पुराना गाडी नयाँ गन्तव्य

सडकबाट हटाइएका बीस वर्ष पुराना गाडीलाई पुन: प्रयोग गर्न अहिलेका युवालाई प्रोत्साहित गर्न सकिँदैन र ?
विभु लुइटेल

काठमाडौँ — अमेरिकाको न्युयोर्क राज्यको ज्याक्सन हाइट्समा पासाङ थिन्लेले फुड ट्रक ‘म:म ब्रोज’ सञ्चालन गर्न थालेको डेढ वर्ष बढी भयो । यसको ख्याति यति छिट्टै फैलियो कि थिन्लेले अमेरिकाका अन्य ठूला सहरमा शाखा विस्तार नगरी सुखै पाएनन् । बिफ, चिकेन र भेज म:म बेच्दै सुरु भएको यो फुड ट्रकमा विस्तारै अन्य परिकार पनि पाइन थाल्यो ।

नेपाली थाली, चाउमिन, स्याभाले, लाफिङजस्ता परिकार त्यहाँ बसोबास गरेका नेपालीले मात्र नभई विदेशीले समेत रुचाउन थाले । उनैलाई पछ्याउँदै अरूले पनि सेलरोटी, समयबजी लगायतका नेपाली परिकार बनाई बेच्ने ट्रक अमेरिकाका विभिन्न सहरमा सञ्चालन गर्न थालेका छन् ।


काठमाडौंका सहरबजार तथा गल्लीहरूमा ठेलागाडामा खानेकुरा बेच्ने प्रचलन नौलो होइन । तर, पुराना बस, ट्रक र टेम्पोमा पनि खाना–खाजा बेचिन्छ, अझ बार नै सञ्चालन गरिन्छ भन्ने कुराले धेरैलाई अचम्मित पार्न सक्छ । राजधानीका सडकबाट करिब–करिब हराइसकेका मर्सिडिज र जापानी कोस्टरका पुराना मिनी बस प्रयोग गरी पाँच युवाले नागपोखरीमा ‘फुड ट्रक पार्क’ नामको खुला रेस्टुराँ सुरु गरेका छन् ।

Yamaha


‘होटल, रेस्टुराँ त धेरैले चलाइरहेका छन् । त्यही व्यवसायमा थोरै सिर्जनात्मकता थपौं भन्ने उद्देश्य मात्र हो,’ फुड ट्रक पार्कका सञ्चालक टसी पाल्जोर शेर्पा सुनाउँछन् । तीस वर्षीय उनले आफ्नो फर्निचर व्यवसायको मुनाफालाई फुड ट्रक पार्कमा लगानी गरेका हुन् । बेलायत, जर्मनी, फ्रान्सजस्ता देशमा देखेका फुड ट्रकको अवधारणा नेपालमा पनि प्रयोग गरी हेरौं भनी आफूले चुनौती लिएको र धेरै हदसम्म सफल पनि भएको उनको अनुभव छ ।


फुड ट्रक पार्क सुरु गरेको तीन दिनसम्म सित्तैमा खाजा खुवाइने भनी सामाजिक सञ्जालमा विज्ञापन निकालेको थियो । त्यसैले थाम्नै नसकिने भीड खानका लागि उर्लिएको टसीले बताए । त्यहाँका खानेकुराभन्दा पनि धेरैले रूप फेरिएका गाडी मन पराए, फोटो खिचेर आफ्ना इन्स्टाग्राम रंगाए । त्यसैले मार्केटिङ गर्न यसका सञ्चालकलाई खासै मिहिनेत गर्नुपरेन । ‘नयाँ कन्सेप्ट सबैले रुचाए । हामी उत्साहित भयौं,’ खुसी हुँदै टसीले सुनाए ।


फुड ट्रक पार्कमा रहेको जापानी कोस्टरमा ‘अमेरिकन डाइनर’ नामको फुड स्टेसन सञ्चालित छ । यसमा अमेरिकामा पाइने फास्ट फुड तयार गरिन्छन् । अन्य दुई बसमा ‘ताकोज एन्ड तापस’ तथा ‘द डम्पलिङ्स’ नामका फुड स्टेसनका भान्सा सञ्चालित छन् । ताकोज एन्ड तापसमा मेक्सिकन खाना–खाजा तयार गरिन्छ भने द डम्पलिङ्समा चिनियाँ ।


