साउन पन्ध्र

कान्तिपुर संवाददाता

काठमाडौँ — ए नानी ! शारदा, एकछिन भित्र आऊ त’ भित्र भान्साबाट हजुरआमाले बोलाउनुभयो । शारदा बाहिर सिकुवामा खेल्दै थिइन् । ‘किन हजुरआमा ? किन बोलाउनुभएको ?’ भन्दै शारदा पनि भित्र गइन् ।

हजुरआमा अँगेनाका डिलमा बसेर कुँडेभरि दूध उमाल्दै हुनुहुन्थ्यो । ‘नातिनी! आज तिम्रो र मेरो खाजा पकाउने पालो छ । मलाई सहयोग गर्दिनौ ?’ ठूला डाडुले कुँडेको दूध ध्वार्रध्वार्र पार्दै हजुरआमाले भन्नुभयो ।

‘गर्छु नि आमा, किन नगर्नु ? बरु भन्नु न मैले के सहयोग गर्नुपर्छ ?’ शारदाले फूर्तिली भएर भनिन् ।
‘यी आलु ताछिदेऊ न छोरी,’ हजुरआमाले उसिनेका आलु राखेको तपेस शारदातिर सार्दै भन्नुभयो । ‘किन आमा ? किन दिउँसो दूध उमाल्नुभएको ? हिजोअस्ति त बिहानबेलुका मात्र दूध उमाल्नुहुन्थ्यो । मैले त केही बुझिनँ नि,’ हजुरआमाको काम अनौठो मान्दै शारदाले सोधिन् ।

‘आज साउन पन्ध्र हो । खीर खाने दिन । खीर पकाउन लागेको नि । आज हामी खीरकै खाजा खाने है,’ हजुरआमाले नातिनीलाई सम्झाउँदै भन्नुभयो । दूध निकै बेर उम्लिसकेको थियो । हजुरआमा आगो ओझाएर उठ्नुभयो । उहाँ भर्सेलीतिर जानुभयो । भर्सेलीमाथि सराङबाट एउटा नाङ्लो निकै जतन गरी झिक्नुभयो । काकीले केलाएर त्यस नाङ्लामा पोखरेली धानको चामल राख्नुभएको रहेछ । एक अँजुली तिनै चामल झिकेर हजुरआमाले दूध उम्लादै गरेका कुँडेमा हाल्नुभयो । अनि पुन्यूले चलाउन थाल्नुभयो । शारदा हजुरआमाका छेउमा बसेर आलु ताछिरहेकी थिइन् ।

‘आमा † साउन पन्ध्रमा किन खीर खाने ? अघिपछि खानु हुँदैन र ?’ मनकी सफा शारदाले नबुझेको कुरा सोधिन् ।‘किन नहुनु, जत्ति हुन्छ । तर साउन पन्ध्रमा खीर खाने परम्परा छ । हामी किसानहरू समयअनुसारका खानेकुरा खान्छौँ । अस्ति असार पन्ध्रमा दहीचिउरा खायौँ । त्यतिखेर हामीलाई कामको हतारो थियो । झटपट दहीचिउरा छिटो, मीठो र शीतल पनि । अहिले त्यस्तो हतारो छैन । त्यसैले सुरैसँग खीर पकाएर खाने नि,’ हजुरआमाले बुझाउनुभयो ।

लामो लेग्रो तानेर शारदाले बुझेझैं गरी भनिन्, ‘ए !’
‘नानी † अर्को पनि कुरा छ,’ एकैछिन यताउता हेरेर हजुरआमाले भन्नुभयो, ‘पहिले उ: त्यो खोपामा भएका हर्पे, गुप्ते र त्यहाँ देखिएका ससाना पोका ल्याऊ त ।’
कुँडेमा खीर छड्कँदै थियो । नडढोस् भनेर हजुरआमा त्यसलाई चलाइरहनुभएको थियो । हर्पेको घ्यू कर्केलीले झिकी हजुरआमाले खीरमा हाल्नुभयो । गुप्तेमा मिस्री रहेछ । मिस्रीका डल्ला सिलौटोमा राखी लोहोराले फुटाएर छड्कँदै गरेका खीरमा थप्नुभयो । ससाना पोकाबाट झिकी अलैँची, ल्वाङ, सुकमेल, मरिच, दालचिनी पनि खीरमा मिस्नुभयो । सबै मसला
हालिसकेर हजुरआमाले खीर राम्ररी चलाउनुभयो । एकछिनमा खीर पाक्न लागेको देखियो । हजुरआमाले आगाको आँत अलिक कम पार्नुभयो ।

