कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थिएटर जाने ?

राजाराम पौडेल

काठमाडौँ — अभिनयमा रुचि भएका र नाटकबारे पढेका–सुनेका विद्यार्थी थिएटर जान रुचाउने गरेका छन् । यसअघि नाटकघर नपुगेकाहरू पहिलोपल्ट नाटक हेर्न पाउँदा उत्साही छन् । कलाकारले आफ्नै आँखा अगाडि प्रत्यक्ष अभिनय गरेको हेर्न पाउँदा उनीहरू अनौठो मानिरहेका हुन्छन् ।

थिएटर जाने ?

तिमीले कहिल्यै थिएटरमा पुगेर नाटक हेरेका छौ ? सायद सबैलाई यो अवसर नजुटेको पनि हुन सक्छ । पोखराका बालबालिकाले भने अब यस्तो अवसर पाएका छन् । यहाँ सञ्चालनमा आएको गन्धर्व नाटकघरमा नाटक हेर्न पुग्ने स्कुले विद्यार्थीको संख्या बढ्दो छ ।

कलाकारलाई भेट्न र उनीहरूसित फोटो खिचाउन पाउँदा दंग पर्छन् । यो नाटक सिकाइको एउटा बेग्लै पाटोजस्तै भएको छ । उनीहरूले विद्यालयमा देखाइने नाटक र थिएटरको नाटकबीच फरक पनि बुझ्न पाएका छन् ।

गन्धर्व थिएटर नाट्य क्षेत्रमा नयाँ पुस्ताको आकर्षण बढाउने अभियानमा छ । यसमा विद्यालय, विद्यार्थी र अभिभावकको रुचि बढ्दै गएको छ । थिएटरले समय–समयमा विद्यालयमा नाटकबारे विद्यार्थीलाई जानकारी दिने र अभिनय गर्न सिकाउने गरेको छ । बिदाका बेला साथी वा अभिभावकसँग नाटक हेर्न पुग्ने किशोरकिशोरी भन्छन्, ‘पढेको र घोकेकोभन्दा पनि प्रत्यक्ष अवलोकनबाट सिकिएका कुराको प्रभाव अझ राम्रो हुने रहेछ ।’

गैह्रापाटनस्थित यो नाटकघरमा यतिबेला ‘बितेका कुरा’ नाटक मञ्चन भइरहेको छ । रूपनारायण सिंहले लेखेको यो नाटकको निर्देशन पोखरा थिएटरका अध्यक्ष परिवर्तन कार्कीले गरेका हुन् । नाटकले एक घण्टासम्म लगातार सबैको ध्यान खिच्छ । बाल कलाकारका रूपमा नाटकमा देखिएका सौरभ तिम्सिना र सिम्रन पौडेलको अभिनयमा विद्यार्थीले अपनत्व पाउँछन् । नाटकमा पुराना रंगकर्मी प्रकट पंगेनी शिवदेखि दिलप्रसाद गुरुङ, ध्रुव पौडेल, बबिता मल्ल ठकुरी, प्रसूना भण्डारी, सम्झना सिर्पाली, शरद भण्डारी, सूर्य सुवेदी, रोशन ज्ञवालीले समेत अभियन गरेका छन् ।

नाटकमा मानिसको विगत र वर्तमानबीचको सम्बन्ध चित्रण गरिएको छ । कक्षा ११ को ऐच्छिक नेपालीमा समेत रहेको यो नाटकले दर्शकलाई कहिले हँसाउँछ त कहिले गम्भीर बनाउँछ । हामै्र समाजमा हुन सक्ने घटनालाई लिइएको यो नाटक सन्देशमूलक छ । नाटक सोमबारबाहेक हरेक साँझ ५ बजे मञ्चन हुने गरेको छ । शनिबार दिउँसो १ बजे अतिरिक्त सो पनि चलाइने यो नाटक जेठ १९ गतेसम्म मञ्चन हुनेछ ।

प्रकाशित : जेष्ठ १३, २०७५ ०९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?