कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जनावरको एकता

काठमाडौँ — मानिसहरू दिन प्रतिदिन वातावरण विनाश गर्दै गइरहेका छन् । उनीहरू आफ्नो फाइदाका लागि रूख काट्छन् र घर बनाउँछन् । आफ्नो बासस्थान बनाउँदा अरूको बास उखेलिएको उनीहरू बुझ्दैनन् ।

जनावरको एकता

वन विनाशका कारण समस्या देखा परेपछि एक दिन जंगलमा सिंहले जनावरहरूको बैठक बोलायो । उसले बैठक बोलाउनुको कारण बतायो, ‘मेरा प्यारा जंगलका बासिन्दाहरू हो, मानिसहरू हाम्रो घरलाई उजाड बनाउँदै छन् । यही रीतमा जंगल मासिँदै जाने हो भने, एक दिन हामी पनि यहाँबाट बसाइँ सर्न बाध्य हुनुपर्नेछ । अत: हामीले बेलैमा यसको समाधान निकाल्न यो भेला बोलाएको हुँ ।’ यति भनेर सिंहले अगाडि रहेका जनावरतिर हेर्‍यो । एउटा लामा कान भएको खरायोले हात उठायो र बोल्न सुरु गर्‍यो, ‘हामी यसमा के नै गर्न सक्छौं र ? मानिससँग खतरनाक हातहतियार छन् । उनीहरू हामीलाई सजिलै मार्न सक्छन् ।’

एकछिन् सभामा सन्नाटा छायो । उसका कुरालाई साना लोखर्केहरूले समर्थन गरे । आफ्नो भुवादार पुच्छर हल्लाउँदै उनीहरू दु:खी भइरहेको दृश्य साँच्चै नै पीडादायी देखियो । ‘के हामी मानिसहरू शक्तिशाली छन् भन्दैमा चुप लागेर बस्न सक्छौँ त ?’ दुम्सीले आफ्नो असन्तुष्टि व्यक्त गर्‍यो । स्याल झटपट्ट बोल्यो, ‘मसँग एउटा राम्रो उपाय छ । किन हामी उनीहरूलाई आफ्ना कुरा बताउँदै पत्र नलेख्ने ?’ सबैले एकै स्वरमा हो हो भने र पत्र लेख्ने भन्दै स्यालका कुरामा समर्थन जनाए ।

आफ्नो घाँटी सफा गर्दै बूढो भालु बोल्न थाल्यो, ‘चिठी त लेख्ने तर के हामी जनावरको भाषा मानिसले बुझ्छन् ?’ सभामा सन्नाटा छायो । यसबारे उनीहरूले सोचेकै रहेनछन् । त्यतिकैमा सिंहले फेरि आफ्नो विचार व्यक्त गर्‍यो, ‘तिमीहरू सबैका कुरा मैले सुनेँ । मलाई ठीक पनि लाग्यो तर मेरो विचारमा मानिसहरूले त्यति सजिलै सम्झेर हाम्रो बारेमा राम्रो सोच्लान् भन्ने लाग्दैन ।’

‘उसो भए के गर्न सकिन्छ त ?’ बूढो भालुले जिज्ञासा राख्यो । त्यति बेलासम्म रूखमा बसेर सबै कुरा सुनिरहेको मुनाल रूखबाट तल ओर्लियो र अर्नाको सिंगमा बस्यो । शान्त भएर उसले मसिनो स्वरमा आफ्नो प्रस्ताव सभामा राख्यो, ‘मानिसलाई तह नलगाए त हाम्रो बासस्थान मासिनेमा हामी जानकार छौँ । मेरो कुरा मान्नुहुन्छ भने, म एउटा प्रस्ताव राख्छु ।’
खरायोले प्रस्ताव सुन्न आफूहरू आतुर भएको राय व्यक्त गरेपछि मुनालले फेरि थप्यो, ‘हामी सबै जना गएर उनीहरूको घर भत्काइदियौँ भने उनीहरू पनि हामीजस्तै घरविहीन हुन्छन् । अनि मात्र उनीहरूले हामीलाई परेको दु:ख बुझ्लान् ।’ सबैले होमा हो मिलाए र भोलिपल्ट बिहानीको सूर्योदयसँगै मानव बस्ती जाने सल्लाह गरे । सल्लाहबमोजिम उनीहरू भोलिपल्ट सबै जम्मा भए र त्यहाँबाट मानव बस्ती प्रवेश गरे । जंगलका जनावरहरू सबै एकै पटक गाउँमा आएको देखेर मानिसहरू छक्क परे । मानिसले हेर्दाहेर्दै समूहमा आएका जनावरहरूले फौमानको घर भत्काउन थाले । मानिसले उनीहरूलाई धपाउने प्रयास त गरे तर सफल भएनन् ।

किन जनावरहरू यसरी आक्रामक भएर आए ? यो प्रश्न सबैको मनमा नाच्यो । गाउँका मानिस बैठक बसे । जनावरलाई यही प्रश्न सोध्ने निर्णय गरेर उनीहरू जनावरको सामू गए र गाउँका मास्टर हरिप्रसादले जनावरका नाइके सिंहलाई भने, ‘किन तिमीहरूले यसरी हाम्रो घर भत्काएको ?’ सिंहले गर्जंदै भन्यो, ‘तिमीहरू चेतना भएर बिग्रिएका प्राणी हौ । तिमीहरू आफ्नो बारेमा मात्र सोच्ने गर्छाै । हाम्रो बारेमा केही सोचेनौ । त्यसैले हामी तिमीहरूको बस्ती मास्न आएका हौँ ।”

सिंहका कुरा सुनेर मानिस छक्क परे र सबै मुखामुख गर्न थाले । उनीहरूलाई आफ्नो गल्तीको पश्चाताप भयो र उनीहरूले जनावरसँग माफी मागे । मानिसले कुनै रूख काट्न परेमा पहिला रूख रोप्ने अनि मात्र रूख काट्ने तथा कुनै पनि जीवहरूको सिकार नगर्ने प्रतिबद्धता जनाए । सबै जनावरहरू खुसी हुँदै जंगल फर्किए र सबैभन्दा धेरै धन्यवाद मुनाललाई दिए । आजकाल उक्त जंगल नेपालको नमुना जंगल बनेको छ ।

-सिद्धि बाहेती, कक्षा–९
संस्कृति इन्टरनेसनल स्कुल, काठमाडौं

प्रकाशित : असार २४, २०७५ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?