कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वदेश फर्केको ठिटो

काठमाडौँ — चितवनको राप्ती नगरपालिका ११ स्थित कोराकका विश्वास चेपाङ जुन सपना साँचेर विदेश पुगेका थिए, त्यो साकार पारेपछि उनी अहिले दंग छन् । लिंकन विश्वविद्यालयमा स्नातकोत्तर पूरा गरेलगत्तै फर्किएका उनले स्वदेश आएको एक महिनाभित्रै किङ्स कलेज, बबरमहलको कार्यक्रम संयोजकमा नियुक्त पनि भए ।

स्वदेश फर्केको ठिटो

‘पढाइ सकियो । ५ महिनाको भिसा बाँकी थियो । थप बसे, समय किन सकाउनु ? समुदायका लागि केही गर्छु भनेर फर्किहालें’ २६ वर्षीय उनले भने । फर्केलगत्तै उनी केही दिन काठमाडौं बसे । अनि घर–गाउँको अवस्था बुझ्न कोराक पुगे । फेरि काठमाडौं फर्केर जागिरका लागि दौडधुप गरे । र, किङ्स कलेजमा स्नातकोत्तरको दुई कार्यक्रमको संयोजक बने ।


काम सुरु गरेपछि राजधानीमा बस्न सक्ने आधार भएको उनले बताए । उनको सोच छ, ‘चेपाङ समुदाय निकै गरिब छ र गरिबी हटाउन विस्तारै काम गर्नेछु ।’


उनकै घरमा पाखोबारीमा फलेको अन्नले ६ महिना बढी खानै पुग्दैन । सामान्यतया चेपाङ समुदायमा ६ महिना खाद्य अपुग हुने गर्छ । खान नपुगेको समयमा उनीहरू गिठ्ठा, भ्याकुर, टाँकी, सिस्नु खाएर छाक टार्ने गर्छन् । गाउँमा बालविवाहको समस्या उस्तै छ । स्कुल पनि बस्तीबाट टाढै छ र बालबालिका त्यति टाढा धाएर पढ्न मान्दैनन् । परिवारको आर्थिक अवस्था कमजोर हुँदा बीचमै पढाइ त्याग्ने धेरै छन् । स्वास्थ्य सेवाको पहुँच पनि सहज छैन । र, पोषणयुक्त खानेकुराको अभावमा बालबालिकामा कुपोषणको समस्या पनि विकराल बनिरहेको छ ।


‘यस्ता समस्या झेल्दै हुर्किएको म कसरी विदेशमा बसेर रमाउन सक्थें,’ विश्वासले भने, ‘म मेरा लागि मात्र पढ्न गएको थिइनँ । मलाई मेरो समुदायले पनि भरोसा गरेको थियो, विश्वास
गरेको थियो । त्यसैले समुदायमा परिवर्तन ल्याउने अभियानमा लागेको छु ।’ २०६८ सालको जनगणनाअनुसार नेपालमा चेपाङको जनसंख्या ६८,३९९ रहेको छ । सबभन्दा धेरै २८,९८९ चितवनमा बस्छन् ।


‘परिवर्तनको सुरुवात मेरै घर र समाजबाट गर्नुपर्छ,’ विश्वासले भने, ‘त्यसपछि समुदायमा प्रवेश जानेछु । नयाँ बानेश्वरस्थित के एन्ड के कलेजबाट स्नातक गरेका उनी स्नातकोत्तर गर्न छात्रवृत्तिमा बेलायतको लिंकन विश्वविद्यालय पुगेका थिए । ‘एडभान्स डेभलपमेन्ट इन सोसल वर्क’ मा स्नातकोत्तर गर्ने क्रममा उनले बेलायतसहित डेनमार्क, पोल्यान्ड, पोर्चुगल र फ्रान्सको विकासलाई पनि नजिकबाट नियाल्ने अवसर पाएका थिए ।


उनी ६ कक्षामा छँदै आमा पोइल गएकी थिइन् । पढाइमा खुबै रहर गरेपछि उनलाई बुबाले चितवन पर्साको अन्तोदय जनजाति आवासीय विद्यालय पुर्‍याए । त्यहाँ रहँदै बूढानीलकण्ठ स्कुल, काठमाडौंमा ४ कक्षामा नाम निस्कियो । उनले निकै मिहिनेत गर्न थाले । ०६५ सालको एसएलसीमा ७५.५ प्रतिशत अंक ल्याए । बूढानीलकण्ठमै ए लेभल सकेपछि उनी इरासमस मुन्डुज छात्रवृत्तिमा लिंकन विश्वविद्यालय पुगेका थिए । उनले पोर्चुगलका नेपालीबारे थेसिस गरेका थिए ।
– विमल खतिवडा

प्रकाशित : भाद्र २२, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?