कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीलाई चिठी

काठमाडौँ — सम्माननीय प्रधानमन्त्रीज्यू !
हजुर हाम्रा समस्यासँग अनविज्ञ हुनुहुन्न । हजुरलाई पनि हाम्रो देशका विकृति हटून् भन्ने पक्कै लागेको होला । जनताले सुशासन र अमनचैन पाऊन् भन्ने चाहना होला । त्यसका लागि पहल पनि गरिरहनु नै भएको छ होला । यति हुँदाहुँदै पनि मैले देखेका केही कुरा भन्न चाहन्छु ।

प्रधानमन्त्रीलाई चिठी


म राजधानीमा बसोबास गरेर स्कुल पढ्ने विद्यार्थी हुँ । सामान्यत: कलंकी, मातातीर्थ, थानकोटवरपर हुने ट्राफिक जामले सबै मानिस र हामीजस्ता विद्यार्थीलाई असर परेको छ । मेरा स्कुले साथीहरू कहिले त १ घण्टी पढाइ नै छुटाउँछन् जामका कारण । मेरो क्षेत्रका बासिन्दाले अव्यवस्थित सडक र ढलका कारण कम्ती सास्ती व्यहोर्नुपरेको छैन । २०७२ को भूकम्पमा भत्केका पुराना संरचनाले यहाँका बासिन्दा साह्रै अप्ठेरामा छन् । कोही पनि आनन्दका साथ सुरक्षित भएर सुत्न सक्दैनन् ।

अहिले सरकारले काठमाडौं उपत्यकाका साँघुरा सडक बिस्तारको काम गरिरहेको छ । दिउँसै पनि काम हुने भएकाले प्राय: सबै सडक अस्तव्यस्त छन् । आकाशबाट पानी पर्नासाथ धान रोप्न ठिक्क पारिएको खेतजस्तै बन्छ । घाम लागे फेरि धुलोले हिँडिनसक्नु हुन्छ । जताततै लत्रिएका बिजुली र टेलिफोनका तारहरूले सवारीचालक र पैदलयात्रीलाई उत्तिकै मुस्किल पर्छ । राजधानीका पिच गरेका मूल सडक नै जताततै खाल्डाखुल्डी परेका छन् । सरकाले कि घरहरू नभत्काउनुपर्ने कि भत्काएपछि कमसेकम चाँडै बनाउनुपर्ने होइन र ?

राजधानीमा कहिले केका नाममा त कहिले के बहानामा बन्द हड्ताल हुन्छ । यो पुगेन र त्यो पुगेन भन्दै बन्द हड्ताल गर्दा कति विद्यार्थीको भविष्यसँग खेलावाड हुने गरेको छ । राज्यको नीतिनियममा सित्तैमा शिक्षा भनिए पनि अहिले यसले सुनको भाउ छुन आँटिसक्यो । नयाँ साल लाग्नेबित्तिकै हरेक आमाबुबालाई पैसा खोज्ने हतारो हुन्छ । धनीका लागि त ठिकै हो । तर निम्न वर्गीय र मध्यम वर्गीय परिवारका लागि छोराछोरी पढाउनु पनि आकाशका तारा गन्नुजस्तै हुन थालिसकेको छ । हाम्रो मुलुकमा यस्तो स्थिति अब अझै कति रहन दिने ?
अझ उच्च शिक्षाको शुल्क त यति महँगो छ कि आमाबुबाको हातै काप्न थाल्छ त्यो सुनेपछि । धनीका छोराछोरी त डाक्टर, इन्जिनियर बन्न सजिलो छ । तर कुनै किसानको छोराले डाक्टर बन्न चाहयो भने ५०/६० लाख तिरेर पढ्न सक्छ ?

नेपालमा बर्सेनि लाखौं पर्यटक घुम्न आउँछन् । तर केही वर्षयता उनीहरू हामीकहाँ आएर फर्कंदा कस्तो सोचेर फर्कंदा हुन् ? उनीहरू यहाँका पुराना तथा ऐतिहासिक महत्त्वका अधिकांश संरचना भत्केका र अलपत्र परेको देखेर जान्छन् । यसबाट विदेशमा हाम्रो मुलुकको छवि कस्तो बनिरहेको होला ?

विकासका योजना कुनै खास व्यक्तिको पलायनका लागि नभई देशमै श्रम गर्न पाउने अवसरका लागि हुनुपर्ने हो । तर हाम्रोमा किन त्यस्तो हुन सकेन ?
प्रधानमन्त्रीज्यू, तपाईंको बलियो सरकाले यो अव्यस्था हटाउन सक्नुपर्ने होइन र ? के यी सब यहाँका प्रमुख दल तथा नेताले देशका लागि आफ्नो दायित्व पूरा नगरेकैले भएको होइन ? खोई त देश र जनताका लागि समर्पित भएको ? यदि हजुरहरूद्वारा यो देशको जिम्मेवारी सही रूपमा बहन भएको भए आज कसरी यो देशदुनियाँको नजरमा तुच्छ हुन पुग्थ्यो त ?
देश कता दौडिरहेछ र देशको भविष्य कति अन्योलमा छ भन्ने के हजुरहरूलाई हेक्का छैन र ?

अहिले तपाईं बलियो सरकारको शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ । यति बेला पनि मुलुकले सही दिशा लिएन भने अब कहिले लिन्छ ? त्यसैले प्रधानमन्त्रीज्यू कागज र बोलीमा मात्र सुशासन टिकाउनुभएन, क्रियाकलापमा पनि लागू गर्नुपर्‍यो । आशा मैले व्यक्त गरेका समस्याहरूबारे हजुरले मनन गर्नुहुनेछ । र आशा गर्नेछु, देशमा छिट्टै परिवर्तनको महसुस गर्न पाइयोस् ।

-आयुषा सुवेदी, कक्षा १०
एलआरआई स्कल, काठमाडौं

प्रकाशित : श्रावण ६, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?