कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

७ दिन सिक्किम घुम्दा 

काठमाडौँ — सबै विद्यालयले जाडो बिदा दिन्छन् । मेरो पनि पुस १५ गतेदेखि बिदा सुरु भयो । जाडो बिदामा विद्यालयले हामीलाई शैक्षिक भ्रमणमा लैजाने भयो । प्रिन्सिपलले एसेम्लीमा आएर भन्नुभयो, ‘कक्षा ९ का विद्यार्थीलाई काठमाडौंदेखि सिक्किमसम्मको सातदिने भ्रमणमा लानेछौं ।

७ दिन सिक्किम घुम्दा 

हामी यहाँबाट २०७४ पुस १८ गते प्रस्थान गरेर पुस २४ गते फर्किनेछौं ।’ हामी सबै खुसी भयौं । मक्ख पर्‍यौं ।

हामीले त्यहाँ जान कति खर्च लाग्छ भनेर सोध्यौं । गुरुहरूले सबैलाई सूचना चिठी

बाँड्नुभयो । साढे चौध हजार रुपैयाँ लाग्ने चिठीमा उल्लेख थियो । त्यहाँ केही नियम पनि थिए । आफूले बोक्ने खर्च भारु तीन हजार र केही नेपाली पैसा बोक्न पाउने थियो । मैले दुई हजार एक सय भारु र पन्ध्र सय नेपाली रुपैयाँ बोकें । दुई जोडी न्यानो कपडा, एउटा ज्याकेट, पेन्ट, कम्बल, जुत्ता, चप्पल, मफलर, पञ्जा, टोपी, मोजोजस्ता सामान सुटकेसमा बोकें । साथीहरू कसैले झोला र कतिले मजस्तै सुटकेस बोकेका थिए ।

हामी प्रस्थान गर्ने दिन दिउँसो विद्यालय पुग्यौं, ललितपुरको सातदोबाटोमा । भ्रमणमा जान १ सय ४१ जना विद्यार्थी थियौं । १३ जना शिक्षकशिक्षिका हुनुहुन्थ्यो । हामीलाई ६ वटा बसको व्यवस्था गरिएको थियो । हामी राजधानी काठमाडौंबाट नेपालको पूर्वी सिमाना इलामतर्फ जानु थियो । पूर्व जान दुइटा सडक मार्ग छन् । एउटा थानकोट, मुग्लिङ, नारायणघाट हुँदै र अर्को धुलिखेल, सिन्धुलीगढी हुँदै जाने । हामीले सिन्धुलीको बीपी राजमार्ग रोज्यौं ।

भोलिपल्ट बिहान दस बजे इलामको कन्याम चियाबारी पुग्यौं । त्यहाँ हामीले चियाबारीको बीचमा गएर राम्राराम्रा तस्बिर खिच्यौं । त्यसपछि फिक्कल हुँदै नेपाल र भारतको सिमाना पशुपतिनगर पुग्यौं । त्यसपछि हाम्रो गाडी छाडेर भारतको सुमो गाडीमा दार्जिलिङतर्फ यात्रा सुरु भयो । दिउँसो तीन बजेतिर दार्जिलिङ पुगेर होटलमा झोला बिसायौं । खाना खायौं । लुगा बदल्यौं । अनि घुमघाम गर्न निस्कियौं । चौरस्तामा आदिकवि भानुभक्त आचार्यको सालिकमा गएर फोटो खिच्यौं । त्यहाँ हामी दुई घण्टा घुम्यौं । वरिपरिको दोकानमा सामान किनमेल गर्‍यौं । बेलुका आठ बजेट होटलमा फर्कियौं । राति खाना खाएर दस बजेतिर सुत्यौं ।

दार्जिलिङमा दोस्रो रातपछिको बिहान पाँच बजे उठेर मुख धोएर टाइगर हिलमा सूर्योदय हेर्न गयौं । त्यहाँनिर सबै जना भिडियो र फोटो खिच्दै थिए । मैले पनि साथीहरूसँग फोटो खिचें । त्यहाँ चिया पियौं । त्यसपछि भगवान् बुद्धको स्तुपा गुम्बा गयौं । फर्किंदा तेन्जिङ रक क्लाइम्बिङ गर्ने ठाउँ हेर्‍यौं । झरनाहरू अवलोकन गर्‍यौं । सेन्ट जोसेफ स्कुललाई बाहिरबाटै चियायौं । चियाबारी र अरू विभिन्न डाँडाकाँडा दिनभरि डुल्यौं । अपराह्नमा होटलमा फर्किएर खाना खायौं । चौथो दिन बिहानै गाडीमा सिक्किमतर्फ लाग्यौं । टिस्टा पुल नाघेर सिक्किमको गान्तोक पुग्यौं । पहाडी नागबेली बाटो रमाइलो लाग्यो । गान्तोकमा गणेश टेक, पुर्बरी बगैंचा, झरना र अन्य रमणीय ठाउँहरू घुम्यौं । झरनाको पानी हिउँ भएर जमेको देख्दा अचम्म लाग्यो । हामी त्यसपछि बेलुका सिक्किमको ह्वाइट अर्किड होटलमा बस्यौं ।

भोलिपल्ट बिहान चाँडै उठेर खाजा खायौं र गाडीमा चढेर तीन घण्टा यात्रा गर्‍यौं । हामीलाई सिक्किमको प्रसिद्ध छँगु लेकसम्म पुग्नु थियो । गान्तोकबाट ४० किलोमिटर उत्तरमा रहेको छँगु पुग्दा तालको पानी आधा हिउँमा जमेको थियो । चारैतिर पहाडको बीच भागमा रहेको तालको आधा भाग पानी नीलो देखिन्थ्यो । त्यहाँ चौंरीगाई देख्यौं । हामीले फोटो खिच्दै, भिडियो बनाउँदै, हिउँ खेल्दै रमाइलो गर्‍यौं । हिउँ टिपेर एकापसलाई हानाहान गर्‍यौं । धेरै रमाइलो भयो । यसो गर्दा झन्डै दुई घण्टा समय बित्यो ।

त्यहाँको सम्झनाका लागि टोपी, किरिङ किन्यौं । त्यसपछि गान्तोक फर्कियौं । अपराह्न चार बजेको थियो । खाना खाएपछि गान्धी रोड घुम्यौं । गान्धी रोडमा हामीले आफू र आफ्ना परिवारका लागि कोसेली किन्यौं । यसरी पत्तै नपाई ६ दिन बिते । सिक्किममा अन्तिम रात होटलमा बितायौं ।

भोलिपल्ट बिहानै सुमो गाडीमा चढेर काँकडभिट्टा बोर्डरसम्म आयौं । बोर्डरमा पैदल हिँडेर पार गर्नु पर्दो रहेछ । नेपाल तरेपछि काँकडभिट्टामा दिउँसोको खाना खायौं । त्यसपछि रात्रि बस चढेर नाच्दै, रमाइलो गर्दै काठमाडौं फिर्‍यौं । सात दिनपछि घर फर्कंदा बेग्लै रमाइलो महसुस भयो । भ्रमण गर्दा एक किसिमको रमाइलो हुन्छ भने घरपरिवारसँग अर्कै रमाइलो ।

-इकस्वाम हाङ राई, कक्षा–९

युनाइटेड स्कुल, ललितपुर ।

प्रकाशित : पुस ३०, २०७४ ०८:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?