अनि रोबोट बिग्रियो...
काठमाडौँ — मेक्सिकोमा अगस्ट १५ देखि १८ सम्म भएको अन्तर्राष्ट्रिय रोबोटिक्स ओलम्पिक २०१८ मा नेपालबाट ‘रोबोनट्स’ सहभागी भएको थियो । एक सय ६० देशका युवा इन्जिनियरको समूह सहभागी यसमा नेपाली टिम १ सय १५ औं स्थानमा रह्यो । रोबोनट्स समूहको मेक्सिको यात्रामा भिसा प्रक्रियाबाटै समस्या सुरू भएको थियो ।
ओलम्पिक यात्राबारे रोबोनट्सका सदस्य सजिन श्रेष्ठको अनुभव :
ट्रिनिटी कलेजमा प्लस टु पढ्दादेखि नै विभिन्न रोबोटिक्स प्रतियोगितामा सहभागी हुन्थे । म विशेषत: रोबोटको लागि प्रोग्रामिङ गर्छु र डिजाइनमा पनि रुचि छ । मेरा साथी पृथ्वी चौधरी भने रोबोटको डिजाइनमा केन्द्रित छन् । उनी हामीलाई विभिन्न प्रतियोगितामा सहभागी हुन हौसला दिइरहन्छन् ।
गत वर्ष भएको यन्त्र ६.० पनि हामी म्यानुअल अखडातर्फ दोस्रो भएका थियौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्यान) ले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी भएको कारण हामीले मेक्सिकोमा आयोजित रोबोटिक्स ओलम्पिकमा भाग लिने अवसर पाएका थियौं ।
रोबोटिक्स ओलम्पिकमा भाग लिन १८ वर्षसम्मको उमेर सीमा तोकिएको थियो । यन्त्रमा हाम्रो प्रदर्शन र रोबोटिक्सप्रति हाम्रो लगाव देखेर हाम्रो टिम रोबोनट्सलाई र्यानले रोबोटिक्स ओलम्पिकका लागि छनोट गरेको थियो । ओलम्पिकको लागि हामीले तीन महिना अघिदेखि नै तयारी गरेका थियौं । प्रतियोगितामा सहभागी हुनका लागि हामीलाई आयोजक फस्ट ग्लोबलले छात्रवृत्ति दिएको थियो ।
हामीले अगस्ट १५ देखि १८ सम्म सञ्चालित प्रतियोगितामा सहभागी हुन मेक्सिको जानका लागि भिसा प्रक्रियाबाटै दु:ख पाएका थियौं । मेक्सिकोको दूतावास नेपालमा छैन । त्यसैले नयाँदिल्ली जानुपर्यो । हामीले क्यानडाको ट्रान्जिट भिसा लगाएर क्यानडा हुँदै मेक्सिको जाने सोच बनायौं र सोहीअनुसारको तयारी गर्यौं । तर, क्यानडाले ट्रान्जिट भिसा दिन अस्वीकार गरिदियो ।
अमेरिकाको भिसा भएपछि मेक्सिको जान सकिने भएकाले पुन: अमेरिकाको भिसा प्रक्रिया सुरु गर्यौं । हाम्रो समूहमा मेन्टर विनोद कणेलसहित पाँच सदस्य थियौं । म र मेरा साथी शिशिर विकको अमेरिकाको स्टुडेन्ट भिसा पहिल्यै थियो । तर, अरूलाई अमेरिकाले पनि भिसा दिएन । हामीले दिल्ली पुगेर मेक्सिकोको भिसा लगाउने सोच बनायौं । तर, हामीले भिसाको प्रक्रिया सुरु गर्ने मिति पाएनौं । परराष्ट्र मन्त्रालयको सहयोगमा मिति लिने प्रयास गरे पनि सफल भएनौं ।
टिमका अरू साथीको भिसा नलागेपछि म र शिशिर मात्रै अमेरिका हुँदै मेक्सिको पुग्यौं । हामीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न रोबोट साथी पृथ्वीले नियन्त्रण गर्ने गरी तयार पारेका थियौं । तर, पृथ्वी र अरू साथीहरू नहुँदा म र शिशिरले मात्रै सबै काम गर्नुपर्ने बाध्यता आइपर्यो । प्रतियोगितामा सहभागी हुन तीन–तीन टिमको समूह बनाउनुपर्ने थियो । हामीले सुरुका दुई गेममा राम्रो गर्यौं । इरिट्रिया र डोमिनिकाको टिमसँग समूह बनाएर पहिलो गेम खेल्दा हामी र्यांकिङको दोस्रोमा रह्यौं । कंगो, लेसोथो र उत्तरी अमेरिकाको टिमको समूहविरुद्ध हामीले राम्रो खेल्यौं ।
दोस्रो खेलमा टिम अर्जेन्टिना र टिम नर्वेसँग मिलेर प्रतिस्पर्धा गर्यौं । मोरक्को, फ्रान्स र अंगोलोको टिमको समूहविरुद्ध हामीले राम्रो खेल्यौं । दोस्रो खेलपछि नेपालको र्यांकिङ पहिलो स्थानमा थियो । तेस्रो खेलपछि हाम्रो वरीयता १५ औं स्थानमा पुग्यो । तर, चौथो खेलमा भने हाम्रो रोबोटको मोटरमा समस्या देखा पर्यो । पृथ्वीले कन्ट्रोल गर्ने गरी बनाइएको रोबोट उनी नहुँदा चलाएका थियौं । धेरै ठोक्किएर हो कि किन हो मोटरमा समस्या देखियो ।
रिमोट कन्ट्रोल रोबोट गेम भइरहँदा हामीले रोबोटलाई छुन नपाउने नियम थियो । रोबोटको मोटर फेरेपछि फेरि छैटौं गेममा प्रतिस्पर्धा गर्दागर्दै रोबोटको सिग्नलले काम गर्न छाड्यो । त्यसलाई समाधान गरेर खेलेपछि सातौं र आठौं गेममा अंक जोड्का थियौं तर सोचेजस्तो नतिजा आएन । ओलम्पिकमा १ सय ६० देशको टिम सहभागी थिए । हामी त्यसमा १ सय १५ औं स्थानमा रह्यौं । टिमका सबै सदस्य (मेन्टर विनोद कँडेल, पृथ्वी चौधरी र सार्थक ढुंगाना) ले पनि मेक्सिको यात्रा गर्न पाएको भए नतिजा राम्रो हुन सक्थ्यो । हामी रोबोट बनाउन र प्रतियोगितामा कसरी कन्ट्रोल गर्नेमा मात्रै केन्द्रित भयौं । टिमको समूह बनाउँदा पनि ध्यान दिनुपर्ने रहेछ ।
(श्रेष्ठ अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत छन् ।)