कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भव्य ईपीएल फितलो व्यवस्थापन

दिनमा दुई खेल भएको अवस्थामा ईपीएल क्रिकेट हेर्न त्रिवि मैदान आएका समर्थकले ६ घण्टासम्म पिसाब रोकेर बस्नुपर्ने बाध्यता छ ।
कुशल तिमल्सिना

काठमाडौँ — धनगढी प्रिमियर लिग (डीपीएल) बाट नेपालमा सुरु भएको फ्रेन्चाइज टिमहरूको ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगिताले ठूलै रूप लिइसकेको छ । यसै खालको एभरेस्ट प्रिमियर लिग (ईपीएल) पछि पोखरा प्रिमियर लिग (पीपीएल) पनि सुरु भइसकेको छ ।

भव्य ईपीएल फितलो व्यवस्थापन

अहिले कीर्तिपुरमा ईपीएलको तेस्रो संस्करण सञ्चालन भइरहेको छ । राजधानीमा हुने घरेलु क्रिकेटको सबभन्दा ठूलो प्रतियोगिता सामाजिक सञ्जाल र सञ्चार माध्यमहरूमा पनि चर्चासँगै उत्तिकै स्थान पाइरहेको छ । उद्घाटन खेलमा करिब ११ हजार टिकट बिक्री भएबाट समर्थक प्रतियोगिता कुरेर बसेका थिए भन्ने देखाउँछ ।


ईपीएललाई यसपालि ठूला विदेशी नामले पनि विशेष बनाएको छ । आयोजकले प्रतियोगितालाई भव्य बनाउन सबै किसिमको प्रयास गरेको छ । मैदानबाहिर झकिझकाउ पारिएको छ । प्रवेशद्वारदेखि नै सबै प्रायोजकका होर्डिङ बोर्ड पनि देख्न सकिन्छ । पेबिलियनको छतमा टेन्ट राखेर भीआईपी बक्स बनाइएको छ । रंगशाला वरिपरि स्वयम्सेवकहरू खटिएका छन् ।


तर, स–साना कुरामा आयोजकले ध्यान दिन छुटाएको देखिन्छ । जसले उसको व्यवस्थापनलाई फितलो बनाइदिएको छ । प्रतियोगिताका क्रममा आउने सबै गुनासालाई सम्बोधन गर्न नसकिएला तर कम गुनासो आउनुलाई पनि कार्यक्रम सफल भएको मानिन्छ ।


तीन महिना अघिदेखि मिति घोषणा गरेर तयारी सुरु गरे पनि ईपीएल आयोजक आफ्ना प्रायोजक खुसी पार्नमै केन्द्रित रह्यो । लामो तयारीको समय पाएर पनि कीर्तिपुर मैदानको आउटफिल्ड स्तरीय बनाउन चुकेको देखिन्छ । मैदानमा दुबो सुकेको छ भने बलिङ र फिल्डिङ गर्दा धूलो उडेको प्रस्टै देखिन्छ । तीनवटा पिच फरक–फरक कन्डिसनलाई सहयोग गर्ने बनाइए पनि आउटफिल्ड धेरै राम्रो बनाउन सकिन्थ्यो ।


ट्वान्टी–ट्वान्टी खेल कम्तीमा तीन घण्टाको हुन्छ । दिनमा दुई खेल भएको अवस्थामा क्रिकेट हेर्न आएका समर्थकले ६ घण्टासम्म पिसाब रोकेर बस्नुपर्ने बाध्यता छ । खुला दिसा–पिसाबमुक्त राजधानीमा आयोजकले एउटै पनि चर्पीको व्यवस्था गरिदिएका छैनन् । अरू त अरू नै भइहाले, म्याच अफिसियल, विदेशी चियर लिडर्स र पत्रकारहरूले प्रयोग गर्ने चर्पी पनि झारो टार्ने खालका छन् । चर्पीमा पानी त परै जाओस्, दैनिक सरसफाइ पनि गरिएको छैन ।


गत महिना पोखरामा भएको पीपीएलमा फ्रेन्चाइज टोलीले नै चर्पी बनाइदिएका थिए । कीर्तिपुर मैदान परिसरमा चर्पीको व्यवस्था नभएकोप्रति व्यंग्य गर्दै एक समर्थकले ट्वीट गरेका छन्, ‘यदि छक्का हानेको बल मैले एक हातले समातें र ५० हजार पाएँ भने रंगशालामा उपस्थित समर्थकका लागि चर्पी बनाउन खर्च गर्नेछु ।’


उद्घाटनको दिन खेल सुरु हुनुअघि रंगशाला पुगेका पत्रकारहरू मिडिया बक्स खोजी गर्दै थिए । सामान्यत: मिडिया बक्स पेबिलियनको दायाँतर्फ बनाइएको हुन्थ्यो । तर, यसपालि त्यहाँ प्रवेश दिइएन । पछि थाहा भयो, उद्घाटनअघिको सांगीतिक कार्यक्रमका लागि बनाइएको मञ्च नै मिडिया बक्स रहेछ । जहाँ दीपक बज्राचार्यले आफ्नो ब्यान्डसहित गीत प्रस्तुत गरिरहेका थिए । पूर्वतर्फ बनाइएको मञ्चबाट मैदान त पूरा देखिन्छ तर स्कोरबोर्ड देखिँदैन, जुन पत्रकारका लागि सूचना संकलन गर्न प्राथमिकतामा पर्दछ । मिडिया बक्सबाट अपराह्नपछि ‘एन्टी लाइट’ ले गर्दा खेल हेर्नै मुस्किल पर्छ ।