फुड ट्रकको सुरुवात अमेरिकाबाट भएको हो । अहिले पनि त्यहाँका युवा जमात्ले यस व्यवसायलाई सबैभन्दा सजिलो स्टार्टअपका रूपमा हेर्ने गरेको पाइन्छ । अमेरिकाको सन् २०१७ को तथ्यांक हेर्ने हो भने फुड ट्रकबाट उठेको कुल आम्दानी करिब तीन अर्ब अमेरिकी डलर छ । अमेरिकामा मात्रै सय वर्षभन्दा लामो इतिहास बोकेको फुड ट्रक संस्कृति विश्वव्यापी हुन धेरै समय लागेन । नयाँ र अनौठा परिकार बनाई बेच्न सक्नेका लागि यो व्यापार अपार हुन्छ भन्नेमा दुई मत छैन । त्यसमाथि थोरै कर्मचारी मात्र भए पुग्ने ।


विकसित मुलुकमा तुलनात्मक रूपमा थोरै लगानीमा फुड ट्रक सञ्चालन गर्न सकिन्छ । कारण, त्यहाँ सञ्चालकलाई ट्रक एकै ठाउँमा राख्नुपर्ने बाध्यता छैन । फुड ट्रक चलाएबापत सरकारलाई कर तिरे मात्र पुग्छ । तर, हाम्रोमा त्यस्तो व्यवस्था छैन । फुड ट्रक पार्कका अर्का सञ्चालक तेन्जिङ शेर्पा भन्छन्, ‘हामीले बाटोमा ट्रक वा बस गुडाई खानेकुरा बेच्ने अनुमति नै पाएनौं । त्यसैले जग्गा भाडामा लिएर यो फुड जोइन्ट सञ्चालन गर्न निकै महँगो पर्न गयो ।’


सरकारी नीति बाधक बनिदिँदा पुराना तथा विस्थापित गाडी यत्तिकै कतै थन्किएर बसेको गुनासो तेन्जिङले गरे । यो व्यवसाय सुरु गर्दा उनीहरूले भोगेको अर्को चुनौती हो– अधिकांश ग्राहकका जिब्रोले विदेशी स्वाद स्विकार्न नसक्नु । जापानी खानामा पनि गरम मसाला खोज्ने समुदायलाई यस फुड ट्रक पार्कको विविधता नीरस लाग्न सक्छ । ‘त्यस्ता ग्राहकको चित्त बुझाउन अब छिट्टै नेवारी र भारतीय खाना सर्भ गर्ने बस पनि ल्याउँदै छौं,’ सञ्चालक टसी पाल्जोर शेर्पाले बताए ।


यस व्यवसायका निम्ति प्रयोगमा आउने गाडीको सुरुमा त उचित मर्मत–सम्हार नै हुन अत्यावश्यक छ । गाडीभित्र भान्सा सञ्चालित हुन्छन्, आगोसमेत बालिन्छ । त्यसैले तिनका इन्जिन निकाल्न जरुरी छ । अमेरिकाको प्रचलन हेर्ने हो भने फुड ट्रकका भान्सेलाई गाडी चलाउनेबारे पनि ज्ञान हुनु आवश्यक छ । हाम्रोमा यस पक्षलाई भने खासै वास्ता गरिएको छैन ।
यस्तै व्यवसाय गर्ने लाममा सोसियल क्याफे, गैरीधाराका रञ्जन ओझा पनि पर्छन् । सिंगो क्याफे नै कुनै गाडीमा सञ्चालन गरिएको त होइन । तर, क्याफेको हाताभित्र उनले टेम्पोमा बार खोलेको पनि एक वर्षभन्दा बढी भइसक्यो । यही टेम्पोबाटै अल्कोहलसहितका पेय पदार्थ ग्राहकलाई दिइन्छ । कौशलटारबाट ल्याएको पुरानो तथा जीर्ण अवस्थाको टेम्पोलाई ओझा आफैंले रङरोगन तथा मर्मत–सम्हार गरी नयाँ रूप दिएका हुन् ।


‘जुनसुकै बिग्रेका गाडी सिर्जनात्मक रूपमा पुनप्र्रयोग गर्न सकिन्छ भन्ने सन्देश दिनु नै मेरो एक मात्र उद्देश्य थियो । यसमा धेरै हदसम्म सफल भएँ भन्ने लाग्छ,’ रञ्जनले भने । क्याफेमा आउने अधिकांश ग्राहकले टेम्पो बारको खुलेर प्रशंसा गरेका हुँदा यस्तै अर्को बार बनाउने उत्साह थपिएको उनले सुनाए । उनी सरोकारवाला निकायसँग प्रश्न गर्छन्, ‘सडकबाट हटाइएका बीस वर्ष पुराना गाडीलाई यही तरिकाले पुन: प्रयोग गर्न अहिलेका युवालाई प्रोत्साहित गर्न सकिँदैन र ?’

luitel.beevu@gmail.com

प्रकाशित : भाद्र १५, २०७५ १०:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

