कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनलाइनको जोखिम !

काठमाडौँ — अनलाइनमा बालबालिकाको पहुँच फाइदाजनक हुन्छ कि हानिकारक ? जति तर्क गरे पनि निष्कर्ष एउटै निस्किन्छ– सही रूपमा प्रयोग गरे, प्रविधि सबैका लागि फाइदाजनक छ । तर प्रयोग गर्न नजाने नोक्सानी पनि उत्तिकै छ । भर्खरै प्रकाशित एक रिपोर्टले पनि यही निष्कर्ष निकालेको छ । हङकङको एक संस्थाले नेपालसहित २९ देशका ३८ हजार बालबालिकासँग गरेको अध्ययनअनुसार उनीहरूमध्ये आधाजसो अनलाइन प्रयोगका कारण विभिन्नखाले जोखिममा छन् । ८ देखि १२ वर्ष उमेरका बालबालिकामाझ यो अध्ययन गरिएको थियो ।

अनलाइनको जोखिम !

नेपालमा गरिएको अध्ययनअनुसार यहाँका अनलाइन प्रयोग गर्ने ८ देखि १२ वर्षसम्मका ५८ प्रतिशत बालबालिका विभिन्न प्रकारका जोखिममा छन् । यीमध्ये केहीलाई अनलाइनमार्फत अरू कसैले दुव्र्यवहार गरेका छन् । कसैलाई भिडियो गेमको लत लागेको छ भने कसैले अनलाइनमा भनिएका सबै जानकारी पत्याउने गरेका छन् । केहीले अनलाइन माध्यममा यौनिक व्यवहारसमेत गर्ने गरेका छन् ।

अध्ययनबाट पत्ता लागेअनुसार हाम्रो मुलुकमा यो उमेर समूहका ४९ प्रतिशत बालबालिकालाई अनलाइनमा दुव्र्यवहार भएको छ । २६ प्रतिशतले अनलाइनमा विभिन्न यौनिक व्यवहार देखाउने गरेका छन् । १५ प्रतिशतले अनलाइनमार्फत वास्तविक जीवनमा नचिनेका मानिससँग भेट्ने गरेका छन् ।

यो उमेरका बालबालिकाले वास्तविक र भर्चुअल संसारबारे राम्ररी थाहा नपाउने र उनीहरूलाई अनलाइनमा गर्न हुने र नहुने कामका बारेमा जानकारी नहुने भएकाले उनीहरू जोखिममा पर्न सक्छन् । अनलाइनमा कसैले दुव्र्यवहार गरे, त्यस्ता बालबालिकाले वास्तविक जीवनमा पनि हिनताबोध गर्छन् । आत्मविश्वास गुमाउन सक्छन् । अनलाइनमार्फत नचिनेका व्यक्तिसँग कुरा गर्दा बालबालिकासँग उक्त व्यक्तिले घरपरिवारबारे जानकारी लिने, फकाइफुल्याई गरी भेट्न बोलाउने र विभिन्न फाइदा लिने गर्न सक्छन् ।

बालबालिकालाई धेरैबेर स्मार्टफोन वा कम्प्युटरमा अनलाइन बस्ने लत लागे उनीहरूलाई वास्तविक संसारबारे कम जानकारी हुने र उनीहरूको मानसिक विकासमै बाधा पुग्ने जोखिम हुन सक्छ ।

अध्ययन गर्ने संस्था हङकङस्थित डिक्वी इन्स्टिच्युटले बालबालिकालाई स्मार्टफोन र इन्टरनेटको पहुँच एकैसाथ दिनु जोखिमपूर्ण भएको निष्कर्ष निकालेको छ । संस्थाका अनुसार आगामी दुई वर्षभित्र विश्वभर ८ देखि १२ वर्ष उमेरका ३९ करोड बालबालिका यस्तो जोखिममा हुनेछन् ।

अध्ययनअनुसार अहिले ८ देखि १२ वर्ष उमेरका आधाजसो बालबालिकासँग आफ्नै स्मार्टफोन छ । उनीहरू आफ्नै स्मार्टफोनमार्फत अनलाइनमा बस्छन् । यो तथ्यांक निकै डरलाग्दो हो किनकि उनीहरूले आफ्नै स्मार्टफोन प्रयोग गर्दा अभिभावकको नियन्त्रण नहुन सक्छ र उनीहरू जानी नजानी विभिन्न जोखिममा पर्न सक्छन् ।

सोही उमेरका ८५ प्रतिशत बालबालिकाले अहिले चल्तीमा रहेका सोसल मिडिया प्रयोग गर्छन् । सातामा १२ घण्टाभन्दा बढी अनलाइन बस्ने र सोसल मिडिया प्रयोग गर्ने बालबालिका जोखिममा पर्ने सम्भावना ७० प्रशित बढी भएको अध्ययनको निष्कर्ष छ । अध्ययनबाट पत्ता लागेअनुसार विश्वभर यो उमेरका बालबालिका सातामा ३२ घण्टा अनलाइन बस्छन् । त्यो पनि मनोरञ्जन लिनका लागि मात्र ।

माथिका जानकारी पढ्दा लाग्न सक्छ, बालबालिकाले अनलाइन पहुँच पाए जोखिमै मात्र हुन्छ । तर, त्यसो होइन, बालबालिकालाई जान्ने बुझ्नको सल्लाहसुझावसहित प्रविधिका नयाँ शैली अपनाउन लगाए, उनीहरूलाई फाइदा पनि हुन्छ ।

बालबालिकाले अनलाइनमार्फत भिडियो गेम र मनोरञ्जन मात्रै होइन, जानकारीमूलक सामग्री पनि खोज्न सक्छन् । त्यसैले अनलाइनको पहुँचबाटै पर रहनुभन्दा पनि यसका जोखिमबारे सुसूचित हुनु आवश्यक छ । उमेर नपुग्दै आफूले छुट्टै स्मार्टफोन माग्नुभन्दा पनि अभिभावकै स्मार्टफोन प्रयोग गर्नु उपयुक्त हुन्छ । कम्प्युटर प्रयोग गर्छौं भने त्यस्ता कम्प्युटर परिवारका सदस्य उपस्थित भइरहने स्थान वा सबैले सजिलै देख्ने स्थानमा राख्ने गरौं । अनलाइनको सकारात्मक र नकारात्मक दुवै पक्षबारे जानकार रहेर प्रयोग गर्‍यांै भने यसबाट हानि होइन, भरपूर लाभ लिन सक्नेछौं ।

प्रकाशित : माघ २८, २०७४ १२:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?