‘आमा! अर्को पनि के कुरा छ भन्नुभएको ?’ शारदाले कुरा कोटयाइन् ।‘ए, अघिको कुरा ? के भने नि, हामी किसानले बर्खामा घामपानी नभनी काम गर्नुपर्छ । दिनभरि हिलामा डुबिन्छ । कहिले झरीमा भिजिन्छ, कहिले घाममा सुकिन्छ । जीउ गलेर हैरान हुन्छ । बर्खाभरिको सर्दी मेट्न र शरीरमा तागत ल्याउन पनि साउन पन्ध्रमा खीर खाने गरिन्छ,’ हजुरआमाले भन्नुभयो ।
‘उसो भए यो त गाउँमा बसेर खेती गर्ने किसानले मात्र खानेकुरा रहेछ । सहरमा बस्ने, मेरा बाबाजस्तै जागिरे, मजस्तै विद्यार्थीले खीर खानु पर्दैन होला हैन र आमा ?’ हजुरआमासँग ठट्टा गर्दै शारदाले भनिन् । शारदाको कुरा सुनेर एकछिन त हजुरआमा जिल्ल पर्नुभयो ।

शारदाले आलु ताछिसकेकी थिइन् । चुलेसीले काटेर हजुरआमाले आलुलाई ससाना टुक्रा बनाउनुभयो । अकबरे खोर्सानी, नुन र तीनचार दाना टिम्मुर पिसेर हाल्नुभयो । सम्पटमा राखेको तिलको छोप र चौंठोमा राखेको कागतीको अमिलो पनि हाल्नुभयो । गरियोमा राखेको तोरीको तेल डाडुमा तताउनुभयो । त्यसमा अलिकति जिराका दाना र बेसार फुराएर आलुको अचार झान्नुभयो । तिलको छोप हालेर हातले मोल्दा आलुको अचार खाऊँखाऊँ लाग्ने भयो । उसमाथि पोखरेली चामलको खीर † हरर्र बासना आइरहेको थियो । शारदालाई भने सहरका मानिसले साउन १५ मा खीर खानुपर्छ कि पर्दैन होला त भन्ने लागि नै रहेको थियो । उनले सोधिन्, ‘साँच्चै भनेकी आमा सहरमा बस्नेले त नखाए पनि हुन्छ होला नि । झरीमा भिजिँदैन, हिलामा काम गरिँदैन अनि किन खानुपर्‍यो त खीर ?’

हजुरआमाले कुराको सिलसिला मिलाउँदै भन्नुभयो, ‘त्यसो होइन नातिनी । बर्खामा जहाँ बसे पनि पानीझरीले सताउँछ । दिन लामा हुन्छन् । आराम पुग्दैन । जीउ थाक्छ । गर्मीमा आफ्नै शरीरका पसिनाले पनि सर्दी हुन्छ । फेरि हेर न यत्रो दूध, घ्यू, मरमसला हालेर बनाएको खीरमा औषधि र तागत दुवै कुरा हुन्छन् । गाउँसहर जहाँसुकै बस्ने मानिसले पनि यस समयमा तात्तातो खीर खानु राम्रो हुन्छ । त्यसैले होला उहिल्यै बाजेबराजुका पालादेखि साउन पन्ध्रमा खीर खाने चलन चलेको ।’

‘उफ्! के बिघ्न गर्मी !’ बाहिर सिकुवाको खाटमा बस्दै हजुरबाले भन्नुभयो । ‘छोरी! शारदा पानी ल्याऊ न बा! साह्रै तिर्खा लाग्यो,’ अनुहारको पसिना पुस्दै काकाले भन्नुभयो । काका र हजुरबा बाघे खेतमा जानुभएको थियो । त्यहाँबाट एकएक भारी घाँस ल्याउनुभयो । उकालो बाटो, तरतरी पसिना काढ्दै बोकेका घाँसका भारी मतानमा देखिन्थे । अम्खोराभरिको चिसो पानी खाँदा आँतै शीतल भयो ।

