सम्पदा, साइकल र पर्यटन

२०७२ सालको महाभूकम्पले ध्वस्त भएको काष्ठमण्डप, बुङमती र खोकनाको पुनर्निर्माणमा हातेमालो गर्दै यी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा प्रचार गर्न साइकल यात्रा चलिरहेको छ ।
दामोदर न्यौपाने

काठमाडौँ — काष्ठमण्डप, बुङमती र खोकना । यी सम्पदा चार वर्षयता साइकलयात्रीहरूको गन्तव्य बन्दै आएको छ । काष्ठमण्डप सातौं शताब्दीमा बनेको सत्तल । खोकना र बुङमती उपत्यकाकै प्राचीन बस्ती । यी सम्पदा भुइँचालोले क्षतिग्रस्त बनाए ।

काष्ठमण्डप ध्वस्त नै भयो । खोकना र बुङमतीका अधिकांश घर ढले । भत्किएका सम्पदा बनाउने अभियानमा हातेमालो गर्न साइकलप्रेमी युवाले २०७२ सालको गाईजात्रादेखि सुरु गरेको हो सम्पदा यात्रा । ‘काष्ठमण्डप, बुङमती र खोकनाको पुनर्निर्माणमा हातेमालो गर्दै यी क्षेत्रलाई पर्यटन गन्तव्यका रूपमा प्रचार गराउन यो अभियान चलाएका हौं,’ अभियानकर्ता कन्सेप्ट नेपालका अध्यक्ष पवन शाक्यले भने । यी सम्पदामा सहयोग गर्न प्रत्येक साइकलयात्रीसँग पाँच सय रुपैयाँ लिने गरिएको छ ।


यो वर्ष आयोजना गरिएको र्‍यालीमा दुई सय जना साइकल राइडर सहभागी भएका थिए । काष्ठमण्डपबाट सुरु भएको साइकल यात्रामा ६० वर्षका वृद्धदेखि युवायुवतीसम्म सहभागी थिए । विदेशी पर्यटक पनि साइकल चलाइरहेका देखिन्थे । तीस वर्षयता साइकल यात्रा गरिरहेका सोनाम गुरुङले अगुवाइ गरे । साइकल यात्रा काष्ठमण्डप हुँदै परोपकार पुल, कालीमाटी, रविभवन, कुलेश्वर, बल्खु, बस्नेत गाउँ, चोभार, शैवु भन्ज्याङ, कार्की गाउँ, चुइगाउँ, टौदह, चाल्नाखेल, लामागाउँ, बुङमती हुँदै खोकना पुगेको थियो । यी ठाउँ फेरो लगाउँदा झन्डै २० किलोमिटर भइसकेको थियो ।

Yamaha


खोकनाको प्रसिद्ध मन्दिर हो रुद्रायणी । यात्रीलाई स्वागत गर्न यही मन्दिरको डबलीमा जम्मा भएका थिए खोकनावासी । बाँसुरी, मादल, सारंगी जस्ता बाजासहित जम्मा भएका थिए युवाको समूह । उनीहरूले रुद्रायणी नाचमा बजाइने धुन निकालेर मनोरञ्जन दिलाए । आश्विन शुक्ल तृतीया र कात्तिक पूर्णिमामा देखाइने खोकनाको यो नाच प्रसिद्ध छ । तान्त्रिक विधिअनुसार देखाइन्छ रुद्रायणी । १६ जना नर्तकसहित ४६ जना कलाकार सक्रिय हुने यो नाच महिलाले हेर्न नहुने मान्यता छ । लिच्छविकालीन रुद्रायणी मन्दिरलाई पनि भूकम्पले जीर्ण बनाएको छ । मन्दिरको जीर्णाेद्धार सुरु भएको छैन ।


साइकल चलाएर साहसी पर्यटनलाई प्रोत्साहन गरिएको भन्दै ६० वर्षीय सोनाम गुरुङ र विश्व साइकल यात्री पुस्कर शाहलाई खोकना पुन:स्थापन समितिले सम्मान पनि गर्‍यो । साइकल यात्राले आफ्नो शरीरको रक्षा गर्ने गुरुङले बताए । ‘म साठी वर्ष नाघें,’ उनले सुनाए, ‘तीस वर्ष भयो साइकल चढेको । कहीं जानुपर्दा गाडी चढेको छैन । मोटर साइकल चढेको छैन । केही रोग लागेको छैन । यसको कारण साइक्लिङ नै हो ।’


