कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरियामा जे देखियो...

काठमाडौँ — हाम्रो विद्यालयले कोरियाका चारवटा स्कुलसँग मितेरी साइनो लगाएको छ । त्यही साइनोअन्तर्गत अघिल्लो वर्ष पुसमा दक्षिण कोरियाको थेगुका ३४ विद्यार्थी साथी र ६ जना शिक्षक नेपाल आएका थिए । उनीहरूलाई हाम्रो विद्यालयले पोखरा, चितवन, नगरकोट, भक्तपुर, काठमाडौं, पाटन घुमाइदिएको थियो । ती कोरियाली साथीलाई हामीले पनि विद्यालयमा स्वागत गरेका थियौं ।

कोरियामा जे देखियो...

यस पटक हामी कक्षा ६ देखि १० कक्षासम्मका कुञ्जाङ शेर्पा, विशाल कुँवर, प्रिज्मा गौतम, सुम्निामा ढुंगाना, आदेशमा राना, सन्देश काफ्ले, प्रनिश न्यौपाने लगायत २४ विद्यार्थीसाथीहरू शिक्षिका यसरेशा पन्त, शिक्षकहरू योगप्रसाद खतिवडा, जयराम खड्कालगायतको टोलीसँग कोरिया पुग्यौं ।

विद्यालयका संस्थापक शिवराज पन्त सरले नेतृत्व गरेको शैक्षिक र सांस्कृतिक भ्रमण १० दिनको थियो । जब हामी कोरियाको चौथो ठूलो महानगर थेगुमा उत्रियौं, सबै जना त्यहाँको विकास र सडक देखेर दंग पर्‍यौं । राजधानी सोल, बुसान, इंचियोनपछिको यो ठूलो महानगर रहेछ । त्यहाँको जनसंख्या हाम्रै काठमाडौं हाराहारीकै रहेछ । त्यहाँका सडक हाम्रो जस्तो फोहोर, साँघुरो र अव्यवस्थित हुने रहेनछन् । सडकमै बिजुली र टेलिफोनका केवल पनि नदेखिने रहेछन् । व्यस्त कोरियालीहरू सहयोगी भावनाका हुँदा रहेछन् । कामको चाप हुँदा पनि उनीहरू अरूलाई कसरी सहयोग गर्ने भन्नेबारे सजग भएको हामीले पायौं ।

सडक अनुशासन कोरियामा एकदमै कडा रहेछ । हामी जति दिन बस्यौं, सडकमा कतै जाम देखेनौं । पैदलयात्रुले पनि अनुशासन पालना गरेको देखियो । ट्राफिक नियमको पालना निकै राम्रोसँग भएको देखियो । सिटी टुरमा हामी सबै साथी नेपालमा यस्तो कहिले होला भनेर तुलना गथ्र्यौं । यदि कुनै पैदलयात्री बाटो काटिरहेको छ भने, एकै जना किन नहोस् त्यसलाई पहिलो प्राथमिकतामा राखिने रहेछ । हाम्रो यहाँ जस्तो पेलेर गाडी चलाउने रहेनछन् त्यहाँ । कोरियामा जमिनमुनिको भागको प्रयोग अत्यधिक देख्यौं । अन्डर ग्राउन्डमा पसल । सब–वे कति धेरै । तीन तहमुनिसम्म इन्जिनियरले जमिन प्रयोग गरेका रहेछन् ।

एक रात हामी कोरियाली साथीहरूको होमस्टेमा गयौं । त्यो बसाइमा धेरै साथीहरूले त्यहाँ साथी बनाए । अहिले काठमाडौंमा फर्केपछि पनि हामी उनीहरूसँग फेसबुकका माध्यमले कुराकानी गरिनै रहेका छौं । समुद्र र मरिन एकेडेमी हाम्रा लागि नौला विषय थिए । त्यहाँका स्कुलले समुद्र छेउमा छुट्टै एकेडेमी ‘मरिन सेन्टर’ बनाएका हुँदा रहेछन् । त्यहाँ प्रयोगात्मक सिकाइ हुने रहेछ । त्यहाँका कक्षामा २० देखि २५ जना मात्रै विद्यार्थी राखिँदा रहेछन् । यो कुरा स्राहै्र घत लाग्यो । त्यहाँ प्राइमरी, मिडिल र हाई स्कुल गरी तीन तहका स्कुल हँुदा रहेछन् ।

कोरियाली विद्यार्थीहरू हाम्रो जस्तो किताब र कापी होइन, कक्षामै अहिलेको प्रविधि ग्याजेट, आइप्याड, ल्यापटप आदि प्रयोग गर्दा रहेछन् । यो भ्रमणबाट हामीले त्यहाँको इतिहास र संस्कृतिबारे पनि जानकारी पायौं । जापानसँग भएको युद्ध र अमेरिकीहरूको सहयोगबारे पनि थाहा पायौं । कोरियाकै सबैभन्दा ठूलो स्टिल कम्पनी पोस्कोको कारखाना पनि घुम्यौं । कोरियामा घुम्दै गर्दा एक दिन नेपाली रेस्टुरेन्टमा पनि पुग्यौं । त्यहाँ नेपाली खानाको स्वाद लिने मौका मिल्यो । तारा नामको त्यो रेस्टुरेन्टका सञ्चालक नेपालबाट स्कुले विद्यार्थी घुम्न आएकोमा धेरै खुसी भए । प्राय: खानामा सी फुड र मासु हुने भएकाले हाम्रो समूहका केही भेजिटेरियन साथीलाई भने खानपानमा निकै समस्या भयो ।

नेपाल फर्केपछि हाम्रो सोचाइ, धारणा फराकिलो भएको महसुस भयो । धेरै साथीमा नेतृत्व क्षमता विकास भएको छ । हामी अरू विद्यालयका शिक्षक/शिक्षिकालाई पनि आफ्ना विद्यार्थीलाई यस्ता अन्तर्राष्ट्रिय शैक्षिक भम्रणमा लैजान सुझाव दिन्छौं । यस्ता भम्रणले हाम्रो सोचाइ र बुझाइमा धेरै फरक पार्ने रहेछ । हाम्रो आत्मविश्वास पनि बढेको छ ।
हामीले कोरियाली गीतमा त्यहाँ प्रस्तुति देखाएका थियौं । हाम्रो कला देखेर कोरियाली विद्यार्थी र शिक्षक दङ्ग परे । हाम्रो प्रस्तुतिले हुटिङ पनि पायो । रमाइलो पनि भयो । नेपालमा फेरि भेट्ने गरी हामी छुट्टियौं ।

-दीपांशु जोशी, कक्षा–९
एलआरआई स्कुल, काठमाडौं

प्रकाशित : जेष्ठ २०, २०७५ ०८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?