कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दमक नेटवर्क

अर्जुन राजवंशी

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीको गृहनगर नभन्ने हो भने, दमकको अर्को चिनारी दिन गाह्रो पर्छ । झापाको दोस्रो ठूलो सहर भए पनि राजनीतिक, व्यावसायिक, शैक्षिकलगायत प्राय: गतिविधिहरू बिर्तामोडमा हुने गरेकाले यो सहरको गतिविधि व्यापक छैन ।

दमक नेटवर्क

जिल्लाका हरेक गतिविधिमा माई खोलावारि र पारिको मारमा छ, दमक । प्रधानमन्त्री ओली दमकलाई केन्द्र बनाएर ०४८ सालदेखि लगातार चुनावमा सहभागी हुँदै आएका छन् । दमकले राजनीतिक जीवनका सबै पद दिएर पनि उनले कानुनी रूपमै दमकलाई छाडेर भक्तपुरको बालकोटलाई आफ्नो थलो बनाइसकेका छन् । फेरि पनि, दमकको चिनारी उनै ओलीको गृहनगरका रूपमा स्थापित छ । ओली छन् र दमक चिनिएको छ ।

यो चिन्ता बोकेर डेढ वर्षयता एउटा ‘झुन्ड’ दमकमा हिँडिरहेको छ । आलोचना र समर्थनको सामना गरेर । अल्लारे उमेर छ । तर, विश्व राजनीतिको उदाहरण दिन्छ । विश्वलाई नै चकित पार्दै इमानुएल म्याक्रोको उदयको कुरा गर्छ । संघीयताको व्याख्या गर्छ । राजनीतिक संस्कार र संक्रमणको विकल्प खोज्छ । समावेशिता र वित्तीय अवस्थाको विश्लेषण गर्छ । न्याय र न्यायमा पहुँचको प्रभाव र असरको अवस्था केलाउँछ । मात्र डेढ वर्ष भएको छ । तर, दमकको एक लाख जनसंख्यालाई प्रभावित बनाइरहेको छ– ‘युथ नेटवर्क दमक’ ले । यसले युवालाई किताबी ज्ञानसँगै व्यावहारिक र रचनात्मक बनाउन सिकाइरहेको छ । विकृति र नकारात्मक प्रवृत्तिहरूविरुद्ध एकजुट भएर युवा अघि बढ्नुपर्छ भन्ने सन्देश दिइरहेको छ ।

‘हामीले दमकलाई सिर्जनशील र आलोचक युवाको सहर बनाउने प्रयास गरिरहेका छौं,’ नेटवर्कका महासचिव विनोद तिम्सिनाले भने, ‘युवामा सकारात्मक आलोचना र सोचाइको दायरा फराकिलो पार्ने हाम्रो लक्ष्य हो ।’ उनले युथ नेटवर्क युवा पुस्ताको व्यक्तित्व विकासमा सारथि बन्न खोजिरहेको एउटा सञ्जाल भएको बताए । ०७३ मंसिरमा क्याम्पस पढ्दै गरेका ११ जना युवाबाट सुरु भएको नेटवर्कमा अहिले ५ सय बढी युवा संलग्न भइसकेका छन् । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका लागि न्याय माग्दै सडकमा उत्रिँदासम्म नेटवर्कले २१ वटा कार्यक्रम सञ्चालन गरिसकेको छ ।

नेटवर्कको कार्यसमितिमा २० देखि ३० वर्षका मानिस छन् भने सल्लाहकारमा ३० देखि ३५ वर्षका । ‘पुस्ता हस्तान्तरणको उदाहरण पनि सिकाइरहेका छौं,’ सल्लाहकार गोविन्दराज कट्टेलले भने, ‘समाजमा बढ्दै गएको आपराधिक मनोवृत्तिबाट युवालाई बचाउन युथ नेटवर्क जन्म भएको हो ।’ उनीहरूले आफ्नो खाजा खर्च कटाएर बचत हुने रकमले कार्यक्रमहरू सञ्चालन गरिरहेका छन् ।

‘दमकलाई विचारको सहर बनाउन चाहन्छौं,’ युथ नेटकर्व दमकका अध्यक्ष सन्तोष दुलालले भने, ‘विचार र बहसका लागि काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य गर्दैछौं ।’ नेटवर्कले आत्महत्या, दुव्र्यवहार, महिला हिंसा, भ्रष्टाचारविरुद्ध अभियान चलाइरहेको छ । युथ नेटवर्कले राजनीतिक आस्था र संलग्नताले कुनै असर पुर्‍याउँदैन । समाजलाई फरक शैलीमा सकारात्मक सन्देश दिन सक्ने यसको क्षमता अहिले सबैको मन जित्ने हतियार बनेको छ ।

निर्मला पन्तबारे युथ नेटवर्कले दमक चोकमा प्रदर्शन गरेको प्रतिविम्बले सबैलाई चकित र मार्मिक बनाइदियो । नेटवर्कले भाषिक र सांस्कृतिक पहिचानलाई संरक्षणको पाठका रूपमा पनि युवालाई सिकाइरहेको छ । उसले गर्ने हरेक अन्तरसंवादलाई सीमान्तकृत जाति सन्थालको भाषाबाट ‘बैसीं टुडुब’ नामकरण गरेको छ । अर्को अल्पसंख्यक धिमाल जातिका महिलाले प्रयोग गर्ने पेटानीलाई नेटवर्कले आफ्नो ब्यानर बनाएको छ ।

नेटवर्कले युवालाई रचनात्मक र सकारात्मक विचार पैदा गराउने उद्देश्यले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, साहित्यकार राजन मुकारुङ, उपेन्द्र सुब्बा, आहुती, राजनीतिक विश्लेषक हरि रोका, नेता विश्वप्रकाश शर्मालाई ल्याएर विभिन्न विषयमा अन्तरक्रिया पनि आयोजना गरेको थियो ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?