कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झरनामा झुम्मिँदै

साह्रै रमाइलो लाग्यो । धेरै फोटो खिच्यौं । फोटो खिच्दा पानीले भिजेको पनि पत्तो पाइएन ।
विमल खतिवडा

काठमाडौँ — चितवनको मुग्लिन बजारबाट नारायणगढतर्फ लागेपछि ७ किमि छिचोल्नासाथ पुग्ने ठाउँ हो जलवीरे । गर्मी होस् वा जाडो, यो ठाउँको यात्रामा निस्कने धेरै भेटिन्छन् । मुग्लिन–नारायणगढ सडक खण्डमा पर्ने जलवीरेबाट करिब आधा घण्टा उकालो 
पैदल हिँडेपछि पुगिन्छ झरना, जुन यस क्षेत्रकै खास आकर्षण बनेको छ ।

झरनामा झुम्मिँदै

झरनानजिक मोटर बाटो पुगेको छ । तर कच्ची सडक । जिप, मोटरसाइकल सहजै पुग्छ । ठूला बस र निजी सवारी साधन लिएर आउनेहरू सडक छेउमा पार्किङ गरी पैदल झरनातर्फ लाग्छन् । सडकबाट झरना देखिँदैन । झरनाबारे जानकारीमूलक सूचना बोर्ड प्रवेशद्वारमै राखिएको छ । युट्युबमा चितवनको जलवीरे झरनालाई खोज्ने हो भने प्रशस्तै लोभलाग्दा भिडियो पाइन्छन् । झरना अलौकिक लाग्छ । एक सय २ मिटर लामो झरनामा पानी निरन्तर झर्दछ । यहाँ पुग्नेहरू थकान मेटाएको अनुभूति गर्दै घण्टौं भुल्छन् ।

अघिल्लो साता झरना पुगेकी धादिङबेंसीस्थित एडभान्स एकेडेमीमा कक्षा ११ मा अध्ययनरत ज्ञानु तामाङको ४०

जनाको समूह नवलपरासीको शाश्वतधाम हिँडेका बेला झरनातिर मोडिएको थियो । ‘साह्रै रमाइलो लाग्यो,’ उनले भने, ‘धेरै फोटो खिच्यौं । फोटो खिच्दा पानीले भिजेको पनि पत्तो पाइएन ।’


गर्मी मौसममा शीतल खोज्नेहरूको भीड झरनामा देखिन्छ । झरना नजिकै पुग्दा शरीर भिजिसकेको हुन्छ । चिसो मौसममा पनि पानीमा भिजिरहेको, भिडियो र फोटो खिचिरहेका दृश्य नौला लाग्दैन । कलेज र विद्यालयको शैक्षिक भ्रमणको गन्तव्य प्राय: यही झरना बन्ने गरेको छ । त्यसो त पछिल्लो समय झरना फिल्म र म्युजिक भिडियो छायांकन स्थल पनि भएको छ । ‘मधुमास’ फिल्मको ‘मन भमरा भयो...’ गीतको केही दृश्य यही झरनामा कैद गरिएको थियो ।


अभिनेत्री पूजा शर्मा र आर्यन सिग्देलले पानीमा भिजेर रोमान्स गर्दै नाचिरहेको दृश्य देख्न पाइन्छ । त्यस्तै ‘जिन्दगी रक्स’ र ‘भेटी’ फिल्मको गीत तथा फिल्मका केही दृश्य झरनामा खिचिएको थियो । लामो झरना पर्यटन विकास समितिका अध्यक्ष देवकुमार गुरुङ सबैभन्दा बढी भोजपुरी फिल्मको गीत छायांकन हुँदै आएको सुनाउँछन् ।


मंसिरको अन्त्यसम्म क्यानोनिङ गर्नेहरू हुन्छन् । आन्तरिक तथा बाह्य पर्यटक क्यानोनिङका लागि आउँछन् । समितिका अध्यक्ष गुरुङ भन्छन्, ‘त्रिशूलीमा र्‍याफ्टिङ गर्न आउने पर्यटकले यहाँ क्यानोनिङ गर्न आउँछन् ।’ र्‍याफ्टिङ गराउने गाइडहरूले नै पर्यटकलाई झरनासम्म ल्याउँछन् । गर्मीमा भने स्विमिङकै लागि आउने आन्तरिक पर्यटक बढी हुन्छन् । घुम्न आउनेहरूबीच फोटो खिच्न प्रतिस्पर्धा चल्छ । भीडमा जता हेर्‍यो, उतै फोटो खिचिरहेको देखिन्छ । कोही सेल्फी त कोही उफ्रिएर रमाएको फोटो खिच्न तल्लीन बन्छन् ।

‘क्यानोनिङ सुरु भएपछि झरनाको प्रचार राम्रै भयो,’ इच्छाकामना गाउँपालिका ६ का वडा अध्यक्ष भूपेन्द्र चेपाङ भन्छन्, ‘अझै राम्रोसँग प्रचारप्रसार गर्नुपर्छ ।’ दैनिक ७ सय ५० जनासम्म झरनामा आएको रेकर्ड भएको उनले सुनाए । उनका अनुसार २०६७ सालयता झरना हेर्नेको भीड बढेको हो  पछिल्लो समय भारतीय पर्यटक पनि झरनासम्म आउन थालेका छन् ।


प्याडल नेपालका गाइड भरत गुरुङ झरनामा ९ वटा उपझरना (छहरा) भएकाले क्यानोनिङका यो स्थल उपयुक्त भएको बताउँछन् । ‘सेप्टेम्बरदेखि नोभेम्बरसम्म यहाँ क्यानोनिङका लागि उपयुक्त हुन्छ,’ उनले भने ।


झरना नजिक रात बिताउन भने समस्या छ । त्यसका लागि मुग्लिन नै पुग्नुपर्छ । लोकल कुखुराको मासु, ढिँडो र गुन्द्रुक खुवाउने गरी होमस्टे सञ्चालन गर्न स्थानीय लागिपरेका छन् । झरना नजिक खाजा र खाना खाने होटल मात्र छन् । झरनामाथि याकराङ गाउँ छ । जहाँ गुरुङ समुदायको बाक्लो बस्ती रहेको छ । याकराङमा सडक विस्तारसँगै होमस्टे सञ्चालन गर्न लागिएको हो । झरना नजिकै पार्क बनाइएको छ । सिँढी चढेर झरना पुग्न मिल्छ । पानी रोकेर पौडी खेल्न मिल्ने पोखरी पनि बनाइएको छ । गुरुङ र चेपाङ संस्कृति पनि यहाँ नजिकबाट नियाल्न सकिन्छ । पालो लगाएर स्थानीयले दैनिक झरना वरपर सफा गर्छन् ।


[email protected]

प्रकाशित : पुस ६, २०७५ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?