कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नयाँ आशा

काठमाडौँ — रुसमा भएको विश्वकपमा ठूला टिमका खेलाडी अझै पूर्ण रुपमा फिट नभएका कारण इंग्लिस प्रिमियर लिगको सुरूमा केही युवा खेलाडीले मैदानमा खेल्ने अवसर पाएका छन् ।

नयाँ आशा

स्थानान्तरण अवधिमा राम्रो खेलाडी ल्याउन नसकेपछि क्लबहरुले युवा खेलाडीलाई उपयोग गरिरहेका छन् । केही युवा खेलाडी भने यस्ता छन् जसले कम उमेरमै आफ्नो कौशलको पहिाले रोजाइमा स्थान स्थान पाएका छन् । यस सिजन (२०१८–१९) मा प्रिमियर लिगमा प्रभाव जमाउन सक्ने पाँच युवा खेलाडी :

रायन सेसेग्नन, फुलहम
करिअरको सुरुआतमा लेफ्ट ब्याकको भूमिका निर्वाह गरेका सेसेग्ननले गत सिजन आक्रामक भूमिकामा फुलहमका लागि निर्णायक भूमिका खेले । क्लबलाई शीर्ष श्रेणीमा बढुवा गराउँदा सर्वाधिक गोलकर्ता बनेका उनले १८ वर्षको उमेरमा क्लबका लागि १ सय खेल खेलिसकेका छन् । फुलहम बढुवा नभएको अवस्थामा प्रिमियर लिगका ठूला क्लबले उनलाई ल्याउने प्रयास गरेको थियो । विश्वकपमा इंग्लिस टोलीको प्रारम्भिक छनोटमा परेका उनलाई छिट्टै राष्ट्रिय टोलीको नियमित खेलाडीको भूमिकामा देख्न पाइने विश्लेषकहरूले बताएका छन् । सिजनको सुरुआती दुई खेलमा उनले आफ्नो स्तर सिद्ध पारेका छन् ।

फिल फोडेन, म्यानचेस्टर सिटी
गत वर्ष इंग्ल्यान्डले फिफा अन्डर–१७ विश्वकप जित्दा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित फोडेनले म्यानचेस्टर सिटीको सिनियर टोलीबाट खेल्ने मौका पाए । उनले केही खेल त पहिलो रोजाइमा पनि खेले । यसपटक प्रिसिजनमा पनि उनलाई प्रशिक्षक पेप ग्वार्डिओलाले प्राथमिकतामा राख्दै खेल्ने समय दिएका थिए । सिजनको पहिलो खेल कम्युनिटी सिल्डमा सर्जियो अगुएरोले गोल गर्दा फोडेनले असिस्ट दिएका थिए । सिटीले केभिन डे ब्रुएनलाई चोटका कारण सिजनको सुरुआती ३ महिना गुमाउने भएसँगै १८ वर्षीय फोडेन फोडेनले खेल समय पाउने सम्भावना पनि बढेको छ । उनले पाएको अवसर सदुपयोग गर्न सके ग्वार्डिओलाले उनको करिअर विकासमा सहयोग पुर्‍याउने छन् ।

लुकास टोरेर आर्सनल
विश्वकपमा उरुग्वेको मिडफिल्डमा जमेका टोरेरालाई भित्र्याउन आर्सनलका नवनियुक्त प्रशिक्षक उनाई एमेरीले मोटो रकम खर्चनुपर्‍यो । २२ वर्षीय टोरेरा विपक्षीको आक्रमण रोक्नका साथै पोसेसन राख्न अब्बल मानिन्छन् । पछिल्लो केही सिजनयता कमजोर रहँदै आएको मिडफिल्डलाई टोरेराको आगमनले केही हदसम्म मजबुत बनाउनेछ । रक्षात्मक रणनीतिका लागि अब्बल मानिने इटालियन लिगमा गत सिजन टोरेराले साम्पडोरियाका लागि उच्च प्रदर्शन गरेका थिए । छोटो समयमै राष्ट्रिय टोलीमा पहिलो रोजाइका खेलाडी बनेका उनले आर्सनलमा पनि सोही किसिमको प्रदर्शन गर्ने अपेक्षा रहेको छ । आर्सनलको युरोप फर्कने लक्ष्य प्राप्तिमा उनको भूमिका महत्त्वपूर्ण रहनेछ ।

रिचार्लीसन, एभरटन
पछिल्लो सिजन वाटफर्डले मार्को सिल्भालाई बर्खास्त गर्दा लयमा देखिएका रिचार्लीसनको प्रदर्शनमा पनि ह्रास आयो । सिल्भाले आफ्नो योजनाअनुसार खेल्न सक्ने भएकै कारण ब्राजिलियन विंगरलाई भित्र्याउन कीर्तिमानी रकम खर्चिए । प्रिसिजनमा आफ्नो लय देखाएका रिचार्लीसनले सिजनको सुरुआती २ खेलमा तीन गोल गर्दै आफ्नो प्रभाव जमाएका छन् । प्रिमियर लिग आउनुअघि खासै नाम नचलेको भए पनि पछिल्लो सिजन उनले राम्रो प्रदर्शन गरेका थिए । एभरटनले मोटो रकम खर्चेर अन्य स्तरीय खेलाडी पनि भित्र्याएको छ । २१ वर्षीय रिचार्लीसनले लयलाई कायमै राखे एभरटनले युरोपमा स्थान बनाउन ठूला टोलीलाई बलियो चुनौती पेस गर्नेछ ।

रुबेन नेभेस, उल्भ्स
गत सिजन नेभेस इंग्लिस फुटबलको दोस्रो श्रेणीको क्लब वल्भ्समा जाँदा उनलाई पछ्याएका युरोपका ठूला टोली आश्चर्यचकित परेका थिए । उनले वल्भ्सलाई माथिल्लो श्रेणीमा बढुवा गराउने क्रममा ६ गोल गरे । ती सबै गोल पेनाल्टी क्षेत्र बाहिरबाट सम्भव भएका थिए । प्रिमियर लिगको पहिलो खेलमा पनि उनले दर्शनीय फ्रिकिक गोल गर्दै आफ्नो परिचय दिएका थिए । २१ वर्षीय नेभेस विश्वकपका लागि पोर्चुगल राष्ट्रिय टोलीको प्रारम्भिक छनोटमा परे पनि अन्तिम टोलीमा भने अटाउन सकेनन् । यसपटक वल्भ्सले पोर्चुगल राष्ट्रिय टोलीकै सिनियर खेलाडीलाई क्लबमा अनुबन्धन गर्दै लिगको माथिल्लो स्थानमा पुग्ने संकेत दिएको छ । नेभेसले पनि विश्वको शीर्ष लिगमा आफूलाई सिद्ध पार्ने अवसर पाएका छन् ।

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?