प्राचीन नेवार बस्ती खोकना जावलाखेलबाट ५ किमि दक्षिण पूर्वमा पर्छ । खोकना तेल उत्पादनका लागि पनि ख्याति प्राप्त स्थान हो । कोलमा तोरी राखेर तेल पेल्ने गरिन्छ । तोरी पेल्ने व्यवसायका लागि सहकारी बनेका छन् । तर, प्राचीन प्रविधि लोप भइरहेका छन् । यहाँ घरका वास्तुकला पनि मौलिक छन् । माटोले बनेका घर एकअर्कामा जोडिएका छन् । रुद्रायणी मन्दिर, गुम्बा, कार्यविनायक जस्ता सम्पदाले धनी यो क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्ने प्रयास भइरहेको थियो ।


विश्व सम्पदा सूचीमै राख्न प्रयास भइरहेको अर्काे प्राचीन बस्ती हो बुङमती । खोकनासँगै जोडिएको यो बस्तीमा रातो मत्स्येन्द्रनाथको मन्दिर, चुनदेवी, कालभैरव, छप्पीदेवीजस्ता मन्दिर छन् । यहाँ ६ महिनासम्म रातो मत्येन्द्रनाथको मूर्ति राखिन्छ । प्राचीन कला र संस्कृतिले सम्पन्न यो बस्ती खुला संग्रहालय हो । विश्व सम्पदा सूचीमा राख्ने प्रयासमा २०७२ को भूकम्प बाधक बन्यो । त्यसयता खोकना बुङमतीको पर्यटन विकासमा साइकल अभियानले साथ दिएकामा स्थानीयवासी दंग छन् ।


ललितपुर महानगरपालिका वडा नं. २१ का अध्यक्ष रवीन्द्र महर्जनले खोकनाको मौलिक बस्तीको विकास गर्न कार्यक्रम ल्याउन लागेको जानकारी दिए । ‘हामी अब होमस्टे सुरु गर्छांै । लोकल गाइड उत्पादन गर्छाैं,’ अध्यक्ष महर्जनले भने, ‘अहिले साइकल चढेर खोकना आउनेको संख्या बढ्दै छ । अब पर्यटकको ध्यान यता तान्छौं । यहाँको ऐतिहासिक र सांस्कृतिक पक्षको प्रचार गर्नेछौं । यसले इतिहास, संस्कृतिको अध्ययन थलोका रूपमा बुङमती खोकना विकास हुनेछ ।’

damodar.kanti@gmail.com

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अनि रोबोट बिग्रियो...

कान्तिपुर संवाददाता

काठमाडौँ — मेक्सिकोमा अगस्ट १५ देखि १८ सम्म भएको अन्तर्राष्ट्रिय रोबोटिक्स ओलम्पिक २०१८ मा नेपालबाट ‘रोबोनट्स’ सहभागी भएको थियो । एक सय ६० देशका युवा इन्जिनियरको समूह सहभागी यसमा नेपाली टिम १ सय १५ औं स्थानमा रह्यो । रोबोनट्स समूहको मेक्सिको यात्रामा भिसा प्रक्रियाबाटै समस्या सुरू भएको थियो ।

ओलम्पिक यात्राबारे रोबोनट्सका सदस्य सजिन श्रेष्ठको अनुभव :

ट्रिनिटी कलेजमा प्लस टु पढ्दादेखि नै विभिन्न रोबोटिक्स प्रतियोगितामा सहभागी हुन्थे । म विशेषत: रोबोटको लागि प्रोग्रामिङ गर्छु र डिजाइनमा पनि रुचि छ । मेरा साथी पृथ्वी चौधरी भने रोबोटको डिजाइनमा केन्द्रित छन् । उनी हामीलाई विभिन्न प्रतियोगितामा सहभागी हुन हौसला दिइरहन्छन् ।


गत वर्ष भएको यन्त्र ६.० पनि हामी म्यानुअल अखडातर्फ दोस्रो भएका थियौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) ले आयोजना गरेको उक्त प्रतियोगितामा सहभागी भएको कारण हामीले मेक्सिकोमा आयोजित रोबोटिक्स ओलम्पिकमा भाग लिने अवसर पाएका थियौं ।


रोबोटिक्स ओलम्पिकमा भाग लिन १८ वर्षसम्मको उमेर सीमा तोकिएको थियो । यन्त्रमा हाम्रो प्रदर्शन र रोबोटिक्सप्रति हाम्रो लगाव देखेर हाम्रो टिम रोबोनट्सलाई र्‍यानले रोबोटिक्स ओलम्पिकका लागि छनोट गरेको थियो । ओलम्पिकको लागि हामीले तीन महिना अघिदेखि नै तयारी गरेका थियौं । प्रतियोगितामा सहभागी हुनका लागि हामीलाई आयोजक फस्ट ग्लोबलले छात्रवृत्ति दिएको थियो ।


