कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हिपहपका दुश्मन

महिला र्‍याप आर्टिस्टमध्ये सबैभन्दा चर्चित निकी मिनाज कार्डी बीको आगमनमा खुसी थिइनन् भन्ने गरिएको छ । त्यसलाई यी दुईको पछिल्लो झगडाले पनि मलजल गरेको छ ।
हेलो शुक्रबार

काठमाडौँ — वर्तमान हिपहपका दुई ठूला नाम हुन्– निकी मिनाज र कार्डी बी । अहिलेका सबैभन्दा ठूला दुश्मन पनि यिनै हुन् । हालै सम्पन्न हार्पर्स बजार आइकन फेसन विकमा यो जोडीले रमिता देखायो । कार्डीले निकीलाई जुत्ताको झटारो हानिन् । बाहिर निस्किँदा कार्डीको आँखा सुन्निएको देखियो । उनी खाली खुट्टा थिइन् भने लुगा च्यातिनुका साथै विग (नक्कली कपाल) उखालिएको थियो ।

हिपहपका दुश्मन

निकीले आफ्नी छोरीबारे टिप्पणी गरेकाले आफू जाइलागेको कार्डीको भनाइ छ । हालै पहिलो सन्तानकी आमा बनेकी कार्डी आफ्नो अभिभावकत्वलाई लिएर प्रश्न उठेपछि असह्य भएको बताइरहेकी छन् । ‘मेराबारे जेसुकै भनियोस्, म चित्त बुझाउँछु,’ उनले भनेकी छन्, ‘यतिन्जेल सहेकै पनि हो । तर, मेरो सन्तानलाई लिएर कसैले टिप्पणी गरेको स्वीकार्य छैन ।’ उनले यही आशयको लामो स्टाटस इन्स्टाग्राममा पनि पोस्ट गरेकी छन् ।


कार्डीको कुराले आफू स्तब्ध भएको भन्दै निकीले ‘क्विन रेडियो’ मार्फत आक्रोश र गुनासो पोखेकी छन् । अरूका सन्तानबारे बोल्दै हिँड्न आफू मूर्ख नभएको निकीको जिकिर छ । ‘मान्छेहरू किन मलाई खराब साबित गर्न तल्लीन हुन्छन्,’ निकीको भनाइ छ, ‘म कसैको छोरानातिबारे किन बोल्छु ? म जोकर हैन । ईश्वरले तिमीलाई खुसीको बहार दिएका छन् । त्यसलाई प्रचार सामग्री नबनाऊ ।’


यी र्‍याप स्टारको पछिल्लो झगडा उनीहरूको लामो मनमुटावपछिको विस्फोट मानिएको छ । महिला र्‍याप आर्टिस्टमध्ये सबैभन्दा तगडा र चर्चित निकी मिनाज कार्डीको आगमनमा खुसी थिइनन् भन्ने गरिएको छ । कार्डीलाई ‘नयाँ निकी मिनाज’ समेत भन्न थालिएको थियो । यसले निकीलाई असुरक्षित महसुस गराएको बताइन्थ्यो । उनले आफ्ना गीतमा कार्डीलाई व्यंग्य गरेको भन्दै निकै गसिप पनि भए ।


कार्डी पनि कम थिइनन् । निकीलाई गीतमार्फत नै प्रतिउत्तर दिने गर्थिन् । एकअर्कालाई तथानाम भन्ने गरेका थिए । गीतबारे सोध्दा निकी भन्थिन्, ‘कार्डी आउनुभन्दा अघि नै लेखेका गीत हुन् मेरा । म आफ्ना गीत आफैं लेख्छु । कसैलाई व्यंग्य गरिएको छैन ।’ कार्डी भने आफ्ना गीत अरूले नै लेखिदिने भएकाले त्यसमा आफ्नो अभिव्यक्ति नहुने बताउँथिन् ।
नौ महिनाअघि सार्वजनिक भएको ‘मोटर स्पोर्ट...’ गीतमा निकी र कार्डीको स्वर समाविष्ट छ । भिडियोमा दुवै जना छन् तर सँगै होइन । यो गीतले दुईको सम्बन्ध जोड्नुको सट्टा थप विवाद सिर्जना गर्‍यो । निकीलाई कार्डी पनि गाउँदैछिन् भन्नेबारे अन्तिम पलमा थाहा भएछ । उनले शब्द फेरेर व्यंग्यात्मक बनाइछन् । म्युजिक भिडियो सार्वजनिक भएपछि कार्डीले चित्त दुखाउँदै भनेकी थिइन्, ‘उहाँहरूजस्तो स्टारसँग काम गर्न पाउँदा म खुसी थिएँ ।’


