कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

काठमाडौंको कर्णाली

विद्यालयका लागि डेस्कबेन्च र शैक्षिक सामग्री किन्न तीन दिन नाटक मञ्चन
सुनीता साखकर्मी

काठमाडौँ — काठमाडौंमा कर्णाली नदी छैन । तर सेवासुविधाका दृष्टिले कर्णालीकै झल्को दिने ग्रामीण बस्ती भने अझै छन् । त्यस्ता बस्तीमा विकासका आधारभूत सेवा पुग्न सकेको छैन । साँखुबाट केही माथि उक्लिनेबित्तिकै ‘काठमाडौंको कर्णाली’ भनेर चिनिने गाउँ हुन्– शंखरापुर नगरपालिकाका घुमारचोक र लप्सेफेदी ।

काठमाडौंको कर्णाली

हुन त यी नगरपालिकाभित्र पर्छन् । तर एउटा नगरमा हुनुपर्ने सेवासुविधा यहाँ छैनन् । प्राकृतिक हिसाबले रमणीय यस क्षेत्रमा तामाङ समुदायमा यातायात, खानेपानी र स्वास्थ सेवाको अभाव छ । घुमारचोकको यस्तै जनजीवनलाई वनदेवी आधारभूत विद्यालयका विद्यार्थीले ‘बर्दाे मोन्लाम’ नाटकमार्फत राजधानीबासीलाई देखाए । विद्यालयका लागि आवश्यक शैक्षिक सामग्री किन्ने खर्च जुटाउन उक्त नाटक गत साता बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा तीन दिन मञ्चन गरियो । बालबालिकाले सरल विषयवस्तुमा तामाङ बस्तीका अनगन्ती पाटाहरू उजागर गरिदिए । १० दिने नाट्य कार्यशालापछि निर्देशक अनिल सुब्बाले विद्यार्थीलाई मञ्चमा उतारेका थिए ।

नाटकमा ८ कक्षामा पढ्ने अस्मिता तामाङले आमाको भूमिका निभाइन् । छोरा साह्रै बिरामी हुन्छ । तर अन्धविश्वासका कारण उसलाई अस्पताल नलगी झारफुक गर्न लगिन्छ । अस्मिताका अनुसार यो उनकै गाउँको कथा हो । अहिले पनि उनको गाउँमा कोही बिरामी भयो भने सिकिस्तै नभई अस्पताल ल्याउने चलन छैन । ‘स्वास्थ्य चौकी पुग्न दुई घण्टा लाग्छ,’ उनले भनिन्, ‘काठमाडौं ल्याउन बाटोको समस्या छ ।’ अस्मिताको यो पहिलो थिएटर अनुभव हो । पहिलोपटक थिएटरमा नाटक गर्दै आफ्नो समाजको कथा देखाउन पाउँदा खुसी लागेको उनले सुनाइन् ।

बिहान उठ्नेबित्तिकै कोदो रोप्न जानु, पानी ल्याएर खाना पकाउनु, गाईभैंसीलाई घाँस काट्नु, घरायसी काम सकेर विद्यालयमा पढ्न पुग्नु अहिलेको दैनिकी हो अस्मिताको । उनको घरबाट विद्यालय पुग्न एक घण्टा उकालो चढ्नुपर्छ ।

उनी आफ्नो विद्यालयमा पनि राम्रो डेस्कबेन्च होस् भन्ने चाहन्छिन् । ‘डेस्कबेन्च पुरानो भइसके, दिनभर बसेर पढ्न गाह्रो हुन्छ,’ उनले भनिन्, ‘हाम्रो विद्यालयमा पनि पत्रपत्रिका र राम्रा पुस्तक आइदिएहुन्थ्यो ।’ ८ कक्षामै पढ्ने भीममाया मोक्तान पनि एक घण्टा उकालो चढेर विद्यालय आइपुग्छिन् । यातायात मात्रै होइन, उनको गाउँमा खानेपानीको पनि अभाव छ । ‘खानेपानीको धारा पुग्न घरबाट आधा घण्टा तल झर्नुपर्छ, कहिले हप्ता दिन त कहिले एक महिना पानी आउँदैन,×’ उनले भनिन्, ‘कैयौं हप्तासम्म नुहाउन पाइन्न ।’

१४ वर्षीया भीममायाका बुवाको उमेर ६० नाघिसकेको छ । ‘तैपनि छोराछोरीको भोको पेट भर्नुपर्छ भन्दै अरूको घर बनाउन जानुहुन्छ,’ उनी भन्छिन्, ‘त्यो देख्दा मलाई रुन मन लाग्छ । यो मान्छेको उमेर किन बढ्दै जान्छ ? किन बूढो हँुदै गएपछि काम गर्न सक्दैन ? म ठूलो नभएसम्म मेरो बुवा वृद्ध नहुनु भए पनि हुन्थ्यो नि ।’ उमेर ढल्के पनि बुबाले दुई छोरा र दुई छोरीलाई समान रूपमा पढाउनुभएकोमा उनी खुसी छिन् ।

गतवर्ष सिम्लेका बालबालिकाको नाटक देखाएर तारिफ बटुलेका अनिलले यस वर्ष घुमारचोकका विद्यार्थीलाई सिकाउन पाउँदा खुसी लागेको बताए । ‘काठमाडौंकै नजिक पनि त्यस्तो विकट ठाउँ रहेछ । त्यो गाउँ पुग्दा मलाई बत्तीमुनिको अँध्यारो जस्तै लाग्यो,’ उनले भने, ‘उनीहरूबाटै कथा सुनेर उनीहरूकै भोगाइलाई नाटकमा उतारेको हँु ।’ त्यहाँका बालबालिकाले राम्ररी नेपाली बोल्न र बुझ्न नसक्ने भएकाले कतिपय अवस्थामा शिक्षिकाहरूमार्फत आफ्ना कुरा विद्यार्थीलाई बुझाउनुपरेको उनले बताए ।

नाटकमा छोराको भूमिका निभाएका निरोज घिसिङ भविष्यमा इन्जिनियर बन्न चाहन्छन् । ‘मिलेसम्म इन्जिनियर बनेर मेरो गाउँसम्म पुग्ने बाटो बनाउनुछ,’ उनले भने, ‘त्यो सफल हुन सकेन भने चेतनामूलक नाटक गरेर गाउँमा रहेको अन्धविश्वास हटाउने कोसिस गर्नेछु ।’

विद्यालयका लागि आवश्यक डेस्कबेन्च, चार्ट, ग्लोब, ल्याब, गार्डेन, खानेपानी, खेलकुद लगायतको व्यवस्था गर्नका लागि नाटक मञ्चनमा ल्याएको विद्यालयका प्रधानाध्यापक बुद्धिबहादुर तामाङले जनाए । नाटकमा गौरी थिङ, दीपक घिसिङ, कलम वाइबा, विनोद च्याङ्बो, सोमराज घलान, सुदीप स्याङ्बो, मेन्लो घलान, सुस्मिता घलान, मनीषा घलान, अमिशा लामा, सुजिता घलान, सुमित्रा मोक्तान र अस्मिता वाइबाले पनि अभिनय गरेका थिए ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?