कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भ्रष्टाचार रोक्न ‘कोड ब्लक’

देश भ्रष्टाचारमा डुबेको छ । प्रत्येक वर्ष भ्रष्टाचारलाई शून्यमा झार्ने सरकारले प्रतिबद्धता जनाउँछ तर पूरा हँुदैन । यसैलाई मध्यनजर गरेर कार्यालयमा आर्थिक पारदर्शी बनाउने लक्ष्यले ‘कोड ब्लक’ नामक सफ्टवेयर बनाइएको हो ।
कान्तिपुर संवाददाता

काठमाडौँ — बन्द कोठामा इन्जिनियरिङका विद्यार्थीलाई सात समूहमा विभाजन गरी राखिएको थियो । प्रत्येक समूहमा ३ जना सम्मिलित थिए । उनीहरूले ४८ घण्टाभित्र आ–आफ्ना प्रतिभा देखाउनुपर्ने थियो । उनीहरूलाई खाने र सुत्ने व्यवस्था पनि त्यही कोठामा गरिएको थियो । केहीले रोबोट बनाए । केहीले स्मार्ट सिटीको डिजाइन गरे ।

भ्रष्टाचार रोक्न ‘कोड ब्लक’

क्याथफोर्ड कलेजका विद्यार्थीले भने सरकारी कार्यालयमा भ्रष्टाचार न्यूनीकरण गर्न उपयोगी हुने गरी सफ्टवेयर बनाए, जसले धेरैको ध्यान खिच्यो ।


‘देश भ्रष्टाचारमा डुबेको छ । प्रत्येक वर्ष भ्रष्टाचारलाई शून्यमा झार्ने सरकारले प्रतिबद्धता जनाउँछ तर पूरा हुँदैन । यसैलाई मध्यनजर गरेर कार्यालयमा आर्थिक पारदर्शी बनाउने लक्ष्यले ‘कोड ब्लक’ नामक सफ्टवेयर बनाएका हौं,’ कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत आयशा श्रेष्ठले भनिन्, ‘यसले सडक नपुगेका दुर्गम पहाडी जिल्लामा वितरण गरिने वृद्ध भत्ता, भूकम्पपीडितलाई राहत र महिला, विपन्न, अपांगतालक्षित कार्यक्रममा हुने अनियमितता सहजै पत्ता लगाउन सकिन्छ ।’


हेक्याथन नाम दिइएको प्रतियोगितामा १४ वटा सफ्टवेयरलाई उछिन्दै कोड ब्लक उत्कृष्ट भयो । आयशाले यो सफ्टवेयर निकै महत्त्वपूर्ण भएको बताइन् । ‘यसमा डाटा ह्याक, परिवर्तन गर्ने र हराउने समस्या हुँदैन,’ उनले भनिन् । सफ्टवेयर बनाउन उनलाई विवेक कोइरालाले साथ दिएका थिए ।


कोड ब्लकले कसरी काम गर्छ त ? उनीहरूका अनुसार कोड ब्लकको मुख्य सर्भर केन्द्रीय कार्यालयमा रहन्छ । स्थानीय तहमा ‘क्लाइन्ट सर्भर’ हुन्छन् । गाउँपालिका वा नगरपालिकाले कुनै कार्यक्रम सञ्चालन गर्नुपरेमा लाभ/सेवाग्राहीको विवरण सफ्टवेयरमा फोटोसहित अपलोड गर्नुपर्छ । त्यसलाई मुख्य सफ्टवेयरले अटोमेटिक चेक गर्छ । सर्भरमा भएको डाटासँग मिल्यो भने रकम भुक्तानी गर्न अनुमति दिन्छ नत्र दिन मिल्दैन । मृत्यु भएका मानिसले पनि वृद्ध भत्ता पाइरहेको, भएका व्यक्तिको हातमा नपरे पनि सरकारी तथ्यांकमा देखाइरहेको भ्रष्टाचारलाई कोड ब्लकले न्यूनीकरण गर्न सक्ने श्रेष्ठले बताइन् ।


एडभान्स कलेज अफ इन्जिनियरिङ स्वतन्त्र विद्यार्थी परिषद्द्वारा आयोजित सिर्जना डी–इनोभेसन नाम दिइएको दुईदिने प्रदर्शनीमा १४ विधामा प्रतिस्पर्धा गराइएको थियो । एडभान्स कलेजका तीन विद्यार्थीले अपांगता भएका व्यक्तिले आफ्नो दिमागले चलाउन नसक्ने ह्विलचियर बनाएका थिए ।


‘अपांगता भएका व्यक्तिको दिमागको कोड यन्त्रमा इन्ट्री गर्नुपर्छ,’ कम्प्युटर इन्जिनियरिङ तेस्रो वर्षमा अध्ययनरत केशव भट्टराईले सुनाए, ‘अपांगता भएका व्यक्तिले आफ्नो दिमागमा सूचना दिएअनुसार ह्विलचियर अघि बढ्ने र रोक्ने हुन्छ । दुई वटै आँखा एकैचोटि झिम्काएमा बायाँ मोडिन्छ भने दुवै आँखा दुईपल्ट भन्दा बढी झिम्काउँदा दायाँ मोडिन्छ,’ उनले भने ।


प्रतियोगितामा ख्वप इन्जिनियरिङ कलेज, पुल्चोक इन्जिनियरिङ क्याम्पस, हिमालय कलेज अफ इन्जिनियरिङ, थापाथली क्याम्पस, कान्तिपुर टुरिजम एन्ड होटल म्यानेजमेन्ट (केएफसी), एनसीआईटी, कसमस, ट्रिनिटी, गोल्डेन गेटल कलेजका विद्यार्थीहरू १४ विधामा सहभागी भएका थिए । उनीहरूले चक्रपथको डिजाइन, विद्युत् लाइन नपुगेका ठाउँमा मिनरल वाटर बोतलमा पानी भरेर प्रकाश उत्पादन गरी घरमा उज्यालो दिने, लेउबाट पेट्रोल–डिजेल उत्पादन गर्ने प्रविधि, सूर्यको दिशामा घुम्ने सोलार लाइट, पुललाई बलियो बनाउने प्रविधि, सफ्टवेयर बनाउँदा हुने गल्ती पत्ता लगाउने प्रविधि, विद्युतीय सवारी साधन बनाएका थिए ।
–प्रशान्त

प्रकाशित : श्रावण १८, २०७५ १०:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?