हामीले अगस्ट १५ देखि १८ सम्म सञ्चालित प्रतियोगितामा सहभागी हुन मेक्सिको जानका लागि भिसा प्रक्रियाबाटै दु:ख पाएका थियौं । मेक्सिकोको दूतावास नेपालमा छैन। त्यसैले नयाँदिल्ली जानुपर्‍यो । हामीले क्यानडाको ट्रान्जिट भिसा लगाएर क्यानडा हुँदै मेक्सिको जाने सोच बनायौं र सोहीअनुसारको तयारी गर्‍यौं । तर, क्यानडाले ट्रान्जिट भिसा दिन अस्वीकार गरिदियो ।


अमेरिकाको भिसा भएपछि मेक्सिको जान सकिने भएकाले पुन: अमेरिकाको भिसा प्रक्रिया सुरु गर्‍यौं । हाम्रो समूहमा मेन्टर विनोद कणेलसहित पाँच सदस्य थियौं । म र मेरा साथी शिशिर विकको अमेरिकाको स्टुडेन्ट भिसा पहिल्यै थियो । तर, अरूलाई अमेरिकाले पनि भिसा दिएन । हामीले दिल्ली पुगेर मेक्सिकोको भिसा लगाउने सोच बनायौं । तर, हामीले भिसाको प्रक्रिया सुरु गर्ने मिति पाएनौं । परराष्ट्र मन्त्रालयको सहयोगमा मिति लिने प्रयास गरे पनि सफल भएनौं ।


टिमका अरू साथीको भिसा नलागेपछि म र शिशिर मात्रै अमेरिका हुँदै मेक्सिको पुग्यौं । हामीले प्रतियोगितामा प्रतिस्पर्धा गर्न रोबोट साथी पृथ्वीले नियन्त्रण गर्ने गरी तयार पारेका थियौं । तर, पृथ्वी र अरू साथीहरू नहुँदा म र शिशिरले मात्रै सबै काम गर्नुपर्ने बाध्यता आइपर्‍यो । प्रतियोगितामा सहभागी हुन तीन–तीन टिमको समूह बनाउनुपर्ने थियो । हामीले सुरुका दुई गेममा राम्रो गर्‍यौं । इरिट्रिया र डोमिनिकाको टिमसँग समूह बनाएर पहिलो गेम खेल्दा हामी र्‍यांकिङको दोस्रोमा रह्यौं । कंगो, लेसोथो र उत्तरी अमेरिकाको टिमको समूहविरुद्ध हामीले राम्रो खेल्यौं ।


दोस्रो खेलमा टिम अर्जेन्टिना र टिम नर्वेसँग मिलेर प्रतिस्पर्धा गर्‍यौं । मोरक्को, फ्रान्स र अंगोलोको टिमको समूहविरुद्ध हामीले राम्रो खेल्यौं । दोस्रो खेलपछि नेपालको र्‍यांकिङ पहिलो स्थानमा थियो । तेस्रो खेलपछि हाम्रो वरीयता १५ औं स्थानमा पुग्यो । तर, चौथो खेलमा भने हाम्रो रोबोटको मोटरमा समस्या देखा पर्‍यो । पृथ्वीले कन्ट्रोल गर्ने गरी बनाइएको रोबोट उनी नहुँदा चलाएका थियौं । धेरै ठोक्किएर हो कि किन हो मोटरमा समस्या देखियो ।


रिमोट कन्ट्रोल रोबोट गेम भइरहँदा हामीले रोबोटलाई छुन नपाउने नियम थियो । रोबोटको मोटर फेरेपछि फेरि छैटौं गेममा प्रतिस्पर्धा गर्दागर्दै रोबोटको सिग्नलले काम गर्न छाड्यो । त्यसलाई समाधान गरेर खेलेपछि सातौं र आठौं गेममा अंक जोड्का थियौं तर सोचेजस्तो नतिजा आएन । ओलम्पिकमा १ सय ६० देशको टिम सहभागी थिए । हामी त्यसमा १ सय १५ औं स्थानमा रह्यौं । टिमका सबै सदस्य (मेन्टर विनोद कँडेल, पृथ्वी चौधरी र सार्थक ढुंगाना) ले पनि मेक्सिको यात्रा गर्न पाएको भए नतिजा राम्रो हुन सक्थ्यो । हामी रोबोट बनाउन र प्रतियोगितामा कसरी कन्ट्रोल गर्नेमा मात्रै केन्द्रित भयौं । टिमको समूह बनाउँदा पनि ध्यान दिनुपर्ने रहेछ ।
(श्रेष्ठ अमेरिकाको लुजियाना स्टेट युनिभर्सिटीमा अध्ययनरत छन् ।)

प्रकाशित : भाद्र ८, २०७५ ०९:४७
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT