बोटे, माझी र मुसहरको नाम दिइयो गोहीलाई !

रासस

रत्ननगर, चितवन — बोटे, माझी र मुसहरको नाम गोहीलाई दिइयो भन्दा अचम्म नमान्नुहोला । घडियाल गोहीको अस्तित्व जोगाइराख्ने प्रयासस्वरुप यसरी नामकरण गरिएको हो । उनीहरुको नाम जोडेर प्राकृतिक बासस्थान (राप्ती नदी)मा पहिलो पटक गोही छाड्ने काम भएको छ । यसको मुख्य उद्देश्य गोही संरक्षण यी समुदायको सहभागिता अभिवृद्धि गर्नु हो । 

यसअघि कहिल्यै पनि गोही छाड्दा बोटे, मुसहर, माझीलाई समुदाय सहभागी गराइएको थिएन । मन्त्री, नेता वा सरकारी अधिकारीको रोहवरमा गोही छाडिन्थ्यो । तर शुक्रबार भने फरक गतिविधिका साथ सिमान्तकृत समुदायलाई केन्द्रबिन्दुमा राखेर चिह्न लगाई २४ वटा घडियाल गोहीलाई राप्ती नदीमा छाडिएको छ ।

Citizen

राष्ट्रिय प्रकृति संरक्षण कोष चितवन र जेडएसएल नेपालको सहयोगमा भएको उक्त कार्यक्रममा बोटे, मुसहरले समेत गोही समाएर नदीमा छाडे । जहाँ महिलासमेत सहभागी थिए । विगतमा नदीमा माछा मार्न राखिएका जालमा अड्किएर गोही मरेका उदाहरण छन् । त्यसैले यो नयाँ प्रयोगस्वरुप जिम्मेवार बनाई संरक्षणमा चेतना दिन उनीहरुको नाममा गोही छाडिएको चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत तथा प्रजनन केन्द्रका प्रमुख वेदबहादुर खड्काले जानकारी दिए ।

जल र जंगलमा आश्रित हुँदै आएका ती समुदायलाई गोही संरक्षणप्रति जिम्मेवारी बोध गराउन पहिलो प्रयोगस्वरुप उनीहरुकै नाममा यसरी प्राकृतिक बासस्थानमा गोही छाडिएको हो । विश्वमै अति–संकटासन्न अवस्थामा पुगेको छ घडियाल गोही । त्यस प्रजातिको संरक्षण चुनौती बन्दै गएको छ । केही वर्षअघिसम्म नेपालका ठूला नदीमा पाइने घडियाल गोही चितवन र बर्दियामा मात्र सीमित हुन पुगेको छ । अहिलेसम्म निकुञ्जमा पालिएका एक हजारभन्दा बढी गोही छाडिए पनि नदीमा गोही नगण्य छन् ।

निकुञ्जमा गोही प्रजनन केन्द्र नहुँदो हो त नेपालमा यो प्रजाति लोप भइसक्ने थियो । नदीमा गोहीको संख्या घट्दो क्रममा रहेकाले संख्या बढाउन यसरी पालिएका गोही नदीमा छाड्ने गरिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिए ।

एक हजारभन्दा बढी गोही नदीमा छाडिए पनि पछिल्लो अनुगमनमा नेपालका नदीमा घडियाल गोहीको संख्या १९८ गणना गरिएको छ । निकुञ्जको गोही प्रजनन केन्द्रमा हुर्काएर नदीमा छाड्ने गरिए पनि करिब १० प्रतिशत मात्रै बाँच्ने गरेको छ । पछिल्लो पटक बर्दियामा समेत गोही प्रजनन हुन थालेको छ । प्रदूषित पानी, माछाको अभाव तथा बगेर भारत पुग्ने लगायतका कारण पनि गोही लोप हुँदै गएको पाइन्छ । यस पटक छाडिएका गोही करिब ६ देखि ७ वर्षको छ । यसअघि फागुन २ गते पनि उक्त नदीमा २४ वटा गोही छाडिएको थियो ।

गोही नदीमा छाड्दै क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्लेले पानीमा गोही पाउनु सफा पानीको सूचक भएको र पारिस्थितिक प्रणालीमा यसको उपस्थितिको ठूलो महत्व रहेको उल्लेख गरे ।

निकुञ्ज आसपास पानीमा आश्रित समुदाय बोटे, माझी, मुसहरलाई समेत सहभागी गराएर उनीहरुकै नाममा गोहीलाई नदीमा छाडिँदा ती समुदायमा संरक्षणप्रति चासो बढ्ने आशा राखिएको अर्यालले बताए ।

प्रकाशित : फाल्गुन ५, २०७४ १४:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

दुवै छिमेकी निकटता बढाउन ‘आतुर’

प्रधानमन्त्री ओलीलाई भारत र चीन भ्रमण गर्न निम्तो
चन्द्रशेखर अधिकारी

काठमाडौँ — छिमेकी मुलुक भारत र चीन प्रधानमन्त्री केपी ओलीलाई छिटोभन्दा छिटो आफ्नो मुलुकमा स्वागत गर्न ‘आतुर’ देखिएका छन् । नयाँ सरकारसँग निकटता बढाउन दुवै देशका समकक्षीले ओलीलाई बधाई र शुभकामनासँगै भ्रमणको निम्तोसमेत पठाइसकेका छन् ।    

