कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

उड्ने मेसिन

काठमाडौँ — हिमांशु र साक्षात्का मामा इन्जिनियर हुनुहुन्थ्यो । उहाँ अकाशमा उड्ने मेसिन बनाउनुहुन्थ्यो । एक दिन मामाले भान्जाभान्जीलाई आकाशमा उडाउने विचार गर्नुभयो । मामाको विचार सुनेर उनीहरू खुसी भए ।

उड्ने मेसिन

मामाले एउटा सानो, सुन्दर चिटिक्क परेको मेसिन ल्याउनुभयो । त्यो रिमोट कन्ट्रोलबाट चल्थ्यो । त्यसमा दुई जना आरामले बस्न सक्ने सिट थिए । मामाले मेसिनका बारेमा अरू पनि जानकारी दिनुभयो तर उनीहरूले ध्यान दिएर सुनेनन् । उनीहरूलाई उड्ने रहर मात्र थियो, जान्ने इच्छा थिएन । उनीहरू सिटमा बसे । मामाले हात हल्लाउँदै ‘बाई’ भन्नुभयो । उनीहरूले पनि त्यसै गरे ।

मामाले रिमोट कन्ट्रोल चलाउनुभयो । मेसिन माथिमाथि उड्यो । मामा सानोसानो देखिनुभयो । घरहरू पनि साना देखिए । केही बेरपछि मामा, घरहरू र सहर पनि देखिन छाड्यो ।
मेसिन उड्दै बादलभित्र हरायो । उनीहरू डराए । उनीहरूले मामालाई फोन गरे । मामाले भन्नुभयो, ‘चिन्ता नगर, म छँदै छु नि ।’ एकैछिनमा मेसिन बादलभन्दा माथि पुग्यो । सूर्यका सुनौला किरणहरू बालदमा परेका थिए । त्यसले सेतो बादल टलक्क टल्कियो । उनीहरूलाई त्यो बादल आजुलीमा उगाऊँझैं लाग्यो । मेसिन उड्दै हिमालमाथि पुग्यो । हिमाल पनि सूर्यका सुनौला किरणले सुन्दर देखिएको थियो । उनीहरूले नेपालका हिमाल कति राम्रा रहेछन् भन्ने कुरा बुझे । पछि ठूलो भएर हिमाल चढ्ने विचार पनि गरे । वन जंगल, ठुल्ठूला नदीनाला, समुद्र गाउँ र सहरमाथि उनीहरू उड्दै थिए । माथिबाट कोही उड्दै आएजस्तो देखियो ।

साक्षात्ले भने, ‘मामा मेसिन रोक्नुहोस् । कोही यतै आउँदै छ ।’ एकैछिनमा आफ्ना सुन्दर पखेटा चलाउँदै चारवटी सुन्दरीहरू आइपुगे । साक्षात् र हिमांशु दुवैले एकै स्वरमा भने, ‘नमस्कार ∕ हामीले यहाँहरूलाई चिनेनौँ ?’ उनीहरूले नमस्कार फर्काउँदै भने, ‘हामी परीहरू हौँ । तिमीहरूसँग खेल्न आएका ।’ हिमांशुले भनिन्, ‘तपार्इंहरू हामीलाई चिन्नुहुन्छ त ?’ परीहरूले भने, ‘आबुई ∕ किन नचिन्नु नि । तिमी हिमांशु होइनौ ? अनि उनी तिम्रा भाइ साक्षात् ।’ परीहरूले खेल्न बोलाए । उनीहरूले भने, ‘हुन त हुन्छ तर हामी कसरी बाहिर आउने ?’ परीहरूले आफ्ना झोलाबाट दुई जोडी राम्रा पखेटा झिके अनि साक्षात् र हिमांशुलाई लगाइदिए ।

उनीहरू कहिले बादलभित्र गएर लुकी खेल्थे, कहिले कबडी, कहिले भकुन्डो खेल्थे, कहिले दगुरी । खेल्दाखेल्दै साक्षात् र हिमांशुलाई प्यास लाग्यो, गर्मी पनि भयो । खलखली पसिन आए । जीउ नै लल्याकलुलुक भयो । जलपरी अगाडि आइन् र भनिन्, ‘ए ∕ तिमीहरूलाई त प्यास लागेछ । गर्मी पनि भएछ ।’ उनीहरू केही बोल्न सकेनन् । आँखाले ‘हो’ भन्ने संकेत मात्र गरे । जलपरीले आफ्ना पखेटा भ्याटभ्याट पारिन्, दररर पानी पर्‍यो । उनीहरूको गर्मी र प्यास दुवै मेटियो । जीउ नै फूर्तिलो भयो । त्यसपछि नाचगान सुरु भयो । कोही मादल बजाउने, कोही गाउने, कोही छमछमी नाच्ने । उनीहरूले नाचेको परबाट देवता पनि चिहाईचिहाई हेर्दा रहेछन् । हिमांशु र साक्षात् नाच्दानाच्दै गलेर भुतुक्क भए । भोकले पनि सतायो । यो कुरा फलपरीले थाहा पाइन् र सोधिन्, ‘नानीबाबु, तिमीहरूलाई भोक लाग्यो ?’ उनीहरूले भने, ‘हो दिदी ।’ फलपरीले आफ्ना पखेटा भ्याटभ्याट पारिन् । त्यहाँबाट केरा, आँप, कटहर, सुन्तला, लिची, स्याउ, नास्पाती, सरिफाजस्ता नानाथरीका फलहरू निस्किए । मीठामीठा फलहरू छानीछानी खाए र उनीहरू टम्म अघाए । त्यसपछि मीठामीठा कुरा सुरु भए । परीहरूले राम्राराम्रा कथा र कविता सुनाए ।

