कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिपहपका गोल्डेन ब्वाई

‘ग्याङस्टर र्‍यापर’ नहुनुले पनि ड्रेकलाई उच्च सम्मान मिलेको छ । र्‍यापका यी ‘असल युवा’ लाई संसारकै बसभन्दा ठूला र्‍यापर भन्न थालिएको छ ।
सजना बराल

काठमाडौँ — उनी संगीतमा आउनु नौलो कुरा थिएन । बा–आमा, काका, हजुरबुबा सबै संगीतकर्मी । उनमा पनि जन्मजात संगीतको रस पस्यो । तर, उनले पारिवारिक शैली अपनाएनन् । आफ्नै रुचिको विधा रोजे– हिपहप । र्‍यापमा पप र आरएन्डबी मिसाएर गीतलाई मेलोडियस बनाए । गाउने गति पनि विस्तारै बनाए । अनि विश्व संगीतमा र्‍याप सुपरस्टार बने– ड्रेक ।

हिपहपका गोल्डेन ब्वाई

हिपहप संगीत मूलधारमा आएको मात्र छैन, यसले अमेरिकामा रक विधालाई लगभग विस्थापित पनि गरिदिएको छ । यस्तो हुनुमा ड्रेक, लिल वेनी, कान्य वेस्टदेखि अहिलेकी सेन्सेनल र्‍यापर कार्डी बीको समेत भूमिका छ । यिनले हिपहप वा र्‍याप संगीतलाई नयाँ उचाइ दिलाएका छन् । ड्रेकहरू त ठूला सेलेब्रिटी भए । भर्खर चर्चामा आएका सोल्ज ब्वाई, टाइगा, मिगोसजस्ता र्‍यापरको समेत अहिले भाउ बढेको छ ।


नयाँ आर्टिस्टहरू ड्रेकबाट प्रभावित छन् । ड्रेक भने लिल वेनीबाट । उनी वेनीलाई गुरु मान्छन् । उनका लागि गीत गाएका छन्, पाखुरामा ट्याटु खोपाएका छन् । लिल भन्छन्, ‘म जमिनभन्दा माथि छु । ड्रेकले यस्तो गर्नु मेरा लागि अहोभाग्य हो ।’ लिलकै म्युजिक कम्पनीबाट ड्रेक उदाएका थिए । उनका अघिल्ला गीतमा लिलको प्रस्ट प्रभाव देखिन्थ्यो, मन छुने र निर्णायक हरफ राख्थे । यी दुईले कतिपय गीतमा सहकार्य गरेका छन् ।


ड्रेक आफ्ना अनुभव, संघर्षका कथा, मायाप्रेमका किस्सा र सामाजिक उत्तरदायित्वका भावना गीतमा उतार्छन् । ‘स्ट्रिट कल्चर’ को वास्तविक सुगन्ध प्रवाह गर्नु उनको विशेषता हो । उनी मध्यम वर्गीय समाज लक्षित भएर गाउँछन् । श्रोताले गीतमा आफूलाई जोड्न सकुन् भन्नेमा उनको ध्यान हुन्छ । प्राय: गीत भावनात्मक प्रकारका हुने भएकाले केहीले उनलाई ‘हिपहपको महिला भर्सन’ पनि भन्ने गरेका छन् । र्‍यापमा आक्रामक नभएको आरोप लागेपछि उनले ‘सिक्स गड...’ गीतमार्फत आलोचकलाई चुप बनाए ।


यसअघिका थुप्रै र्‍यापर बदनाम थिए । स्नुप डग, डीएमएक्सलगायत आपराधिक क्रियाकलापमा संलग्न भएकाले र्‍यापरप्रतिको सामाजिक दृष्टिकोण कहिलेकाहीँ खराब हुने गथ्र्यो । ड्ेरक त्यो छवि सुधार्न सफल भएका छन् । ‘ग्याङस्टर र्‍यापर’ नहुनुले पनि उनलाई उच्च सम्मान मिलेको छ । उनी र्‍यापका ‘असल युवा’ मानिन्छन् । त्यसमाथि उनको रंगमञ्च पृष्ठभूमि सुनमा सुगन्ध जस्तो भएको छ । गायनमा आउनुअघि उनी अभिनय गर्थे ।


अफ्रिकी मूलका बाबु र क्यानडेली आमाका सन्तान ड्रेक र्‍यापका गोल्डेन ब्वाई बनेको लामै समय भइसक्यो । जति गीत निकाले पनि सबै चलेकै हुन्छन् । काउन्ट डाउन र टप चार्टमा यिनले स्थान सुरक्षित राखेको करिब एक दशक पुग्न लाग्यो । सन् २०१० को ‘थ्याङ्क मी लेटर’ देखि पछिल्लो एल्बम ‘स्कर्पियन’ सम्म आइपुग्दा उनी सधैं बिलबोर्ड र अन्य चार्टमा छाइरहेका छन् ।


अहिले पनि उनका आधा दर्जन गीत ‘बिलबोर्ड हट हन्ड्ेरन्ड’ को अग्रस्थानमा छन् । ‘इन माई फिलिङ्स...’ नम्बर एक स्थानमा छ भने यही गीत समाविष्ट ‘स्कर्पियन’ एल्बम सूचीमा रहेका दुई सयमध्ये पहिलो नम्बरमै छ । वर्षौं भयो, उनी काउन्ट डाउनबाट बाहिरएका छन् । एकपछि अर्को गीतले उनलाई सूचीमा कायम राखेको छ ।
सफलता र तारिफ पाइरहेका ड्ेरकलाई केहीअघि भने एउटा झट्का लाग्यो । उनलाई अर्का र्‍यापर मिक मिलले गीत लेखनमा अदृश्य लेखक प्रयोग गरेको आरोप लगाए । उनी आफ्ना गीत आफैं लेख्दैनन्, अदृश्य लेखकलाई प्रयोग गर्छन् भनियो । ड्रेकले सुरुमा ठट्टा गरे, ‘हो, लेख्दिनँ । तर, टाइप गर्छु ।’ कुरा गम्भीर भएपछि उनले भने, ‘संगीतमा सहकार्य हुन सक्छ । यसमा खराबी के छ ?’


‘टेक केयर...’, ‘वान डान्स...’, ‘हटलाई ब्लिंग...’, ‘बेस्ट आई एभर ह्याड...’, ‘टु मच...’, ‘गड्स प्लान..’ जस्ता उनका गीत चर्चित छन् । उनले सन् २००६ मा पहिलो गीत सार्वजनिक गरेका थिए । लिल वेनीसँग सहकार्य थालेपछि उनको करियर चम्कियो । अहिले ड्रेकका नाममा अनेक सांगीतिक कीर्तिमान छन् । उनलाई संसारकै बसभन्दा ठूला र्‍यापर भन्न थालिएको छ ।

[email protected]

प्रकाशित : भाद्र १, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?