कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पठाओ अब नेपालमा

विजय तिमल्सिना

काठमाडौँ — पठाओ’ को परिचय अनेक छ, बंगलादेशमा । एपमार्फत राइड सेयरिङ सर्भिस, सामान डेलिभरी, खाना डेलिभरी सेवाका कारण यो निकै चर्चित पनि छ । यसले भर्खरै मात्र बंगलादेशमा मोबाइल वालेट सेवा पनि सुरु गरेको छ । बंगलादेशमा लोकप्रियता कमाएको पठाओ अब नेपालमा पनि भित्रिएको छ । ‘पठाओ’ ले सम्भवत: अबको एक महिनाभित्र काठमाडौंका सडकमा आफ्ना सेवा सुरु गर्दैछ ।

पठाओ अब नेपालमा

सुरुका अवस्थामा ‘पठाओ’ ले नेपालमा बाइक सेयरिङ सर्भिस मात्रै दिनेछ । यसका लागि कम्पनीले ‘ड्राइभर’ को छनोट र तालिम सुरु गरिसकेको छ । पठाओ नेपालका लागि सहायक प्रबन्धक शशांकशमशेर थापा दुई सातामा परीक्षण सेवा सुरु गर्ने र लगत्तै औपचारिक रूपमा पठाओको सेवा थाल्ने बताउँछन् ।

पठाओले दिने जस्तै बाइक सेयरिङ सर्भिस सेवा यसअघि नै काठमाडौंमा टुटलले दिइरहेको छ । पठाओको सेवा सम्भवत: टुटलकै प्रतिस्पर्धी हुनेछ । तर, बंगलादेशको ठूलो जनसंख्यामा सेवा पुर्‍याएको पठाओको अनुभव र प्रविधि केही माथि हुने अपेक्षा छ । पठाओले राइड सेयरिङमा चलनचल्तीमा रहेको प्रविधिमार्फत नै सेवा दिनेछ । जस्तो : प्रयोगकर्ताले एपमार्फत आफूले जानुपर्ने ठाउँसम्मका लागि उपयुक्त चालक फेला पार्न सक्छन् र सोहीअनुसार सेवा प्रयोग गर्न सक्छन् ।

पठाओजस्ता सेवा नेपालमा पनि सुरक्षित हुने थापाको अपेक्षा छ । ‘हामीसँग को चालक कुन सेवाग्राहीसँग कहाँ गए भन्ने तथ्यांक हुन्छ,’ उनी भन्छन्, ‘त्यसकारण यो बढी सुरक्षित हुन्छ ।’ पठाओ नेपालको उद्देश्य व्यापारभन्दा बढी सेवा केन्द्रित रहने उनको दाबी छ । ‘हामी जतिसक्दो धेरै चालकहरू दर्ता गर्छौं । उनीहरूले मासिक ३० देखि ४० हजार रुपैयाँसम्म कमाउन सकून् भन्ने हाम्रो ध्याउन्न हुन्छ,’ उनले भने । पठाओको चालक बन्न आफ्नो नाममा सवारी चालक अनुमतिपत्र, सवारी धनी प्रमाणपत्र अनिवार्य रहेको उनले बताए ।

पठाओले जतिसक्दो बढी चालकहरू परिचालन गर्ने र बढी सेवा दिने उद्देश्य राखेको अर्की सहायक प्रबन्धक सुरक्षा हमालले बताइन् । बंगलादेशमा जस्तै काठमाडौंमा पनि ट्राफिक जाम र सवारीको समस्या हुने भएकाले पठाओको सेवाले यो समस्या समाधानमा सेवा पुग्ने उनी दाबी गर्छिन् । बंगलादेशमा पठाओले बाइक सेयरिङ सर्भिसबाहेक कार, सामान र खानाको डेलिभरीजस्ता सेवा पनि दिइरहेको छ । नेपालमा तत्काल बाइक सेयरिङ सर्भिस सुरु मात्रै हुने भए पनि भविष्यमा अन्य सेवातर्फ अघि बढ्ने शशांकशमशेर थापाले बताए ।

‘हामी एक मात्रै सेवा नदिएर भिन्नभिन्न सेवालाई एउटै छातामुनि राख्छौं । एउटै एपबाट धेरै सेवा पाउने भएपछि मानिसको जीवनयापन सहज हुन सक्छ,’ थापाले भने । पठाओको प्रतिस्पर्धीका रूपमा नेपालमा पहिल्यैदेखि टुटल रहँदै आएको छ । पठाओले यो प्रतिस्पर्धा देख्दादेख्दै किन नेपाल रोज्यो ? थापाको उत्तर छ, ‘हामीले एक सेवाबाट सुरु गरे पनि भविष्यमा धेरै सेवाहरू एकै ठाउँमा दिने सोच बनाएका छौं ।’ उनका अनुसार पठाओले भविष्यमा नेपालमा पनि सामान र खानेकुरा पुर्‍याउनेसहितका अन्य सेवा दिन सक्नेछ ।भविष्यमा धेरै सेवा दिने सोचका कारण पठाओको प्रतिस्पर्धा एउटा सेवा मात्रै दिने अन्य कम्पनीसँग नहुने तर्क थापाको छ । नेपालमा बाइक राइड सर्भिस दिने टुटल भएजस्तै बोलाएको ठाउँमा आउने र गन्तव्यमा पुर्‍याउने सारथिजस्ता अन डिमान्ड ट्याक्सी सेवा दिने कम्पनी पनि छ । पठाओले बाइक राइडिङसहित ट्याक्सीमा पनि आफ्नो सेवा सुरु गरे सारथि पनि उसको प्रतिस्पर्धी बन्ने छ । पठाओको आगमनले विदेशी कम्पनीका लागि नेपाली बजार खुला रहेको संकेत पनि गर्छ । यसअघि रकेट इन्टरनेटको स्वामित्वमा रहेको ई–कमर्स साइट दराजलाई अलिबाबाले किनेपछि चिनियाँ कम्पनीको प्रवेश नेपालमा भइसकेको छ ।

प्रकाशित : आश्विन ५, २०७५ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?