चिनियाँ राजदूत यू होङले बिहीबार ओलीले शपथ लिनुअघि नै प्रधानमन्त्री ली खछ्याङको बधाई तथा शुभकामना वक्तव्य सुनाएकी थिइन्। वक्तव्यमा चीनले नयाँ सरकारसँग निकै निकट रहेर आर्थिक समृद्धिका लागि सहकार्य गर्न चाहेको उल्लेख छ।

संक्षिप्त भेटमा राजदूत होङले प्रधानमन्त्री ओलीलाई बेइजिङमा स्वागत गर्न आफ्नो सरकार आतुर रहेको जनाउँदै राजनीतिक स्थायित्व र विकासका लागि चीन सधैं साथ रहने बताइन्। उनले निर्वाचनमा वाम गठबन्धनको बहुमत र सरकारमा सहकार्यका लागि शुभकामनासमेत दिइन्। ओली र होङबीच दुई देशबीचका सम्झौता अघि बढाउने विषयमा पनि कुराकानी भएको थियो।

भारतीय राजदूत मन्जिभसिंह पुरीसमेत बिहीबार राति नै प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री सुषमा स्वराजको बधाई सन्देश बोकेर ओली निवास बालकोट पुगेका थिए। पुरी त्यहीँ रहँदा मोदी र स्वराजले पालैपालो ओलीसँग टेलिफोन संवादसमेत गरेका थिए। दुवैले ओलीलाई शुभकामनासहित भारत भ्रमणको निमन्त्रणा दिए। मोदीले बिहीबार राति साढे १० बजे टेलिफोन गरेका थिए। यो कुरा मोदीको टवीटमा पनि उल्लेख छ। मोदीले ओलीलाई पहिल्यैदेखि ‘भावी प्रधानमन्त्री’ भन्दै आइरहेकामा टेलिफोन वार्तामा पनि यसै विषयलाई लिएर केहीबेर हँसीमजाक गर्दै सफल कार्यकालको शुभकामना दिएको ओलीनिकट एक नेताले बताए।
टेलिफोन वार्तामा मोदीले भारत नेपालको राजनीतिक स्थायित्व र आर्थिक विकासको पक्षमा रहेको र वर्तमान सरकारसँग निकट रहेर काम गर्न चाहेको सन्देश दिए। ‘यहाँको कार्यकालमा नेपालमा आर्थिक प्रगति र उन्नति भएको हेर्न भारत आतुर छ, यसका लागि जस्तोसुकै सहयोग र सहकार्य गर्न तयार छ,’ मोदीको सन्देश उद्धृत गर्दै दूतावासका एक अधिकारीले भने, ‘यहाँलाई दिल्लीमा स्वागत गर्न हामी आतुर छौं।’

यसको जवाफमा ओलीले नेपालको विकास र समृद्धिलाई अघि बढाउँदै दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा लैजान आफू तयार रहेको बताए। उनले मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए। मोदीलाई जनकपुर र मुक्तिनाथ भ्रमण गर्न ओलीको आग्रह थियो।

ओली पहिलो पटक प्रधानमन्त्री छँदा भारतले नाकाबन्दी लगाएको थियो। सोही कारण भारतसँग चिढिएका ओलीले चीनसँग ऐतिहासिक सम्झौता गरे। सोही विषयलाई लिएर ओली चीनतर्फ ढल्किन सक्ने आशंकाका कारण अहिले भारत त्यसअघि नै ओलीसँग निकट सम्बन्ध बनाउन अग्रसर देखिएको नेताहरूको टिप्पणी छ।

दुई देशबीचको सम्बन्धलाई प्रगाढ र सुमधुर बनाएर लैजान आफू प्रतिबद्ध रहेको ओलीले मोदीलाई बताएका थिए। बिहीबार रातिको भेटमा राजदूत पुरीले ओलीसँग दुईपक्षीय हित र सरकार विस्तारलगायत विषयमा समेत छलफल गरे। पुरीले ओलीको कुशल नेतृत्वमा नेपालले आर्थिक समृद्धि हासिल गर्ने विश्वास व्यक्त गर्दै यसमा भारतको सहयोग रहने उल्लेख गरेको दूतावासको टवीटमा उल्लेख छ।

यसैबीच पाकिस्तानी विदेश मन्त्रालयले वक्तव्य जारी गर्दै ओलीलाई त्यहाँका प्रधानमन्त्रीका तर्फबाट शुभकामना तथा बधाई सन्देश दिएको छ। ओलीको नेतृत्वमा यस क्षेत्रको विकास र शान्तिका लागि मिलेर काम गर्न आफूहरू तयार रहेको वक्तव्यमा उल्लेख छ। नेपाल पनि विकासको युगमा प्रवेश गरेको पाकिस्तानले दिएको सन्देशमा उल्लेख छ।

यसअघि बंगलादेश र अमेरिकाले पनि ओलीलाई बधाई दिइसकेका छन्। सार्क महासचिव अम्जद हुसेन बी सियालले पनि ओलीसँग निकट रहेर काम गर्न र सार्कको विकासमा सहकार्य गर्न उत्साही रहेको भन्दै शुभकामना दिएका छन्। प्रधानमन्त्री ओली सार्कका अध्यक्षसमेत रहेकाले उनको नेतृत्वमा यस क्षेत्रमा धेरै काम हुन सक्ने महासचिवले विश्वास व्यक्त गरेका छन्। उनलाई अन्य मुलुकका राजदूतहरूले पनि शुभकामना दिइरहेका छन्।

प्रकाशित : फाल्गुन ५, २०७४ १४:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT