कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

रौनक राष्ट्रपति कपको

राजाराम पौडेल

काठमाडौँ — पोखरामा आयोजित १० औं राष्ट्रपति कपमा करिब दुई हजार विद्यार्थीले सहभागिता जनाए । उनीहरूले विभिन्न सेगमेन्टका प्रतियोगितामा भाग लिएका थिए । कास्की जिल्ला खेलकुद विकास समितिद्वारा पोखरा रंगशालामा पाँच दिनसम्म आयोजित प्रतियोगिताको उपाधि कास्की हेमजाको गौरीशंकर माविले जितेको छ । प्रतियोगितामा सहभागी अन्य ७० विद्यालयलाई उछिन्दै उसले उपाधि जितेको हो ।

रौनक राष्ट्रपति कपको

गौरीशंकरले ओभरअलमा ८ स्वर्ण, ७ कास्य र १ रजत पदक प्राप्त गरेको थियो । प्रतियोगितामा गौरीशंकरले एथलेटिक्समा ८ स्वर्ण, ५ रजत र १ कास्य र कब्बडीमा २ रजत प्राप्त गरेको थियो । गौरीशंकर २०७२ सालको समेत च्याम्पियन हो । उपाधि उचालेको गौरीशंकरले प्रथम पुरस्कार नगद १५ हजारसहित आकर्षक रनिङ सिल्ड प्राप्त गर्‍यो । गौरीशंकरले विद्यालयमा खेलकुद पूर्वाधारका लागि थप नगद ३५ हजारसमेत हात पार्‍यो ।


गत वर्षको च्याम्पियन टप्स माविले ५ स्वर्ण, २ रजत र ७ कास्यमा चित्त बुझाउँदै दोस्रो स्थानमा आयो । टप्सले एथलेटिक्समा १ रजत र ६ कास्य, उसुमा ४ स्वर्ण, १ रजत र १ कास्य तथा भलिबलमा १ स्वर्ण जितेको थियो । उसले नगद पुरस्कार १२ हजार प्राप्त गर्‍यो । टप्स मावि २०७०, २०७१ र २०७३ को च्याम्पियन हो ।


प्रतियोगितामा त्रिवेणी बोर्डिङले तेस्रो स्थान हासिल गर्‍यो । उसले प्रतियोगितामा ५ स्वर्ण, १ रजत र ७ कास्य पदक जित्यो । त्रिवेणीले एथलेटिक्सतर्फ ५ स्वर्ण, १ रजत र ६ कास्य तथा कबड्डीमा १ रजत प्राप्त गरेको छ । उसले तेस्रो स्थानसँगै नगद ९ हजार हात पार्‍यो ।


प्रतियोगितामा सहभागी विद्यालयका करिब २ हजार खेलाडीलाई पछि पार्दै त्रिवेणी बोर्डिङ स्कुलका एथलेटिक्स छात्रतर्फका खेलाडी विवेक अधिकारी उत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ शान्तिदीपकी कबड्डी खेलाडी बुद्धिमाया मगर उत्कृष्ट खेलाडी घोषित भइन् । उनी कबड्डी खेलकी राष्ट्रिय खेलाडीसमेत हुन् ।


प्रतियोगितामार्फत २०७५ जेठ १८ गतेदेखि सञ्चालन हुने प्रदेश ४ स्तरीय १० औं राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा छनोटमा परेका खेलाडीको नामसमेत घोषणा गरियो । क्षेत्रीयस्तरको राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितालाई यस वर्षदेखि प्रदेशस्तरीय बनाइएको छ ।

प्रकाशित : वैशाख ३०, २०७५ १२:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?