साँझ पर्‍यो । साक्षात् र हिमांशुलाई छुट्टिन मनै भएन । परीहरूसँगै बसिरहूँभैंm लाग्यो । जूनपरीले फकाउने निहँु पारिन् । आफ्ना दुवै हातले हिमांशुका गाला मुसारिन् र मुखले लामो ‘फु’ गरिन् । हेर्दाहेर्दै हिमांशु त जुनजस्तै सुन्दर देखिइन् । जूनपरीले साक्षातलाई पनि त्यस्तै सुन्दर बनाइन् । त्यसपछि सुनपरीको पालो आयो । उनले आफ्ना पाखेटा भ्याटभ्याट पारिन् र सुनका सुन्दर गहना निकालिन् । परीहरूले साक्षात् र हिमांशुलाई सिागारे । उनीहरू परीजस्तै सुन्दर देखिए । उनीहरूलाई कत्तिखेर घर पुगूँ भन्ने लाग्यो । उनीहरूले भने, ‘परी दिदी, परी दिदी अब हामी घर जान्छौं ।’ उनीहरू मेसिनमा बसे । ‘बाई’ भन्दै परीहरू पनि आफ्नो बाटो लागे ।

साक्षात्ले मामालाई बोलाए तर मामाको बोली सुनिएन । उनीहरूको मेसिन पनि चलेन । अब के गर्ने ? आफूसँग पखेटा पनि छैनन् । परीहरू पखेटा लिएर उडिगए । उनीहरू आत्तिए र मेसिनलाई जथाभावी चलाउन थाले । चलाउँदाचलाउँदै मेसिनमा एउटा टीभीजस्तै स्क्रिन देखियो । त्यसमा खै केके लेखिएको थियो । त्यो उनीहरूले पढ्न जानेनन् । अलिअलि पढे पनि अर्थ लगाउन आएन । उनीहरू विद्यालय त जान्थे तर पढ्दैनथे । उनीहरू साथीको होमवर्क सार्थे । फेल भए भने रोईकराई पास गरिमाग्थे । उनीहरूलाई टीभीमा कार्टुन हेर्न पाए पुग्थ्यो । पढ्न मन लाग्दैनथ्यो । बेलामा नपढ्दा आज उनीहरूलाई साह्रै दु:ख लाग्यो ।

दुई जना दिदीभाइ मात्र थिए । टलपल आँसु पार्दै साक्षात्ले हिमांशुलाई हेरे । उनी पनि आँसु बगाउँदै थिइन् । उनीहरू डराए अनि परीहरू गएतिर फर्किएर रुन्चे स्वरमा कराए, ‘जलपरी दिदी... फलपरी दिदी ....∕’ उनीहरूले चारै जना परीहरूलाई बोलाइरहे ।

एकैछिनमा पर झललल उज्यालो देखियो । हेर्दाहेर्दै चारैजना परीहरू उनीहरूका सामुन्ने आए । परीहरूले समस्या बुझे । उनीहरूले मेसिनलाई यताउता चलाए । टीभीको स्क्रिनमा देखिएका कुराहरू पढे । त्यहाँ लेखिएअनुसारका स्विच थिचे । त्यतिकैमा मामाको बोली सुनियो, ‘हेलो भान्जा, हेलो...हेलो..., भान्जी, हेलो...हेलो...’ उनीहरूले आँसु चुहाउँदै भने, ‘हजुर, मामा ∕’ मामाले भन्नुभयो, ‘तिमीहरूले मेसिनलाई जथाभावी चलायौ । त्यसैले फोनको सम्पर्क टुट्यो । स्क्रिनमा लेखेको कुरा किन नपढेका ?’ उनीहरूले सुँक्कसुँक्क गर्दै भने, ‘हामीलाई त पढ्नै आउँदैन ।’ उनीहरूले पढ्न नजानेको कुरा सुन्दा मामाले दु:ख मान्नुभयो । परीहरूले पनि दु:ख माने अनि सम्झाए, ‘अब रोएर हुँदैन । घर गएर राम्रो लेखपढ गर है । अर्को पटक आउँदा लेख्न पढ्न सक्ने हुनु, नत्र यस्तै दु:ख पाइन्छ ।’ उनीहरूले भने, ‘हस् दिदी ।’ मेसिन चल्यो । परीहरूलाई ‘बाई दिदी’ भनी उनीहरू फर्किए ।

प्रकाशित : असार १७, २०७५ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?