किराँती कला

पहिचानको राजनीति उत्कर्षमा पुगेका बेला किराँती संस्कृति झल्काउने पहिरन, आभूषण र अन्य सामग्रीको व्यापार–व्यवसाय पनि फस्टाउँदै गएको छ ।
विद्या राई

काठमाडौँ — भोजपुरको कटुन्जेमा जन्मिएका कपिल राईले तीन दशकअघि काठमाडौं नटेकेका भए कथा अर्कै हुन सक्थ्यो । खोटाङमा जन्मिएकी जानुका राईसँगको जम्काभेट, प्रेम र वैवाहिक सम्बन्धले पनि उनलाई फरक बाटोमा हिँडायो । युवा उद्यमीका रूपमा उनीहरूले आफ्नो बेग्लै पहिचान बनाएका छन् ।

झन्डै एक दशकको संघर्षले यी दुईलाई आफ्ना मौलिक संस्कृति र पहिचानलाई जगेर्ना गर्न क्रियाशील जोडीका रूपमा स्थापित गरेको छ ।


यी दुईले ललितपुरको ताल्चीखेलमा ‘सुम्निमा कलेक्सन’ सुरु गरेर किराँत राई संस्कृति, वेशभूषा, रीतिरिवाज, परम्परालाई जीवन्त राख्ने प्रयास गरिरहेका छन् । यो कलेक्सन किराँती संस्कृति र वेशभूषाको ‘शो रुम’ जस्तै हो । यहाँ किराँत समुदायका पुर्खाहरूले प्रयोग गर्दै आएका हातहतियार, बाजागाजादेखि सबै किसिमका पहिरन एकै ठाउँमा उपलब्ध छन् ।


मुर्चुङ्गा, बिनायो, यलम्बर बाजा, मुरली, झ्याम्टा, पुङबाजा, चरीबाजा, कठुवा, पोमी, सिलिमी, पैसाको माला, छिटको सारी, ढाका र मखमलको चोली, पटुका, खादा, सल, पटुका, थैली, दौरा–सुरुवाल, हातले बुनेको झोला पनि पाइन्छन् । पूर्वी पहाडी जिल्लाका गाउँमा बनाइने रेजी, हारी, धजुरा, कुची, लाछा माग अनुसार तयार गर्छन् ।


कलेक्सन छिर्नेबित्तिकै करिब ६ फिट अग्लो काठको चिन्डोले जोकोहीलाई आकर्षित बनाउँछ । चिन्ने, जान्ने, सुन्ने किराँतीहरू बाहिरबाट काठमाडौं आइपुगे भने चिन्डो हेर्नकै लागि भए पनि त्यहाँ पुग्छन् । चिन्डोको गलामा यलम्बर (टुङ) बाजा जन्तरजस्तै झुन्ड्याइएको छ । गालाभरि प्वाँलो, खुर्मी, बिनायो, मुर्चुङ्गाहरू गहनाका रूपमा झुन्ड्याइएका छन् । चिन्डोभित्र खुकुरी, कठुवा, चौंरीको पुच्छरलगायत किराँती संस्कृति र सभ्यता झल्काउने सामग्रीहरू छन् ।


कपिलले लामो समय अध्ययन र अनुसन्धान गरेपछि स्थापना भएको कलेक्सनलाई ‘मिनी म्युजियम’ का रूपमा विकास गर्दै लैजाने सोच बनाएका छन् । गाउँघरमा पुराना सामग्रीहरू लोप भइरहेका छन् । ‘मौलिकता हराउँदै गएको छ, भावी पुस्तालाई देखाउनका लागि भए पनि म्युजियमजस्तो बनाएर संरक्षण गर्ने योजना बनाएको छु,’ कपिलले भने ।
कठुवा, चिन्डो, हातहतियारहरू, घ्याम्पा, कुपी, तराजु, भोटे ताल्चा, मटिया, जाँड छान्ने छपनी, माछा मार्ने जाली, माछा बोक्ने जाभी, सरङलगायत संकलन गरेका छन् । कपिल किराँती मौलिकताको खोजीमा सिक्किम, दार्जिलिङदेखि ताप्लेजुङ, पाँचथर, ओखलढुंगा, सोलुका कुनाकाप्चासम्म पुगेका थिए ।


किराँतीहरूको बाक्लो बस्ती पूर्वमा रहेको छ र सुम्निमा कलेक्सनमा यहींबाट सबभन्दा धेरै माग हुने गर्छ । हङकङ, अस्ट्रेलिया, अमेरिका, जापान, सिंगापुर, इजरायललगायतबाट पनि माग आउने गरेको कपिलले बताए । ‘विदेशमा सामान कुरियर गरेर पठाउँछौं,’ उनले भने ।


