कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सानासँग कस्तो व्यवहार ?

अभिभावकलाई पढ्नुस् भन 
कान्तिपुर संवाददाता

काठमाडौँ — अधिकांश आमाबुबा आफ्ना बालबालिका उत्कृष्ट होऊन् भन्ने चाहन्छन् । सन्तानले जहाँ पनि राम्रो प्रदर्शन गरून् भन्ने उनीहरूको चाहना हुन्छ । त्यो चाहना पूरा गर्न सोचेजस्तो सजिलो छैन । तर प्रयास गरे असम्भव भने छैन ।

सानासँग कस्तो व्यवहार ?

प्रि–स्कुलका विशेषज्ञहरूका अनुसार बालबालिका हामीले सोचेभन्दा बढी गर्न सक्षम हुन्छन् । हामीले त्यसका लागि सही वातावरण बनाउन मात्र सक्नुपर्छ । त्यसका लागि अमेरिकाका पाँच जना प्रि–स्कुल शिक्षकले २ देखि ५ वर्षका बालबालिकाका अभिभावकका लागि केही साझा टिप्स तयार पारेका छन् ।


धेरै अपेक्षा नगर्नुस् : एक अमेरिकी शिक्षक र अभिभावकले आफ्नै ३ वर्षीया छोरी सोफीका बारेमा यस्तो लेखेका छन्– ‘सोफी एउटा छुट्टै व्यक्तित्व भएकी बालिका हुन् । विद्यालयमा उनी आफ्नो खेलौना आफंै सफा गर्छिन् । जुत्ता फुकाल्छिन् । सामान्य रूपमा धेरै आत्मनिर्भर छिन् । घरमा पनि उनी आफ्नो काम आफैं गर्न रुचाउँछिन् । उनीजस्तै ३ र ४ वर्षका बालबालिकालाई हरेक काममा आमाबुबाको सहयोग आवश्यक हुन्छ ।’


न्युयोर्कस्थित अर्का प्रि–स्कुलका शिक्षक जेनिफर जेबुकर भन्छन्, ‘स्कुलमा बच्चाले आफूले खाएको प्लेट आफैं फालून् र आफ्नो ज्याकेट आफैं झुन्डयाऊन् भन्ने अपेक्षा हुन्छ । उनीहरू यो काम गर्छन् पनि । तर जब उनीहरू कक्षा बाहिर जान्छन्, बूढीऔंला मुखमा पुगिसकेको हुन्छ ।’ त्यसैले साह्रै सानासित साह्रै धेरै अपेक्षा गर्नु राम्रो होइन । उमेरको सीमालाई हामीले ख्याल राख्नै पर्छ ।’


विरोध नगर्नुस् : बालबालिकाले जुन काम आफैं गर्न सक्छन्, त्यसका लागि प्रोत्साहन गर्नुपर्छ । उनीहरूले जे गर्न चाहेको हो, त्यो कुरा गर्न दिए छिट्टै र सजिलै गर्छन् ।

त्यसको विरोध गर्नु भनेको तपार्इंले आफ्ना बालबालिकालाई आत्मनिर्भर हुन रोक्नु हो । ओरेगनको एसल्यान्डास्थित दक्षिणी आरेगन विश्वविद्यालयका साइनर चिल्ड्रेन्स सेन्टरका प्रि–स्कुल शिक्षक डोना जोन्स भन्छन्, ‘बालबालिकालाई कपडा फेर्ने प्रयास गर्दा होस् वा खाना खाने बेलामा, म उनीहरूलाई सोध्ने गर्छु– तिमी मेरो मद्दत चाहन्छौ कि यो काम आफैं गर्छौ ? विद्यार्थीले दिने जवाफ जादूजस्तै हुने गर्छन् । उनीहरूले यी काम सधंै आफैं गर्न चाहेका हुन्छन् ।’


नदोहोर्‍याइदिनुस् : बालबालिका ओछयान मिलाउन वा कम्बल सफा गर्न चाहन्छन् भने विरोध नगर्नुस् । उनीहरूले गरेका काम दोहोर्‍याएर नगरिदिनुस् । गलत गरेको अवस्थामा बाहेक बच्चाको भावना र चाहनालाई सम्मान गर्नुस् ।

मोरिस्भिेलेस्थित विकडे नर्सरी स्कुलका निर्देशक क्याथी बुस भन्छन्, ‘तपाईंको आवश्यकता नपरेसम्म उसले गरेका कामलाई सच्चाउने नगर्नुस् । यस्तो गर्नु ठीक होइन । यसो गरियो भने बालबालिकाले ख्याल गर्छन् र उनीहरू हतोत्साहित बन्न सक्छन् ।’


समस्या हल गर्न दिनुस् : बालबालिका खेलौना जम्मा गर्न खोज्छन् वा दराजबाट कुनै किताब निकाल्न खोज्छन् भने गर्न दिनुस् । ती कामका लागि उनीहरूले कुनै सामग्री प्रयोग गर्न पनि सक्छन् । आफूले चाहेको काम पूरा गर्न दौड्छन् भने नरोक्नुस् । जेबुकर भन्छन्, ‘सुरक्षित रहेको अवस्थासम्म उसलाई सहयोग गर्न तपाईं अग्रसर नहुनुस् । आफ्नो समस्या आफैं समाधान गर्न सक्ने हैसियतमा पुग्न दिनु नै राम्रो हुन्छ ।


यसो भएमा उनीहरूको आत्मबल बढ्छ । सबै काम आफैंले गरिदिने हो भने, उनीहरूले अवसर नै पाउँदैनन् । यसो गर्नु भनेको बालबालिकालाई आफ्नै अनुभवबाट सिक्न रोक्नुसरह हुन्छ ।’

सहयोगी भावना बढाउनुस् : बालबालिकामा सहयोगी भावना विकास गर्न सक्नुपर्छ । राम्ररी सिकाइएको छ भने, जहाँसुकैको प्रि–स्कुलमा हेरौँ, बालबालिका एउटा समूहमा शान्त भएर बसेका हुन्छन् । केही सोध्नुपरे आफ्नो हात उठाउने गर्छन् ।

उनीहरू आफ्ना रुमाल र खानेकुरा लुकाएर राख्न सक्दैनन् । तैपनि सिकाउने हो भने प्रयास गरेकै हुन्छन् । त्यसको प्रशंसा गरिदिनु भने पर्छ । उनीहरूका सही कुरो पत्ता लगाउनुस् र राम्रा कामको प्रशंसा गर्नुस् । यसले परिणामा धेरै फरक पार्छ ।


घरका नियम लागू गर्नुस् : बालबालिकाले स्कुलको रुटिन पालना गर्छन् । त्यहाँ के गर्ने के गर्ने भन्ने चाँडै सिक्छन् । केही समयपछि बिर्सन सक्छन् । तर सम्झाएपछि फेरि सम्झन्छन् । घरमा भने उनीहरू बिन्दास बन्न खोज्छन् । अर्का प्रि–स्कुल शिक्षक बेथको सल्लाह छ, ‘त्यसैले तपाईं घरमा पनि बालबालिकाको सामान्य नियम बनाइदिनुस् । जस्तो कि, खाजा खानुअघि हात धुने । बालबालिकाले आफ्ना अभिभावकबाट धेरै कुरा सिकिरहेका हुन्छन् । घरका नियमको पालनाले बालबालिकामा राम्रा गुण विकास हुन थाल्छन् ।’ एउटा कुरा नर्बिसौं कि हामी जति सहयोगी हुन्छौँ, बालबालिका पनि त्यति नै सहयोगी बन्दै जान्छन् ।


खेललाई प्राथमिकता दिनुस् : बालबालिकाले कुनै काम गर्न मान्दैनन् भने त्यसलाई खेलमा परिणत गर्ने प्रयास गर्नुपर्छ । हाँसो र खेल दुई महान् उपकरण हुन्, जुन बालबालिकालाई मनाउन अति प्रभावकारी हुन्छन् । जेबुकर भन्छिन्, ‘मेरो छोरो प्रि–स्कुलमा हुँदा बिहानको खेलपछि आफ्ना जुत्ता आफैं फुकालेर राख्ने बानी बसाउन सफल भएकी थिएँ ।

तर ब्रस गर्ने बेला ऊ मुख बन्द गथ्र्यो । त्यो बानी पनि मैले खेलाई खेलाई हटाएकी थिएँ । अहिलेका बालबालिका केही दशकअघिको जस्तो कल्पनाशील भएर खेल्न पाउँदैनन् । उनीहरूको अधिकांश समय अरूकै निगरानीमा बित्छ । त्यसैले तपार्इं आरामले भन्नुस्– जाऊ खेल्न ।’


विवेकपूर्ण पुरस्कार दिनुहोस् : ‘यदि तपार्इंको बच्चा सधैं पुरस्कार पाउनका लागि काम गर्छ भने त्यस्तो अवस्थामा उसले काम गर्ने वास्तविक कारण सिक्न सक्दैन,’ बुस भन्छन्, ‘त्यसैले रचनात्मक कामका लागि मात्र पुरस्कृत गर्नुस् । बच्चाले आफैं ड्रेस लगाउँदैमा वा दाँत माज्दैमा पुरस्कार दिनु पर्दैन । बरु रचनात्मक विकल्प दिन सकिन्छ । खाना खान मानेन भने उसलाई कुर्सीमा बस्ने कि मिठाई खाने भनेर सोध्न सकिन्छ । जब उसले मिठाई खाने भन्छ अनि कुर्सीमा बसेपछि मात्र भन्न सकिन्छ । यसबाट उसले सर्त र परिणामबारे ज्ञान हासिल गर्ने अवसर पनि पाउँछ । बोली र सर्तले बालबालिकामा धेरै प्रभाव पर्छ ।’

निराशा हटाउनुस् : बालबालिका तनावमा छन् भने उनीहरूलाई तत्काल राहत दिनुपर्छ । अर्का शिक्षकको सुझाव छ– ‘उसलाई उसैको फोटो दिनुस् । एउटा कागजको मुटुलाई काटेर उसको खल्तीमा हालिदिनुस् । मायालु स्पर्श गर्नुस् । यी गतिविधिले उसलाई हल्का राहत प्राप्त हुनेछ । कुनै गल्ती भएको छ भने पनि नहप्काउनुस् । घरका भित्तामा कोरिदिएको छ भने ऊसितै त्यसलाई सफा गर्न अग्रसर हुनुस् । झैझगडा गर्दै छ भने तत्काल सुल्झाउन नहतारिनुस् । पछाडि उभिएर अवलोकन गर्नुस् । एकअर्कामाथि हात हालाहालको अवस्था नआएसम्म शान्त भएर हेर्नुस् किनभने तपाईं आफ्नो बच्चालाई बचाउन सधैं ऊसँगै रहन सक्नुहुन्न । अनुशासनहीन काम गर्न भने कहिल्यै नदिनुहोस् ।’

(प्यारेन्टस् डटकममा प्रकाशित मार्गरेट ल्याम्बको रिपोर्टको अनुवाद)

प्रकाशित : फाल्गुन २०, २०७४ १०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?