कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाघ गन्ने तरिका

काठमाडौँ — तिमीहरूलाई थाहै छ, नेपालमा बाघ पाइन्छन् । नेपालका पाँचवटा निकुञ्जमा बाघ छन् । त्योबाहेकका तराई–चुरेका जिल्लामा पनि बाघ भेटिन्छन् । हरेक पाँच वर्षमा हामीकहाँ बाघ कति छन् भनेर गणना गरिन्छ । सन् २०१३ मा गरिएको गणनाले नेपालमा वयस्क बाघ १ सय ९८ थिए । 

बाघ गन्ने तरिका

२०१३ पछि बाघको संख्या कति पुग्यो भनेर मंसिर १४ देखि गणना सुरु भएको छ । बाघ पाइने बारा, पर्सा र मकवानपुर जिल्लामा फैलिएको पर्सा निकुञ्जदेखि गणना सुरु भएको हो । नाम सुन्दै डर लाग्ने बाघको गणना कसरी गरिन्छ भन्ने जिज्ञासा होला । जंगल चहारेर टाउका गन्दै बाघको गणना गरिने होइन । त्यो सम्भव पनि छैन ।

बाघको गणनामा एउटा प्रविधिको प्रयोग हुन्छ । त्यो हो– क्यामेरा ट्रयापिङ । ती स्वचालित क्यामेरा हुन् । हिंस्रक र अनकन्टारमा भएका जीवजन्तुको संख्या थाहा पाउन विश्वमै यो प्रविधि प्रयोग गरिन्छ । गणना सुरु हुनुुअघि बाघ रहेको पर्सा निकुञ्जदेखि शुक्लाफाँटा निकुञ्जसम्मको क्षेत्रलाई तीनवटा भागमा विभाजन गरिएको थियो :

१.पर्सा–चितवन कम्प्लेक्स

२.बाँके–बर्दिया कम्प्लेक्स

३.लालझाडी–शुक्लाफाँटा–जोगबुढा कम्प्लेक्स ।

यी तीनवटा कम्प्लेक्सभित्र पाँचवटा निकुञ्ज पर्छन् । निकुञ्जभित्र नपर्ने वन क्षेत्रमा पनि गणना गरिँदै छ ।

पर्सा–चितवन कम्प्लेक्सको क्षेत्रलाई तीनवटा ब्लकमा बाँडियो । तीनवटा ब्लकलाई दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइका ९४२ वटा ग्रिड (टुक्रा) मा विभाजन गरियो । ती ग्रिडलाई तीन भाग लगाएर तीनवटा ब्लक बनाइयो । हरेक ब्लकका ग्रिडहरूमा दुइटा स्वचालित क्यामेरा दुईतिर जमिनदेखि करिब तीन फिट उचाइमा पर्ने गरी रूख, ठुटा, खम्बामा डोरीले बाँधियो जसका कारण त्यो ग्रिड भएर हिँड्ने जेसुकैलाई पनि ती क्यामेराले कैद गरोस्, बाघ पनि कैद गरोस् ।

त्यसरी बाँधिएको क्यामेरा १५ रातसम्म एकै ठाउँमा राखिन्छ र १५ रातपछि क्यामेरा निकालिन्छ र क्याप्चर भएका तस्बिरहरू एक ठाउँमा राखिन्छन् ।

१५ रातपछि ती क्यामेरा अर्को ब्लकमा सारिन्छ । अरू ब्लकमा पनि त्यसरी नै हरेक ग्रिडमा क्यामेरा बाँधिन्छ । पर्सा निकुञ्ज र चितवन निकुञ्जका धेरैजसो भागमा यही प्रविधिबाट बाघको तस्बिर क्याप्चर गर्ने काम सकिएको छ । अहिले नवलपरासीको भागमा पर्ने चितवन निकुञ्ज र मध्यवर्ती क्षेत्रका भागमा पनि क्यामेराले बाघको कैद गर्ने काम चलिरहेको छ । यो साता चितवनमा पनि गणना सकिन्छ ।

यस्तै, प्रविधिबाट बाँके–बर्दिया कम्प्लेक्समा पनि बाघको गणना चलिरहेको छ । बाँके–बर्दिया कम्प्लेक्सलाई ७२९ ग्रिड बनाएर बाघको गणना भइरहेको छ । ७२९ ग्रिडलाई तीनवटा ब्लकमा बाँडिएको छ । तीनवटै ब्लकमा क्यामेरा ट्रयापिङको काम सकिएको छ । क्याप्चर भएका सबै तस्बिर एक ठाउँमा राखिएको छ । अब लालझाडी–शुक्लाफाँटा–जोगबुढा कम्प्लेक्समा गन्न बाँकी छ । त्यहाँ फागुन पहिलो सातादेखि सुरु गरिनेछ । त्यो कम्प्लेक्स सानो छ र जम्मा २६० वटा ग्रिड मात्र छन् । त्यसैले एकै पटक सबै ग्रिडमा क्यामेरा जडान गरिनेछ । पर्सा र चितवनमा प्रयोग गरिएका क्यामेरा त्यहाँ लगिनेछ ।

गणनामा प्रयोग गरिएका ६ सय जोडी (१२ सय) क्यामेरा जुलोजिकल सोसाइटी अफ लन्डन नेपाल (जेडएसएल) ले उपलब्ध गराएको हो । यी क्यामेरा महँगा र विशेष क्षमताका हुन्छन् । बाघ गणनाका लागि राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लूडब्लूएफ नेपालले पनि आर्थिक तथा प्राविधिक सहयोग गर्ने गरेका छन् ।

तीनवटै कम्प्लेक्समा खिचिएका तस्बिरहरूको विश्लेषण वन्यजन्तु विज्ञहरूले गर्नेछन् । ती क्यामेरामा मान्छेसहित बाघबाहेकका वन्यजन्तु पनि कैद भएका हुन्छन् । तर, विशेषज्ञहरूले कैद भएका बाघ र तिनको आहार प्रजातिबारे मात्र विश्लेषण गर्नेछन् । खिचिएका बाघका तस्बिरहरू विश्लेषण गरेरै विज्ञहरूले बाघ संख्या यकिन गर्नेछन् । जति धेरै तस्बिर खिचिएका भए पनि एउटा बाघको पाटासँग अर्को बाघको पाटा नमिल्ने र भिन्न हुने भएकाले पहिचानका लागि सजिलो हुनेछ । चैतभरि विश्लेषण गरी वैशाख पहिलो साता बाघको संख्या सार्वजनिक गरिने तयारी छ ।

विश्वमा १३ देशमा बाघ पाइन्छन् । सन् २०१० मा बाघ पाइने देशका प्रमुखहरूको सम्मेलन रूसमा भएको थियो । उक्त सम्मेलनले सन् २०२२ सम्म विश्वभर बाघको संख्या ३५ सयको दोब्बर पार्ने संकल्प गरेको थियो । नेपालमा अबका केही वर्षभित्रै करिब दोब्बर अर्थात् २५० को हाराहारी पुग्ने अनुमान गरिएको छ । सन् २०१० ताका नेपालमा बाघको संख्या १२१ थियो ।

प्रकाशित : माघ २१, २०७४ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?