कपिलले ११ वर्ष साकेलामा टुँडिखेल जाँदा एक खालिङ महिलाले चोलोको तुनामा रंगीचंगी धजुरा, पेचुरी झप्प लगाएको देखेका थिए । त्यस्तो दृश्य उनले पहिले कतै देखेका थिएनन् । उनलाई त्यसैले आकर्षित गर्‍यो । चिया पसलसँगै धजुरा, पेचरी बनाइरहेकी धापासी हाइटका ती महिलासँग उनले त्यस्तै २० वटा सामग्री अर्डर गरे । प्रतिगोटा १० रुपैयाँमा खरिद गरेर उनले २०–३० रुपैयाँमा बिक्री गरे । जानुका र कपिल किराँत समुदायको कार्यक्रममा टेबलमा राखेर बिक्री गर्न इलाम, झापा, धरानसम्मै पुगे । झोलाबाट यसरी सुरु भएको व्यवसायले सात वर्षअघि सुम्निमा कलेक्सनको रूप लिएको हो । तीन लाखबाट सुरु भएको कलेक्सन करोडकै कारोबारमा पुगिसकेको छ ।


जानुका गायिका हुन् । उनी कन्सर्टमा देश–विदेश गरिरहन्छिन् । कपिल कला संस्कृति जगेर्नामा लागेका व्यक्ति । उनी किराँत राई सांस्कृतिक कलाकार संघमा उपाध्यक्ष छन् । पोर्टल र फेसबुक पेजमार्फत सुम्निमा कलेक्सनमा धेरै ग्राहक आउने गर्छन् । ‘हामीले सुम्निमा कलेक्सन स्थापना गरेर संस्कृति जोगिएको होइन, हाम्रा गहना यहाँ आइपुग्ने पाहुना भएको रहेछ,’ कपिलले भने ।


खोटाङका राजु एन राई दशकअघि गायनका लागि राजधानी प्रवेश गरेका थिए । जतिबेला पहिचानको कुरा उठेको थियो, भाषा संस्कृति बचाउनुपर्छ भन्ने लहड सुरु भएको थियो । त्यसै बेला उनले १ लाख ७५ हजार रुपैयाँ लगानी गरेर कोटेश्वरमा जुनशिला कलेक्सन स्थापना गरे । दशकअघि स्थापित यसको मुख्य काम किराँती वेशभूषा र आभूषणको उत्पादन, संकलन र व्यापार हो । जुनशिला कलेक्सन अहिले ३५ लाखको कारोबार गर्ने भइसकेको छ ।


जुनशिला कलेक्सनले नारा नै बनाएको छ– ‘हामीले हाम्रो मौलिक वेशभूषाको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरौं, अरूको नक्कल हैन आफ्नै मौलिकतामा रमाऔं ।’ आफंैले उत्पादन गरिएका र संकलन गरिएका सामग्री यहाँ पाइन्छन् । राजुलाई पत्नी सुशीलाले पनि साथ दिएकी छन् । उनी गायिका पनि हुन् । जुनशिलाको पनि बजारमा जाने मुख्य माध्यम वेबसाइट र फेसबुक नै हुन् ।


कोटेश्वरमै रहेको ‘चिन्डो कलेक्सन’ ले पनि किराँती संस्कृतिको जगेर्ना गर्दै व्यवसायमा ढाल्ने काम गरिरहेको छ । भोजपुरकी मञ्जु राईसहित हङकङ, सोलुखुम्बु, उदयपुर, मोरङका पाँच युवायुवतीले तीन वर्षअघि चिन्डो कलेक्सन सुरु गरेका हुन् । व्यवस्थापन गरिरहेकी मञ्जु भन्छिन्, ‘हाम्रो अवधारणा संस्कृति जगेर्नाको अभियान हो । सांस्कृतिक गतिविधि बढाउने र व्यवसाय गर्ने लक्ष्य हो ।’


दस लाखको बजेटबाट सुरु भएको चिन्डो कलेक्सनको पुँजी दोब्बर भइसकेको छ । यसको शाखा हङकङमा पनि खोलिएको छ । किराँती चाडपर्वको अवसरमा सामग्रीको माग अत्यधिक हुने गरेको मञ्जुले बताइन् । कार्यक्रमका बेला यलम्बर, सुम्निमा अंकित टिसर्टलगायतको बिक्री उच्च हुन्छ । स्वर्गीय अर्जुन खालिङको सोचअनुसार स्थापित चिन्डो कलेक्सनले पनि किराँती वेशभूषा र आभूषणकै व्यापार गर्छन् । यसमा सुम्निमा, पारुहाङ, यलम्बरका मूर्ति पनि पाइन्छन् ।

bidhyaraee19@gmail.com

प्रकाशित : भाद्र १५, २०७५ १०:३३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT