कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

लोभी जनावर

अनिल नेपाली

काठमाडौँ — बुलबुल नामको गाउँमा एउटी सोझी आइमाई बस्थिन् । उनले घरमा खरायो, कुखुरा, सुँगा, कुकुर, बिरालो, भेडो, बाख्रो, गाई, गोरु र घोडा पालेकी थिइन् । आइमाई निक्कै सोझी भएकीले कहिलेकाहीं सुँगाले ‘ए बूढी...ए बूढी, खानेकुरा देऊ, भोकायो भुँडी’ भनेर ख्यालठट्टा गर्दै बोलाउँथ्यो । तर, ती आइमाई सुँगाप्रति कुनै प्रतिशोधको भावना नराखी आफूले पालेका सबै जनावरलाई उत्तिकै माया गर्थिन् । सबै जनावरलाई ती आइमाईले सुखसँग पालेकी थिइन् । त्यति मात्र होइन, घरमा पालेका जनावरले चाहेको सबै कुरा आइमाईले पूरा गरिदिएकी थिइन् । उनले पालेका जनावरले केही चाहेमा सुँगाले तुरुन्त आइमाईलाई जानकारी गराउँथ्यो । त्यसैले सबै जनावरले सुँगालाई नेता मानेका थिए ।

लोभी जनावर

एक दिन ती आइमाई खेतमा गएको बेला खरायो, कुकुर, बिरालो, सुँगा, कुखुरा, गाई, गोरु, घोडा, बाख्रा र भेडाले बैठक बसे । त्यहाँमध्ये सबैभन्दा बुद्धिमा सुँगा थियो । सबैभन्दा पहिला बैठकलाई सुँगाले सम्बोधन गर्दै भन्यो, ‘मेरा साथीहरू, सोझी आइमाईले अनुमति दिए हामी वनभोज पो जाने कि ?’ सुँगाको प्रस्ताव सुनेर सबै जनावर एकअर्काको मुख हेर्न थाले । त्यसपछि सबै पेट मिचेर हाँस्न थाले । सबै जनावर निक्कैबेर हाँसे । कसैको हाँसो रोकिएन । यो देखेर सुँगालाई रिस उड्यो । सुँगाले झर्किएर भन्यो, ‘ए साथीहरू किन हाँस्यौ हिँ...हिँ....हिँ....?’ ‘तिम्रो प्रस्ताव मन परेर नि सुँगा भाइ,’ घोडाले भन्यो । अनि फेरि घोडा ठूलो स्वरमा हाँसिरह्यो । अन्तत: सुँगाको प्रस्ताव सबैलाई मन पर्‍यो । सबै वनभोज जान तयार भए । आइमाई घर आएपछि यो कुरा उनलाई सुनाइदिन सबैले सुँगालाई जिम्मा दिए ।

बेलुका भयो । आइमाई खेतबाट डोकोमा घाँस लिएर फर्किइन् । भोलि त मीठो वनभोज खाइन्छ भन्दै गाई, गोरु, घोडा, भेडो र बाख्राले नमीठो मान्दै घाँस खाए । कुखुरा, खरायो, सुँगा, कुकुर र बिरालोले पनि भोलिको मीठो वनभोज सम्झिँदै आइमाईले पकाएको खाना र गेडागुडी खाएर सबै आ–आफ्नो गोठ, गुँड र तबेलामा सुत्न गए । आइमाई पनि आफ्नो कोठामा सुत्न गइन् ।

सुँगा सुटुक्क आइमाईको कोठामा छिर्‍यो अनि आइमाईले पालेका सबै जनावरले भोलि वनभोज जान चाहेको कुरा उनलाई बतायो । सुँगाको कुरा सुनेर आइमाई पनि एउटा सर्त राखेर खुसी भइन् । उनको सर्त थियो– जनावरहरूको वनभोजमा उनलाई पनि सँगै लैजानुपर्ने । आइमाईको सर्तमा सुँगाले पनि सहमति जनाएर हुन्छ भन्यो । भोलिपल्ट उज्यालो भयो । आइमाईले पालेका सबै जनावर उनको आँगनमा जम्मा भए । जनावरहरूले आइमाईसँग नुन, तेल, चामल, दाल, साग, आलु, मासु...वनभोजमा पाक्ने मीठामीठा खानेकुरा सबै मागे । आइमाईले पनि खुरुखुरु जनावरहरूले मागेजति सबै सामान दिइन् । जनावरहरू खुसी भए । गाई, गोरु र भेडाले भाँडाकुँडा र खानेकुरा बोके । कुकुर, बिरालोले गेडागुडी बोके । आइमाई घोडाको पिठयुँमा चढिन् । अनि ती सबै जना टाढाको जंगलतिर लागे ।

