर्थ नै फेरिन् । अहिले फर्केर हेर्दा उनले जति काम गरिन्, ती प्राय: त्यति बेलाको समयअनुसार ठूलै क्रान्तिकारी थियो । साँच्चै उनको ६ दशकको जीवन यात्रालाई फेरि एकपल्ट हेर्ने, बुझ्ने र अनुभव गर्ने समय जुरेको छ ।
twitter : @himeshratna

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?