हुन त कार्डीको सफलतामा निकीले पनि खुसी नजनाएको होइन । सन् २०१७ मा कार्डीको ‘यलो बोडाक...’ गीतले बिलबोर्ड हट हन्ड्ेरडमा पहिलो स्थान हासिल गर्दा निकी सबैभन्दा बढी उत्साहित देखिन्थिन् । उनले कार्डीलाई बधाई दिँदै ट्वीटसमेत गरेकी थिइन् । त्यो बेला एकल गीतमार्फत बिलबोर्ड टप गर्ने इतिहासकै दोस्रो र्‍यापर बनेकी थिइन् कार्डी । लउरिन हिल्सको ‘द्याट थिंग...’ (१९९८) गीतपश्चात् कुनै पनि महिला र्‍यापरको एकल गीतले हट हन्ड्रेडमा पहिलो स्थान पाएको थिएन ।


कार्डीलाई बधाई दिनेदेखि उनकै पति अफसेटसँग युगल गाउने निकी विस्तारै विवादमा फस्न थालिन् । उनका गीतमा कार्डीलाई होच्याउने गरेको भन्न थालियो । निकीका विरोधीले कार्डीलाई उचाल्न थालेपछि यी दुईबीच गीत–गीतमै भनाभन चल्यो । निकी र कार्डीका गीतको हरफ काटेर युट्युबमा ‘सङ ब्याटल’ बनाइएको छ । त्यहाँ उनीहरू एकअर्काविरुद्ध खनिएको प्रष्ट सुनिन्छ । निकीले टेलर स्विफ्टसँग मिलेर कार्डीका गीतलाई छायामा पार्न खोजेको आरोप लगाइयो ।


कार्डीको लोकप्रियताअघि निकी नै हिपहप चार्टको अग्रस्थानमा आउने गर्थिन् । सन् २०१० मा ‘पिंक फ्राइडे....’ गीतमार्फत संगीतमा प्रवेश गरेकी निकी आफ्नो शब्द चयन, रिदम, फ्लो र लवजका लागि र्‍याप विधामा प्रसिद्ध बनिन् । उनको बार्बी लुक्स रुचाइयो । बिलबोर्ड सूचीमा उनका जति गीत कुनै पनि महिला आर्टिस्टका छैनन् । निकीलाई र्‍याप क्विन भन्न थालियो ।


यस्तोमा कार्डीको आगमन भयो सन् २०१५ मा । उनी नयाँ अवतारमा प्रस्तुत भइन् । स्लो र्‍याप उनको विशेषता बन्यो । तर, सन् २०१७ मा ‘यलो बोडाक...’ गाउनुअघि कार्डी इन्स्टाग्राम सेलिब्रेटी मात्र थिइन् । विस्तारै गायनमा नाम कमाइन् । जेनिफर लोपेज, ब्रुनो मार्स, रिटा ओरा, मरुन फाइभजस्ता ठूला संगीतकर्मी/ब्यान्डसँग सहकार्य गरिन् । गर्भवती अवस्थामा समेत भव्य स्टेज प्रस्तुति दिएपछि कार्डी झनै लोकप्रिय बनेकी थिइन् ।


यी दुई कलाकारको मिलन हुन सके र्‍याप विधामा महिलाको उपस्थिति सशक्त हुने अपेक्षा गरिएको छ । उनीहरूको झगडाले संगीतमा क्षति पुगिरहेको विदेशी सञ्चार माध्यमले लेखेका छन् । नयाँ आर्टिस्टको सफलतालाई पुरानाको छवि विस्थापित नगर्ने भन्दै तिनले निकीलाई ढुक्क रहन सल्लाह दिएका छन् भने कार्डीले पनि संयमित भएर अग्रजको सम्मान गर्नुपर्ने बताइएको छ ।
–एजेन्सीहरूको सहयोगमा

प्रकाशित : आश्विन १२, २०७५ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?