‘के गर्दै छौ हँ, यतिखेर ? पेटमा मुसा दौडन थाले ।’ हजुरबा बोल्दै भित्र पस्नुभयो । काकीले वस्तुभाउलाई घाँसपानी र बेलुकाको खोलेको व्यवस्था मिलाएर आउनुभयो । हातखुट्टा धोएर सबै जना भान्साकोठामा भेला भए । हजुरआमाले सबैलाई खीरको भाग लाउनुभयो । भागका छेउमा आलुको अमिलो अचार राखिदिनुभयो । खीरमा कर्केलीले थपीथपी घ्यू हालिदिनुभयो । सबै जनाले मीठो मानीमानी खाए । शारदालाई त्यस दिन खीर साह्रै मीठो लाग्यो । उनले भनिन्, ‘आमा! अब सधैं म मामुलाई साउन पन्ध्रमा खीर पकाउन लाउँछु ।’

हजुरबाले भन्नुभो, ‘नानी! तिमीलाई खीर साह्रै मीठो लाग्यो ?’ ‘हो हजुरबा, अघिपछिको भन्दा साउन पन्ध्रको खीर निकै मीठो हुँदो हरेछ,’ शारदाले हाँसेर उत्तर दिइन् । हजुरआमाले शारदालाई खीर थपिदिनुभयो । शारदाले चाटिचुटी पारेर खाइन् ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्

कानुनका कुरा

कान्तिपुर संवाददाता

काठमाडौँ — ओखलढुंगा सदरमुकामस्थित लालीगुराँस इंग्लिस स्कुलकी कक्षा १० की छात्रा श्रेया राजभण्डारीले अदालत देखेकी थिइन् । तर अदालतले कसरी, के काम गर्छ भन्नेबारे जानकारी थिएन । जब उनले जिल्ला अदालत र उच्च अदालतका न्यायाधीश, रजिस्ट्रार, स्रेस्तेदारलगायतको कक्षा लिइन्, त्यसपछि उनलाई धेरै कुरा थाहा भयो ।

श्रेया मात्रै होइनन्, कक्षा ९ र १० का करिब ४० छात्रछात्रालाई यसबारे जानकारी दिइयो । जिल्ला अदालत र उच्च अदालतले ‘समुदायमा अदालत’ कार्यक्रमअन्तर्गत स्कुले बालबालिकासँग अन्तरक्रिया गरेपछि उनीहरूलाई अदालतको काम कारबाही बुझ्न सजिलो भएको हो । अदालत तीन तहका हुने रहेछन् भन्नेबारे उनीहरूले जानकारी पाए– जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालत ।

समाजमा भएका कुनै पनि घटनाका पीडितले न्याय पाउनका लागि अदालत जानुपर्छ । अपराध देवानी र फौजदारी प्रकृतिका हुन्छन् । देवानी भन्नाले साँध, सिमाना, झैझगडाजस्ता मुद्दा हुन् भने फौजदारी भन्नाले ज्यान मार्ने, अपहरण, बन्धक, बलात्कारजस्ता ठूला प्रकृतिका सरकारवादी मुद्दा हुन् । विद्यार्थीलाई बुझाइएको थियो– कानुन सबैले जान्नैपर्छ । कानुन थाहा थिएन र गल्ती गरेँ भनेर माफी पाइन्न ।

प्राकृतिक न्यायको सिद्धान्तअनुसार ‘बरु दस अपराधी छुटून् तर एकजना निर्दोष नपरोस्’ भन्ने उद्देश्यले मुद्दा हेरिने जिल्ला न्यायाधीश कैलाश केसीले बताए । अदालतबारे बुझ्न सजिलो होस् भनेर प्रत्येक तीन महिनामा ‘समुदायमा अदालत’ कार्यक्रमसहित न्यायाधीशहरू पुग्ने गरेको उच्च अदालत विराटनगरको ओखलढुंगा इजलासका वरिष्ठतम् न्यायाधीश टेकराज नेपालले बताए । उनीहरूलाई अदालतमा हुने कर्मचारी र उनीहरूको कामको प्रक्रियाका प्रयोग गरिने सामान्य शब्दहरूका विषयमा जानकारी गराइएको थियो ।

प्रकाशित : श्रावण १३, २०७५ १०:१३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्