कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘स्टिम’ च्यालेन्ज

साइन्स, टेक्नोलजी, इन्जिनियरिङ, आर्ट र म्याथका अवधारणा एकै ठाउँमा राखेर प्रतिस्पर्धा
विजय तिमल्सिना

काठमाडौँ — ललितपुरको दुर्गम गाउँ कटुवामा रहेको जनक माविका तीन विद्यार्थीहरू मुढा बोकेर लगनखेलसम्म आइपुगे । कक्षा ९ र ६ मा पढ्ने उनीहरूले बञ्चरोले मुढा चिर्दै सानो खालको हलो बनाए । यो उनीहरूले देखाउन खोजेको हलो बारी जोत्ने सामान्य खालको भने होइन ।

‘स्टिम’ च्यालेन्ज

उनीहरूले हलोमा सानै खालको मोटर र अन्य सामग्री जोडे । उनीहरूले आफ्नो प्रोजेक्टलाई आधुनिक हलोको नाम दिएका थिए । आफ्नो गाउँघरमा देखेको समस्यालाई समाधान गर्न यस्तो आधुनिक तरिकाको सोच आएको समूहका एक सदस्य नवीन्द्र चौरेलले बताए ।


उनीहरूलाई हलोले जोत्ने मात्र नभई माटोको डल्ला फुटाउने, मल छर्ने, पानी छर्ने र घाँस काट्नेसम्म सक्छ भन्ने देखाउनु थियो । उनीहरूको यो अवधारणाले यसै साता ललितपुरस्थित नेपाली सेना शारीरिक अभ्यास केन्द्रमा आयोजना गरिएको भविष्य ‘स्टिम’ च्यालेन्ज प्रतियोगितामा सबैको ध्यान खिच्यो । प्रतियोगिताका लागि सानो खालको हलो बनाए । उनीहरूले यसलाई लगानी गर्न सक्ने र वास्तविक रूपमै कृषकका लागि उपयोगी उत्पादन बन्न सक्ने अवधारणा राखेका थिए ।

साइन्स, प्रविधि, इन्जिनियरिङ, आर्ट र म्याथ (स्टिम) लाई एकै ठाउँमा राखेर नयाँ अवधारणा भएका प्रोजेक्ट डिजाइन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यो खालको प्रतियोगिता आयोजना भएको हो । स्कुले विद्यार्थी लक्षित यो कार्यक्रममा उपत्यका र वरपरका एक सयभन्दा बढी विद्यालयका विद्यार्थी समूह सहभागी थिए ।


विद्यार्थी समूहले प्रतियोगिता आयोजना स्थलमै आएर ४ घण्टामा आफ्नो प्रोजेक्ट निर्माण गरे । प्रतियोगितामा सहभागी विद्यार्थीबाट फरक–फरक खाले अवधारणा आए जसलाई बिस्तार गरी जीवनोपयोगी बनाउन सकिन्छ ।

जस्तो : एक समूहले सार्वजनिक सवारीमा जडान गर्न मिल्ने भ्याकुमको प्रोजेक्ट तयार पारेको थियो । उनीहरूको भनाइ थियो– सार्वजनिक गाडीको तल यस्ता भ्याकुम जडान गरे, सडक आफैं सफा हुन्छ, यसको लागि छुट्टै सफाइ गरिरहनु पर्दैन । यस्तै, सिन्धुपाल्चोकको भीमसेन सेकेन्डरी सामुदायिक विद्यालयबाट आएको समूहले स्थानीय स्तरमा बनाउन सकिने बायो–प्लान्टको प्रोजेक्ट तयार पारेको थियो । उनीहरूको अवधारणा थियो– घरबाट निस्कने फोहोरलाई व्यवस्थापन गरी, खाना पकाउन, बिजुली बाल्न र त्यसपछि मलको रूपमा प्रयोग गर्न मिल्छ । यसले गर्दा गाउँघरमा बिजुली र खाना पकाउने ग्यासको समस्या समाधान हुने उनीहरूको तर्क थियो ।


अर्को एक समूहले भने ढलको पानीलाई परम्परागत तरिकाबाट फिल्टर गरी पुन: प्रयोग गर्न सकिने अवधारणा तयार पारेको थियो । उनीहरूको अवधारणाअनुसार सहरका ढलमा बग्ने पानीलाई फिल्टर गरी पिउनेबाहेक अन्य प्रयोजनका लागि उपयोग गर्न सकिन्छ ।

एक समूहले माटोबिनै बिरुवा हुर्काउने प्रविधिको अवधारणा तयार पारेको थियो । यसका लागि बिरुवाले माटोबाट पाउने सम्पूर्ण पोषक तत्त्व पानी र हावाको माध्यमबाट पाउने व्यवस्था मिलाएको उनीहरूको भनाइ थियो ।

एक सयभन्दा बढी समूहले बनाएका यस्ता खालका नयाँ अवधारणा सोही दिन प्रदर्शनीमा पनि राखिए । विज्ञान तथा प्रविधि मन्त्रालय, कारखाना, रोबोटिक्स एसोसिएसन अफ नेपाल र नेपाल इन्नोभेसन ल्याबको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको हो । प्रतियोगितामा निमावि र मावि तहका ८ देखि १४ वर्षसम्मका विद्यार्थी सामूहिक रूपमा सहभागी थिए ।


विद्यार्थीबाट आउने नयाँ अवधारणालाई व्यावहारिक रूपमा ल्याउन सके मानिसको जीवन सहज बनाउन सक्ने कारखानाका सहसंस्थापक पवित्र गौतम बताउँछन् । नयाँ सोच र अवधारणा कुनै न कुनै समस्या समाधान गर्ने खालको हुनुपर्छ भन्ने मान्यताका साथ कार्यक्रम आयोजना गरेको उनले बताए । सहभागी विद्याथीलाई उनीहरूको डिजाइन, अवधारणा, त्यसलाई वर्णन गर्न सक्ने शैली, समूहमा काम गर्ने क्षमताजस्ता विभिन्न आधारमा मूल्यांकन गरिएको थियो ।

प्रकाशित : फाल्गुन ६, २०७४ ०९:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?