कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५१

नेपाल बुझ्दै चिनियाँ विद्यार्थी

चेतनाथ आचार्य

काठमाडौँ — बेइजिङ - नियाँहरू नेपाललाई निपोउर भन्छन् । अधिकांश चिनियाँलाई नेपाल भन्ने देश पनि छ भन्ने थाहै छैन । चिनियाँ भाषामा नेपाललाई निपोउर भनिने भएकाले ‘नेपाल’ शब्द धेरैले सुन्ने मौका नै पाउँदैनन् । चिनियाँ स्कुलमा अंग्रेजीको त्यति धेरै पढाइ नहुने भएकाले पनि उनीहरूलाई विदेशका कुरा कमै मात्र थाहा हुन्छ ।

नेपाल बुझ्दै चिनियाँ विद्यार्थी

नेपाल दुई ठूला छिमेकी चीन र भारतको बीचमा छ । नेपालको उत्तरपट्टि १४ सय किलोमिटरभन्दा बढी सीमा चीनको स्वायत्त प्रदेश तिब्बतसँग जोडिन्छ । आकारमा नेपालभन्दा चीन कैयौँ गुणा ठूलो छ । चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको मुलुक पनि हो । धेरैजसो नेपाली विद्यार्थीलाई चीनबारेका यस्ता जानकारी हुन्छ । तर छिमेकी मुलुक भए पनि चीनका विद्यार्थीलाई नेपालबारे खासै जानकारी छैन ।

केही वर्षअघिसम्म चिनियाँ विद्यालयका पाठ्यपुस्तकमा ‘भगवान् बुद्ध भारतमा जन्मिएका थिए’ भन्ने लेखिएको थियो । तर अब यसमा सुधार हुन थालेको छ । चीनमा आफ्ना छिमेकी मुलुकबारे चासो बढ्न थालेसँगै नेपालबारेका जानकारी चिनियाँ भाषामा समेत प्रकाशित हुन थालेको छ । चिनियाँ सञ्चारमाध्यममा नेपालबारेका सामग्री आउन थालेका छन् । केही समयअगाडि बेइजिङस्थित ५५ नम्बर मिडिल स्कुलले आफ्ना विद्यार्थीलाई नेपालबारे जानकारी दिन यहाँको नेपाली दूतावासलाई अनुरोध गर्‍यो । स्कुलले विद्यार्थीलाई दूतावासको प्रत्यक्ष अवलोकन गराउने अनुमति पनि मागेको थियो । दूतावासले अनुमति दिएपछि उनीहरू गत वैशाख १२ गते नेपाली दूतावासको अवलोकन गर्न पुगेका थिए ।

चीनमा कक्षा ७ देखि ९ सम्मलाई मध्यम तहको विद्यालय भनिन्छ । चिनियाँ मध्यम तहमा अध्ययनरत ३३ विद्यार्थी र ४ शिक्षक–शिक्षिकालाई लगभग ३ घण्टा नेपालबारे जानकारी दिइएको बेइजिङस्थित नेपाली दूतावासका मिनिस्टर सुशील लम्सालले बताए ।उनका अनुसार चिनियाँ विद्यार्थीले नेपालको भौगोलिक, प्राकृतिक, सांस्कृतिक विषयहरूबारे जिज्ञासा राखेका थिए । उनीहरूलाई दूतावासले श्रव्यदृश्य (भिडियो) सामग्रीमार्फत नेपालको प्राकृतिक सौन्दर्यलगायत विभिन्न पक्षको जानकारी दिएको थियो ।

नेपालका हिमशृंखला, रमणीय पोखरा, चितवनमा हात्ती शयर, लुम्बिनीको आकर्षण अनि काठमाडौं उपत्यकाका विविध सांस्कृतिक सम्पदा आदि कुराले चिनियाँ विद्यार्थीको ध्यान तानेको थियो । उनीहरू आफ्ना नोट कपीमा नेपालबारे विविध जानकारी टिपोट गरिरहेका थिए । चिनियाँ विद्यार्थीले जीवित देवी भनेर पुजिने नेपालकी कुमारीबारे पनि जिज्ञासा राखेका थिए । कुमारी पुज्ने परम्परा, छनोट प्रक्रिया र सांस्कृतिक महत्त्व आदिबारे जान्न चाहेका थिए । नेवारी समुदायको बेल विवाहप्रति पनि उनीहरू उत्सुक थिए ।

नेपाली दूतावास प्रांगणमा राखिएको बुद्धको मूर्ति, फहराइरहेको नेपाली झन्डा, नेपालको संस्कृति झल्किने आँखीझयाल लगायतलाई पनि चिनियाँ विद्यार्थीले नजिकबाट अवलोकन गर्ने अवसर पाए । नेपालबारे पहिलोपटक यति धेरै जानकारी पाउँदा चिनियाँ विद्यार्थीसँगै आएका शिक्षकशिक्षिका पनि खुसी भए । विद्यार्थीले नेपालको झन्डालाई पनि निकै चासो मानेर हेरेका थिए । उनीहरू आपसमा खासखुस पनि गर्दै थिए । शिक्षिका भन्दै थिइन्, ‘झन्डामा त्रिकोण र चन्द्रसूर्य देखेर उनीहरू अनौठो मानिरहेका छन् ।’

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संघीय संसद्को शुक्रबारबाट सुरू हुने बजेट अधिवेशन सहज रुपमा सञ्चालनको वातावरण निर्माणका लागि मुख्यरुपमा के गर्नुपर्छ ?