कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साख जोगाउने संघर्ष

भारतीय बजारमा सामसुङको विशेष लगाव पनि छ । सामसुङले संसारकै सबभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतको नोयडामा खोलेको छ ।
गत साता मात्रै नयाँदिल्लीमा सामसुङले आफ्नो पछिल्लो फ्ल्यागसिप फोन नोट नाइन सार्वजनिक गर्‍यो । दिल्लीको गुरगाउँमा नोट नाइन सार्वजनिक गर्न सामसुङका मोबाइल डिभिजन प्रमुख नै आइपुगेका थिए ।
विजय तिमल्सिना

काठमाडौँ — सन् २०१८ को सुरुका महिनामा एउटा खबर सार्वजनिक भयो– सामसुङ अब भारतमा नम्बर एक ब्रान्ड रहेन । सन् २०१७ को अन्तिम त्रैमासिकमा मोबाइल बिक्रीका हिसाबले चिनियाँ ब्रान्ड साओमीले उसलाई उछिनेको थियो । विगत केही वर्षदेखि लगातार भारतमा सबैभन्दा धेरै मोबाइल बिक्री गर्ने ब्रान्ड बनेको सामसुङले सन् २०१८ को मध्यतिर आइपुग्दा आफूलाई फेरि भारतीय बजारमा नम्बर एक बनाइसकेको छ । तर, चिनियाँ ब्रान्डसँग उसको टक्कर १९–२० को छ ।

साख जोगाउने संघर्ष

भारतीय बजारमा सामसुङको विशेष लगाव पनि छ । सामसुङले संसारकै सबभन्दा ठूलो मोबाइल फ्याक्ट्री भारतको नोयडामा खोलेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कोरियाली राष्ट्रपति मुन जेई इनले केही महिनाअघि मात्रै उक्त फ्याक्ट्रीको उद्घाटन गरेका थिए । नोयडा फ्याक्ट्री पूर्ण रूपमा सञ्चालनमा आएपछि वार्षिक १२ करोड फोन उत्पादन गर्न सक्ने अनुमान छ । यसअघि सामसुङले भारतमा करिब ७ करोड फोन उत्पादन गर्दै आएको थियो ।
सामसुङको यो फ्याक्ट्री भारतका लागि सान हो भने सवा अर्ब जनसंख्या भएको भारतीय बजार कोरियाली कम्पनीका लागि सम्भावनाको खानी । अहिले भारतमा अनुमानित ३० करोड जनसंख्याले मात्रै स्मार्टफोन बोक्छन् । प्रविधि परामर्शदाता कम्पनी काउन्टर रिसर्चका अनुसार भारतमा फोन बोक्ने कुल जनसंख्या ६५ करोड बढी छ ।


कुनै पनि कम्पनीलाई चीनबाहेक संसारका अन्य थुप्रै देशको बजार जोडे पनि भारतको जत्रो बजार पाउन मुस्किल हुन्छ । त्यसैले पनि संसारका अन्य ठूला ब्रान्डजस्तै कोरियाली स्मार्टफोन ब्रान्ड सामसुङ पनि भारतमा केन्द्रित बनेको छ ।


अघिल्लो सातामात्रै नयाँदिल्लीमा सामसुङले आफ्नो पछिल्लो फ्ल्यागसिप फोन नोट नाइन सार्वजनिक गर्‍यो । दिल्लीको गुरगाउँमा नोट नाइन सार्वजनिक गर्न सामसुङका मोबाइल डिभिजन प्रमुख डीजे गोह नै आइपुगेका थिए । तर, उनको यो पहिलो दिल्ली भ्रमण भने थिएन ।


‘ग्लोबल लञ्च’ को एक सातापछि सामसुङले दक्षिण पश्चिम एसियाली मुलुकलाई लक्षित गरी भारतमा नोट नाइन सार्वजनिक गरेको थियो । सामसुङका मोबाइल डिभिजन प्रमुख नै सार्वजनिक गर्नका लागि आउनुले पनि भारतीय बजार सामसुङको प्राथमिकतामा छ भन्ने पुष्टि हुन्छ ।


दक्षिण एसियाली क्षेत्रमा भारत मात्रै ठूलो बजार होइन, यहाँको टेक्नोलोजी ट्ेरन्डले यस वरपरका देशलाई पनि प्रभावित पार्छ । यसैले भारतलाई केन्द्रित बनाएर साओमी, हुवावेजस्ता चिनियाँ ब्रान्डले पनि अन्य देशमा आफूलाई विस्तार गरेका छन् । भारतको मोबाइल बजारमा ६–७ वर्षयता सामसुङले आफ्नो वर्चस्व जमाउँदै आएको छ । तर, पछिल्लोपटक भने उसले चिनियाँ ब्रान्डका स्मार्टफोन उत्पादकबाट बढी नै प्रतिस्पर्धा झेल्नुपरेको छ ।


नयाँदिल्लीमा नोट नाइन सार्वजनिक गर्दै डीजे गोहले भनेका थिए– नोट नाइन मेरो मनमा बसेको छ । उनले नोट नाइनलाई आफ्नो कम्पनीको अहिलेसम्मकै शक्तिशाली फोन भनेका छन् । झन् नोट नाइन नोयडास्थित सामसुङको फ्याक्ट्रीमा उत्पादन भएर संसारभर पुग्दैछ ।


सामसुङले आफ्नो सबैभन्दा बलियो र पछिल्लो स्मार्टफोन सार्वजनिक गरिरहँदा प्रतिस्पर्धी कम्पनीले पनि सोही दिन अर्को नयाँ फोन सार्वजनिक गर्‍यो । अघिल्लो बुधबार सामसुङले नोट नाइन सार्वजनिक गरेकै दिन चिनियाँ कम्पनी साओमीले आफ्नो सब ब्रान्डको फोन पोको एफ वान ल्याएको थियो । साओमीले सार्वजनिक गरेको पोको एफ वानमा पनि स्न्याप
ड्रयागन ८४५ प्रोसेसर नै प्रयोग भएको छ र यो नोट नाइनभन्दा तीन गुणा कम मूल्य अर्थात् भारु. २१ हजारमा भारतीय बजारमा बिक्री हुनेछ । भारतीय प्रविधि समीक्षकहरूका
अनुसार पोको एफ वान स्न्याप ड्रयागन ८४५ प्रयोग भएको अहिलेसम्मकै सस्तो फोन हो ।


यो घटनाले पनि अहिले भारतीय बजारमा मोबाइल ब्रान्डको प्रतिस्पर्धा कति चर्को छ भन्ने देखाउँछ । तर, सामसुङ अहिले पनि उच्च मूल्यका फोनमा भारतीय बजारमा अगाडि नै रहेको छ । पछिल्लो समय उसले जे सिरिजमा मध्यम मूल्यका फोन सार्वजनिक गर्दै बजारमा आफ्नो उपस्थिति दरिलो बनाइरहेको छ ।
भारतमा आफ्नो ठूलो फ्याक्ट्री हुनुको नाता र मोबाइलबाहेकका सामसुङका अन्य प्रविधिका कारण पनि ठूलो बजारमा पकड राख्ने उसको प्रयासलाई बल पुगेको छ ।

twitter : @bjtimalsina

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?