कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्तक पढ्ने बानी

सुनीता साखकर्मी

काठमाडौँ — तिम्रो विद्यालयमा लाइब्रेरी छ ? छ भने त्यहाँ कथा, कविता, निबन्ध र अन्य थुप्रै विधाका किताब होलान् । कति त तिमीले पढेका पनि छौ होला । कोर्स बाहिरका किताब पढ्दा बेग्लै रमाइलो हुन्छ । त्यसमा आकर्षक चित्र पनि छन् भने झनै रोचक हुन्छ ।

पुस्तक पढ्ने बानी

राजधानीको भृकुटीमण्डपमा हालै भएको २२ औं अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनीका स्टलहरूमा यस्तै थुपै्र किताब थिए । त्यहाँ राखिएका झन्डै ६० स्टलमध्ये धेरैजसोमा बालबालिका लागि लेखिएका कथा, कविता, निबन्ध, उपन्यास र जानकारीमूलक पुस्तक थिए । तिमीहरूजस्तै धेरै बालबालिकाले त्यहाँबाट किताब किनेर पढ्न लगे । तीन वर्षकी माइरा श्रेष्ठ आमा मञ्जुसँगै प्रदर्शनीमा आएकी थिइन् । आउनेबित्तिकै उनले चित्रहरूमार्फत ‘ए, बी, सी, डी.....’ लेखिएको किताब छानिन् । तीन वर्षकी उनी एलकेजीमा पढ्छिन् ।

काभ्रेकी रितु लामा अहिले राजधानीमा होस्टलमा बसेर पढ्दै छिन् । उनले पनि पहिलो पटक प्रदर्शनीमा तीनवटा कथाका किताब किनिन् । होस्टलमा बस्दा उनीसित पैसा थिएन । तर विद्यालयले प्रदर्शनीमा ल्याउने भनेपछि उनले बुवासित किताब किन्न पैसा मागिन् । उनका बुवाले शिक्षिकामार्फत उनलाई पैसा उपलब्ध गराइदिनुभएको थियो । रितु प्राय: विद्यालयको लाइब्रेरीमा पनि पुस्तक पढ्न गइरहन्छिन् । ‘तर प्रदर्शनीमा त हाम्रो लाइब्रेरीमा भन्दा पनि धेरै पुस्तक पाइँदो रहेछ,’ उनले भनिन्, ‘अर्काेपटक पनि आइरहन्छु र योभन्दा पनि धेरै किताब किनेर लान्छु ।’

नेपालमा किताब छाप्ने चलन सुरु नहुँदै आमा–हजुरआमाहरूले नाति नातिनालाई घरमै लोककथा र गाउँखाने कथाहरू सुनाउने गर्नुहुन्थ्यो । नयाँ प्रविधिको विकाससँगै कथा पनि छापिन थाले । अचेल त्यस्ता लोककथा र गाउँखाने कथाका किताब पनि सजिलै पाइन्छन् । क्याराविन स्कुलमा कक्षा आठमा पढ्ने भूमिका दुराले प्रदर्शनीमा ‘बार्बी अ फेरी सिक्रेट’ कथाको किताब किनिन् ।

उनी प्राय: कथाका किताब पढ्न रुचाउँछिन् । उनलाई कथाका किताब पढ्न एकदमै मन पर्छ । अहिलेसम्म पढेका कथामध्ये उनलाई ‘सिन्वाद’ र ‘एलिस इन वन्डरल्यान्ड’ पुस्तक मन परेका छन् । विगतमा आमाबुवाले किताब किनेर ल्याइदिने गर्नुभएको थियो, यसपल्ट भने उनी पनि प्रदर्शनीमा आएकी हुन् । ‘पहिलो पटक आफैंले प्रदर्शनीमा आफूलाई मन परेको किताब किन्न पाउँदा खुसी लागेको छ,’ उनले भनिन्, ‘यस्ता किताबले पाठ्यक्रमका किताब पढ्न पनि सहयोग गरेको छ ।’

कथाकार माया ठकुरीले दर्जनभन्दा बढी बालसाहित्य र कथा लेखिसकेकी छन् । प्रदर्शनीमा उनले निर्मल विद्यापीठ विद्यालयका बालबालिकालाई साहित्यकार कार्तिकेय घिमिरेको ‘फुच्ची नानी सूर्य भेट्न गइन्’ र जापानको ‘सुनकेशरी रानी कथा’ सुनाइन् । ‘अहिलेका बालबालिकालाई अन्तरिक्ष, मानव र शरीर विज्ञानबारे धेरै कुरा थाहा छ,’ ठकुरी भन्छिन्, ‘अहिले हजुरआमाले कथामा भनेका कुराहरूको प्रमाण खोज्छन् । यस्तोमा बच्चाहरूलाई कहिल्यै गलत कुरा भन्नुहुन्न । उपयुक्त कारणहरू दिनैपर्छ । म हजुरआमा र आमाले सुनाएका कथालाई नै बढाएर र मिलाएर फेरि लेख्ने गर्थेँ । यसरी नै मलाई पनि कथा लेख्न आएको हो ।’

बालबालिकामा ‘पढ पढ’ भन्ने दबाबले भन्दा पनि आफ्नै इच्छाशक्तिले पढ्न मन लाग्नु राम्रो हो,’ उनको भनाइ छ, ‘आमाबुवाले पनि बच्चाहरूको शारीरिक विकासमा मात्रै नभई मानसिक वा मनोवैज्ञानिक पक्षमा समेत सुधार ल्याउनका लागि उनीहरूलाई गुणस्तरीय बालसाहित्य पढ्न प्रेरित गर्नुपर्छ ।’

साहित्यकार कार्तिकेय घिमिरे २० वर्षदेखि बालसाहित्यका किताब लेखन र सम्पादनमा सक्रिय छन् । दर्जनौं कृतिको लेखन–सम्पादन गरिसकेका घिमिरेको अनुभव छ– ‘बालबालिकालाई असल बनाउनु छ भने राम्रा किताब पढ्न दिनुको विकल्प छैन ।’ आफ्नो मुख्य उद्देश्य नै बालबालिकाको पठन सीप बढाउनु रहेको उल्लेख गर्दै २०७६ देखि पुस्तक पठन प्रतियोगिता नै सुरु गर्ने योजनासमेत उनले सुनाए ।

प्रदर्शनीमा तीन वर्षदेखि सहभागिता जनाउँदै आएकी रातो बंगलाकी दीपा थापा भन्छिन्, ‘अब नेपालमा पनि पठन संस्कृति विकास भइसकेको छ । पढ्नुपर्छ भन्ने चेतना विकास भइरहेको छ । त्यसैले त बालबालिका आफैं आएर पुस्तक किन्छन् । नभए अभिभावक आएर किनिदिनुहुन्छ ।’ प्रदर्शनीमा दया फाउन्डेसनले सामुदायिक विद्यालयका विद्यार्थीलाई बोलाएर उनीहरूका प्रतिभा प्रदर्शन गर्ने अवसर दिलाएको थियो । विभिन्न स्कुलका मन्टेश्वरीमा पढाउने शिक्षकशिक्षिकाले मन्टेश्वरी शिक्षण विधि र विज्ञान तथा प्रविधिबारे जानकारी गराएका थिए ।

प्रकाशित : जेष्ठ २७, २०७५ १०:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?