निक्कै बेर हिँडेपछि उनीहरू घनघोर जंगलमा पुगे । नजिकै पानी र सानो चउर भएको ठाउँमा सबैले सामान बिसाए । सबैलाई निक्कै थकाइ लागेको थियो । आइमाई पनि घोडाबाट झरिन् । सुँगाले सबै जनावरलाई काम अह्रायो । घोडाले पानी ओसार्न थाल्यो । बाख्रो, भेडो, कुकुर, बिरालो, कुखुराले दाउरा बढुल्न थाले । गाई र गोरुले भाँडाकुँडा सफा गर्न थाले । ती आइमाईले मीठामीठा खानेकुरा तयार गर्न थालिन् । सबै जनावरहरू खुसीले उफ्रन थाले ।

केही समयपछि मीठामीठा खानेकुरा तयार भए । हरियो सागको तरकारी देखेर गाई, गोरु, खरायो, बाख्रो र भेडाको मुख निक्कै रसायो । भाँडोमा पाकेको मीठो मासु देखेर कुकुर, बिरालोको मुखबाट पानी रसायो । सबै जनावरलाई आइमाईले पकाएको मीठो खानेकुरा खान हतार भएको थियो । केही समयपछि खानेकुरा तयार भयो । आइमाईले सबै जनावरलाई खान तयार हुन आदेश दिइन् । तर, बिरालोले मुसा देख्यो । यता मासुभात पाकेको थियो । तर मीठो मासुभात पनि खाने र मुसा पनि खाने बिरालोलाई लोभ पलायो ।

ऊ मुसो खान झम्टेर ओढारतिर गयो । अरू जनावरले भकाभक पेटभरि मीठो वनभोज खाए । थपीथपी खाए । सबै जनावरले पेटभरि मासु, भात, अचार, दाल, तरकारी र मीठामीठा खानेकुरा खाए । सबै जनावर टन्न खाना खाएर चउरमा पल्टे । बिरालो निन्याउरो मुख लगाएर आयो । उसले खाना माग्यो । खाना सकिएको थियो । बिरालोले मुसा खान नपाएको कुरा सबैले थाहा पाए र गाली गर्दै भने– ‘थुइक्क तेरो लोभ, यता मीठो मासुभात पाकेको थियो तर तँ मुसा खान ओढार पसिस् । न त मुसा खाइस् न त मीठो मासुभात...।’
यति भनेर सबै जना फेरि बिरालोलाई हेरेर पेट मिचीमिची हाँस्न थाले । यसरी साथीहरूले आफ्नो लोभ गर्ने बानीको खिल्ली उडाएको देखेर लाज सहनै नसकी बिरालो भोको पेटमा जंगलमा सुइँकुच्चा ठोकेर अलप भयो ।

टन्न पेटभरि मीठो वनभोज खाए पनि गाई, गोरु, भेडो, बाख्रो र खरायोलाई वनको लहलह परेको हरियो र विभिन्न थरीका घाँस अलिकता भए पनि खाने लोभ पलायो । उनीहरूले सल्लाह गरे अनि आइमाईको आँखा छलेर उनीहरू सुटुक्क घाँस खान केही परको वनमा गए । कुकुर मासु खोज्न र कुखुरो अन्न खोज्न जंगल पसे । सुँगा, घोडा र आइमाईले उनीहरूलाई निक्कै बेर पर्खे । तर, ती जनावर कोही फर्केनन् । अन्तिममा आइमाईले थाहा पाइन्, गोरु र गाई भीरबाट लडेर मरेछन्, भेडा र बाख्रालाई बाघले खाएछ । कुकुरलाई चितुवाले र कुखुरालाई स्यालले खाएछ । उनीहरूको लोभ गर्ने बानीले ज्यानै गएको कुरा सुँगा, आइमाई र घोडाले थाहा पाए । लोभी सधैं एक्लो हुन्छ । एक्लो भए केही गर्न सकिँदैन, मर्नुपर्छ । लोभीहरूको अलिकति पनि माया छैन मलाई । यति भनेर सोझी आइमाईले लामो सुस्केर हालिन् । अनि उनी घोडाको पिठयुँमा बसिन् । सुँगा पनि बस्यो । त्यसपछि आइमाई घरतिर फर्किन् । टाढाको वनमा बेलुकाको चिसो हावा चलिरह्यो ।

प्रकाशित : जेष्ठ २७, २०७५ ११:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?