सामान्यत: अन्तर्राष्ट्रिय प्रतियोगिता होस् वा घरेलु । खेलाडीका परिवारलाई नि:शुल्क पासको व्यवस्था हुन्थ्यो । यसपटकको आईपीएलमा त्यो सुविधा छैन र खेलाडी आक्रोशित छन् । साथै सबै टिमलाई समान व्यवहार नगरिएकामा केही टिमका मालिकले असन्तुष्टि पनि व्यक्त गरेका छन् ।


कीर्तिमानको ओइरो

यसपटकको ईपीएलको दोस्रो दिन नै धेरै कीर्तिमान बने । त्रिवि मैदानमा एकै खेलमा सबैभन्दा धेरै रन बन्यो । घरेलु ट्वान्टी–ट्वान्टी क्रिकेटमा व्यक्तिगत उच्च स्कोर पनि ।


सन् १९९७ मा तयार गरिएको मैदानमा अर्को वर्षदेखि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउन थालिएको थियो । यसमा खेलिएको छोटो संस्करणको क्रिकेटमा सबभन्दा धेरै रन यसैपालि बनेको हो । पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सबीचको खेलमा कुल ४ सय ३१ रन बन्यो । दुई सय १६ रनको चुनौती पाएको भैरहवाले भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहको शतकीय इनिङ्सको सहयोगमा २ बल अगावै खेल जितेको थियो । यसअघि ईपीएलको एउटै इनिङ्समा १ सय ७४ रन (विराटनगरले चितवनविरुद्ध/२०१७) को कीर्तिमान थियो । कीर्तिपुरमा घरेलु प्रतियोगितामा १ सय ८५ रन (पञ्चकन्या तेजले सगरमाथाविरुद्ध/२०१६) ठूलो स्कोर थियो । र, पीपीएलमा पोखराले विराटनगरविरुद्ध १ सय ९८ रन बनाएको थियो । तीनै ठूला स्कोरका खेलमा यति ठूलो चुनौती पार गरेको थिएन ।


घरेलु ट्वान्टी–ट्वान्टीको एकै इनिङ्समा सबैभन्दा धेरै चौका र छक्का पनि त्यही खेलमा भयो । भैरहवाले १६ छक्का र १२ चौका प्रहार गर्‍यो भने पोखराले १२ छक्का र १४ चौका हान्यो । भारतीय खेलाडी रवि इन्दर सिंहले नटआउट १ सय २५ रन बनाए र यो पनि कीर्तिमान नै हो । सन् २००७ देखि २०१४ सम्म भारतको प्रतिष्ठित रणजी ट्रफी पञ्जावबाट खेलेका उनले ६० बलमा १० छक्का र ८ चौका प्रहार गरेका थिए । उनले आसिफ शेख (१११ रन/पञ्चकन्या तेज) को कीर्तिमान तोडेका हुन् ।



स्टारकै सान

घरेलु क्रिकेटमा विदेशी खेलाडीको आगमन ईपीएलबाटै सुरु भएको हो । गत संस्करणको ईपीएलमा पहिलोपटक विदेशी खेलाडीको प्रदर्शन नेपाली समर्थकले त्रिवि मैदानमा हेर्न पाएका थिए । त्यति बेला श्रीलंकाका फरबेज माहारुफ, हङकङका कप्तान बाबर हायत र उपकप्तान अंशुमन रथ, भारतीय खेलाडीहरू सन्नी पटेल, पुनित मेहरा, इर्साउल्लाहलगायतले खेलेका थिए ।

यसपटक भने ईपीएलले अलि माथिल्लै स्तरका विदेशी खेलाडी भित्र्याएको छ । दक्षिण अफ्रिकाका कीर्तिमानी क्रिकेटर रिचर्ड लेभी (पोखरा राइनोज), आयरल्यान्डका केभिन ओ’ब्रायन (काठमाडौं किङ्स) र पाउल स्टिर्लिङ (चितवन टाइगर्स), नेदरल्यान्ड्सका रायन टेन डेस्काथ (भैरहवा ग्लाडिएटर्स), रोएल्फ भान डार मार्वे (विराटनगर वारियर्स), भारतका रवि इन्दर सिंह (भैरहवा), सन्नी पटेल (ललितपुर प्याट्रिएट्स), स्कटल्यान्डका कायल कोएट्जर (पोखरा राइनोज) ईपीएलका ठूला अनुहार हुन् ।


लेभीले आफ्नो स्वभावअनुसारको विस्फोटक ब्याटिङ गरिरहेका छन् । पहिलो खेलमै भैरहवाविरुद्ध उनले ३६ बलमा ७९ रनको शानदार इनिङ्स खेलेका थिए । अर्को खेलमा ललितपुरविरुद्ध ८४ रन बनाए । रणजी ट्रफीमा भारतीय लिजेन्ड्स हरभजन सिंह र युवराज सिंहसँग पेबिलियन सेयर गरिसकेका रवि इन्दरले गत महिना पोखरालाई पीपीएलको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी फाइनल र पीपीएलकै सर्वाधिक रन जोड्ने खेलाडी हुन् ।


पोखराविरुद्ध विराटनगरका डच खेलाडी रोएल्फले दुई र भान डारले तीन विकेट लिएका थिए । टेलिभिजनमा मात्र देखिएका अन्तर्राष्ट्रियस्तरमा चर्चित खेलाडीको आगमनले नेपाली समर्थकलाई उत्साहित बनाएको छ ।


[email protected]

प्रकाशित : मंसिर २८, २०७५ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?